समर्थन जुटाउन ज्ञापनपत्र बुझाउँदै बार

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन दबाब दिँदै आएको नेपाल बार एसोसिएसनले आज राजनीतिक दलहरूलाई ज्ञापनपत्र बुझाउँदै छ । 

बारले सभामुख अग्निप्रसाद सापकोटालाई पनि आजै दिउँसो २ बजे ज्ञापनपत्र बुझाउने भएको छ । 

बार महासचिव लीलामणि पौडेलले फरकधारसँग भने, ‘ज्ञापनपत्रमार्फत् प्रधानन्यायाधीशको राजीनामा किन मागेका हौं भन्नेबारेमा जानकारी गराउँछौं । किनभने दलहरूले पास (संसदीय सुनुवाइ समितिबाट अनुमोदन) गरेको मान्छे उहाँले अहिलेसम्म न्यायपालिकामा के-के खराबी गर्नुभयो, त्यो थाहा दिन लागेका हौं ।’

बारले दलहरूबाट सहयोग चाहेको छ । प्रधानन्यायाधीश जबराको जसरी पनि बहिर्गमन गर्नुपर्ने अडानमा छ । सोही कारण १४ कात्तिकदेखि आन्दोलित छ । 

आज ज्ञापनपत्र बुझाएर बारले दलहरूको ध्यानाकर्षण गराउँदै जारी आन्दोलनमा नैतिक समर्थन जुटाउन लागेको हो ।  तर, दलहरूको चाहना भने बारको जस्तो छैन । न्यायालयको विवाद न्यायालयबाटै समाधान हुनुपर्ने पक्षमा छन् । 

सत्तारूढ पाँच दलीय गठबन्धनले यसबारे स्पष्ट रूपमा भनेको छ, ‘न्यायालयमा देखिएको गतिरोधप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र गतिरोधको अन्त्य न्यायालयबाटै हुनुपर्छ ।’



बारले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरू नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीृकत समाजवादी) र जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाको संसदीय दललाई ज्ञापनपत्र बुझाउने भएको हो ।



  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार ११:१२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया