कांग्रेस महाधिवेशन : कैलालीमा देउवा पक्ष हावी

क्रियाशील सदस्यता विवादले गर्दा ढिलो भएको कैलाली कांग्रेस अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षको उपस्थिति बलियो देखिएको छ ।

प्रदेश सभादेखि वडा तहसम्म देउवा निकट उम्मेदवार निर्वाचित भएका छन् । जिल्लामा अधिकांश ठाउँमा सर्वसम्मत भएको छ । सभापति देउवाकी पत्नी डा. आरजु राणाको निर्वाचन क्षेत्र अन्तर्गत (ख)मा निर्वाचन भएको छ भने (क)मा सर्वसम्मत भएको छ । 

कैलाली क्षेत्र नम्बर ५ नेपाली कांग्रेसका सभापति सभापति देउवा पत्नी डा. आरजु राणाको निर्वाचन क्षेत्र हो ।

प्रदेश सभा (क)मा सीताराम राना सभापतिमा निर्वाचित भएका छन् । उनी १४२ मतसहित सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी कुम्ब गिरीले ८६ मत पाए । प्रदेश सभा (ख)मा केशवराज जोशी सभापतिमा निर्विरोध चयन भएका छन् । सभापतिका लागि चार जनाको उम्मेदवारी परे पनि अन्यले फिर्ता लिएपछि जोशी सभापतिमा चयन भए ।

५ निर्वाचन क्षेत्र रहेको कैलालीमा १० प्रदेश सभा छ । कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा प्रशुराम महतो कठरिया र प्रदेश सभा (ख)मा बलिराम चौधरी निर्वाचित भए ।  निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा भीम जैसी र (ख)मा तेज प्रकाश मल्ल सभापतिमा निर्वाचित भए । 

यसै गरी निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश सभा (क)मा रामप्रसाद चौधरी र (ख)मा कमलराज चौधरी क्षेत्रीय सभापतिमा चयन भए ।  निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश सभा (क) मा काशिराम शर्मा र प्रदेशसभा (ख)मा गोपालदत्त भट्ट निर्वाचित भए । निर्वाचित सबै प्रदेश सभा सभापतिहरू  देउवा निकट रहेको जनाइएको छ ।



प्रदेश सभा कार्यसमितिमा एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव निर्वाचनबाट छानिनेछन् र कार्यसमितिमा आएका १६ जना प्रतिनिधिमध्येबाट कोषाध्यक्ष मनोनयन गरिनेछ । सभापतिले कार्यसमितिको २० प्रतिशत अर्थात् चार जना सदस्य मनोनित गर्नेछन् ।
 
प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएसँगै आज प्रतिनिधिसभा क्षेत्रमा अधिवेशन हुँदैछ । यसपछि मंसिर १० गते जिल्ला अधिवेशन धनगढीको ओम प्यालेसमा गरिने प्रचार-प्रचार संयोजक नृप सुनारले बताए ।

कांग्रेस कैलालीको १३ वटै पालिकामा सभापति शेरबहादुर देउवा पक्षका सभापति निर्वाचित भएका छन् । कात्तिक ३० गते भएको पालिका अधिवेशनबाट जिल्लाको सबै पालिकामा देउवा पक्षका सभापति निर्वाचित भएका हुन् । 



प्रदेशकै एक मात्र उपमहानगर धनगढीको सभापतिमा यज्ञराज उपाध्याय, गौरीगंगा नगरपालिकामा पहलविक्रम चन्दको प्यानल, लम्किचुहा नगरपलिकामा इन्द्र कुँवरको प्यानल, टीकापुर नगरपालिकामा नरेश खत्रीको प्यानल, भजनी नगरपालिकामा नवराज मिश्रको प्यानल निर्वाचित भएका छन् ।

यस्तै चुरे गाउँपालिकामा हेम शाहको प्यानल, जानकी गाउँपालिकामा गणेश रेग्मीको प्यानल, बर्दगोरिया गाउँपालिकामा कृष्ण विष्टको प्यानल, कैलारी गाउँपालिकामा कृष्ण चौधरी, मोहन्याल गाउँपालिकामा कमल साउँदको प्यानल, जोशीपुर गाउँपालिकामा वंशराम चौधरी निर्वाचित भएका छन् ।

गोदावरी नगरपालिका वीरवहादुर चोखालको प्यानल र घोडाघोडी नगरपालिकामा बमवहादुर सिंहको प्यानल निर्वाचित भएको नेपाली कांग्रेस कैलालीका प्रचार प्रसार समितिका संयोजक नृपबहादुर सुनारले बताए । 

कैलालीका १२६ वडामा भएको निर्वाचनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि र वडा सभापतिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वर्चस्व देखिएको छ ।  जिल्लाबाट दुई हजार ४२७ क्षेत्रीय प्रतिनिधिमध्ये एक हजार ८८२ क्षेत्रीय प्रतिनिधि देउवा पक्षधर रहेका छन् ।

कांग्रेसका एक नेताका अनुसार रामचन्द्र पौडेल पक्षका ४८२, शशांक कोइराला पक्षका १७, विमलेन्द्र निधि पक्षका आठ, कृष्ण सिटौला पक्षका १९, प्रकाशमान सिंह पक्षका सात र नखुलेका १२ जना छन् ।  यस्तै १२६ वडाध्यक्षमध्ये ९८ जना देउवा पक्षधर रहेको देउवा निकट एक नेताले जानकारी दिए ।

  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार १३:४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया