११ अफगानी युएनएचसिआरको जिम्मामा, स्वदेश फर्काउन सकिएन

अवैध बाटो हुँदै नेपाल आएका ११ जना अफगानी नागरिकलाई संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोग (युएनएचसिआर) को जिम्मा लगाइएको छ । गत कात्तिक ८ गते काठमाडौंको सिनामंगलबाट पक्राउ परेका ११ जना अफगानी नागरिकलाई अध्यागमन विभागले युएनएचसिआरको जिम्मा लगाएको हो । 

अध्यागमन विभागले उनीहरूलाई स्वदेश फर्काउन नसकेपछि सुरक्षाको कारण देखाउँदै युएनएचसिआरको जिम्मा लगाएको हो । गृह मन्त्रालयले अफगानिस्तान नै फर्काउँदा उनीहरूको जीवनको रक्षा हुन नसक्ने ठहर गरेको थियो । 

सोही आधारमा युएनएचसिआरको जिम्मा लगाउन विभागलाई निर्देशन दिएको थियो । गृह मन्त्रालयको निर्देशनमा उनीहरूलाई युएनएचसिआरको जिम्मा लगाइएको विभागका प्रवक्ता झंकनाथ ढकालले बताए । 

उनीहरूलाई शुक्रबार नै निर्णय गर्दै युएनएचसिआरको कार्यालयलाई बुझाइएको उनको भनाइ छ । 

‘अफगानिस्तान नै फर्काउँदा उनीहरूको जीवनका रक्षा हुन नसक्ने देखियो । उनीहरूको आवश्यक व्यवस्था मिलाउने गरी यूएनएचसीआरलाई सुम्पिएका हौं’, प्रवक्ता ढकालले भने ।  
अब युएनएचसिआरले उनीहरूलाई शरणार्थी कागजात बनाइदिनेछ । र उनीहरूलाई विभिन्न देशमा शरण दिनेछ ।

‘गृह मन्त्रालयले अफगानिस्तान नै फर्काउन सकिन्छ कि भनेर अनुसन्धान गरेको थियो । तालिबानले सत्ता कब्जामा लिएपछि गर्दै आएको गतिविधिका कारण त्यो सम्भव देखिएन’, प्रवक्ता ढकालले भने, ‘अफगानिस्तान नै फिर्ता पठाइदियो भने उनीहरूको ज्यान तलमाथि हुन सक्ने देखियो । त्यसैले युएनएचसिआरको जिम्मा लगाएका हौं।’



होटलमा विदेशी नागरिक लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कात्तिक ८ गते उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि अध्यागमनको जिम्मा लगाएको थियो । 

अध्यागमनले अनुसन्धान गरेपछि पाँच जनालाई कात्तिक १४ गते मेक्सिको पठाएको थियो । तर, मेक्सिकोको अध्यागमन विभागले प्रवेश अनुमति नदिएपछि तीन दिन विमानस्थलमा रोकिएर नेपाल नै फर्किएका थिए । 



नेपाल फर्किएपछि उनीहरूले अध्यागमन विभागका कर्मचारीहरूसँग आफ्नो जीवनरक्षा गरिदिन अपिल गरेका थिए । अफगानिस्तान नै फिर्ता भएपछि तालिबानले आफूहरूलाई मारिदिने भन्दै कुनै पनि हालतमा स्वदेश नफर्किने अडान लिएका थिए । 

‘अफगानिस्तान त कुनै पनि हालतमा फर्किदैनौं भन्ने अडानमा थिए । गृह मन्त्रालयले पनि अनुसन्धान गर्दा त्यहाँ पठाउँदा उनीहरूको जीवनको रक्षा हुने देखिएन’, प्रवक्ता ढकालले भने । 

उनीहरू तालिबानले सत्ता कब्जा गर्नुअघि नै नेपाल आएका थिए । नेपालमा आएर युएनएचसिआरको निगरानीमा काठमाडौंमा लुकिछिपी बस्दै आएका थिए ।

११ जना मध्ये एक परिवारका पाँच जना भने तीन महिना अघि नै नेपाल आएका थिए भने ६ जना पक्राउ पर्नुभन्दा केही दिन अगाडि मात्र नेपाल आइपुगेका थिए । तालिबानको त्रासका कारण उनीहरू भारत हुँदै नेपाल आएका थिए । 

उपचारका लागि भन्दै काबुलबाट दिल्लीसम्म विमानमार्फत आएका उनीहरू दिल्लीबाट भने सडकमार्ग हुँदै नेपाल आएको पाइएको थियो । 

तालिबानले १५ अगस्टमा सत्ता कब्जामा लिएपछि अफगानी नागरिक शरण माग्न विभिन्न देश जाने गरेका छन् । भारत, पाकिस्तान, चीन, इरान, तुर्कमेनिस्तान, उज्वेकिस्तान र ताजिकिस्तान तथा युरोपियन देशहरूमा समेत ठूलो संख्यामा अफगानी नागरिक शरण लिन पुगेका छन् । 

नेपालमा संख्या बढ्ने सक्ने 

तालिबानले सत्ता कब्जामा लिएसँगै शरणका लागि अन्य देश जाने अफगानी नागरिकको संख्या बढ्दो छ । भारतमा मात्रै ५० हजार भन्दा बढी अफगानी नागरिक शरणार्थीको रूपमा बसिसकेका हुनसक्ने भारतीय सञ्चारमाध्यमको दाबी छ । सोही अवस्थालाई मध्यनजर गर्दै उनीहरू नेपाल समेत प्रवेश गर्न सक्ने प्रचुर सम्भावना छ।  
खुल्ला सीमा तथा फितलो सुरक्षा निगरानीका कारण उनीहरूको रोजाइ नेपाल पर्न सक्छ । यसका लागि गृह मन्त्रालयले सीमा नाकामा कडाई गर्न सुरक्षा निकायलाई यसअघि नै निर्देशन दिइसकेको छ । 

त्यस्तै आफ्नो घरमा बास बस्न आउने वा डेरा खोज्ने आउनेहरूसँग परिचयपत्र मात्र लिएर राख्न समेत सबैलाई अनुरोध गरेको थियो । सीमा नाकामा सुरक्षा निगरानी बढाइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । 

‘खुल्ला सीमाका कारण अवैध रूपमा घुसपैठ हुनेसक्ने सम्भावना त एकदमै बढी हुन्छ । तरपनि हामीले सुरक्षा निकायलाई चनाखो हुन भनेका छौं । अहिलेसम्म त्यसरी आएको त जानकारीमा छैन्’, प्रवक्ता पोखरेलले भने । 

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले विदेशी नागरिकहरू प्रवेश गर्न सक्ने नाकाहरू सुरक्षा तैनाथी कडा पारिएको बताए । भारतसँग सीमा जोडिएका नाकाहरूबाट अवैध रूपमा घुसपैठ हुनेसक्ने अवस्थालाई मध्यनजर गर्दै ती क्षेत्रमा सुरक्षा व्यवस्था मजबुद बनाएको उनको भनाइ छ । 

सरकार, सुरक्षा निकाय तथा सरोकारवाला निकायले सुरक्षा निगरानी बढाइएको बताएपछि बेलाबेला तेस्रो मुलुकका नागरिकहरू अवैध रूपमा नेपाल आउने क्रम रोकिएको छैन । गत असोजमा मात्रै १४ जना रोहिंग्याहरू बंगलादेशबाट काठमाडौं आएका थिए । 

दलालको सहयोगमा उनीहरू भारतीय बाटो हुँदै काठमाडौंसम्म आइपुगेका थिए । उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी र अध्यागमन विभागले अहिले पनि अनुसन्धान गरिरहेको छ । उनीहरूमाथि अनुसन्धान नै जारी रहेको अध्यागमन विभागका प्रवक्ता ढकालले बताए । 

यी पनि पढ्नुहाेस् :

मेक्सिकोबाट फर्काइएका ५ अफगानीलाई नेपालले अब के गर्छ ?

सिनामंगलबाट पक्राउ ११ अफगानी एक महिनादेखि थिए काठमाडौंमा

 

  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार १३:४५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया