जबराले पैसा लिएर गरेकाे फैसलाकाे सूचना उपलब्ध गराउन बार अध्यक्षकाे आग्रह

नेपाल बार एसाेसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध गराउन कानुन व्यवसायी र सेवाग्राहीहरूलाई आग्रह गरेका छन् ।

सोमबार पनि सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्ना कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले  प्रधानन्यायाधीश जबराले पैसा खाएर गरेको फैसलाको सूचना भए नेपाल बारमा उपलब्ध गराउन कानुन व्यवसायी र सेवाग्राहीहरूलाई आग्रह गरेका हुन् ।

उनले प्रधानन्यायाधीश जबराले गरेको फैसलाहरूले विकृति, विसंगति, बिचौलिया र भ्रष्टाचार भइरहेको आरोप लगाउँदै नेपाल बारले पनि प्रधानन्यायधीशले गरेको फैसलाको अध्ययन र संकलन गरिरहेको बताए ।

प्रधानन्यायाधीशले पैसा लिएर गरेको फैसलालाई राखेर जनताको बीचमा पेश गरिने श्रेष्ठकाे भनाइ छ।

उनले न्यायालयमा विकृति र विसंगति भइरहेको भन्दै कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिएको दुई साता भइसक्दा समेत राजनीतिक दल कानमा तेल र मुखमा बुझो हालेर बसेको आरोप लगाए।

अध्यक्ष श्रेष्ठले राज्यको महत्वपूर्ण अंगमा आएको समस्याका बारेमा चुप लागेर बस्ने भए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी पनि दिए ।



अध्यक्ष श्रेष्ठले भने, ‘हाम्रो यो हप्ताको कार्यक्रमअन्तर्गत जो दलहरू अझै पनि कानमा तेल र मुखमा बुझो लगाएर बसिरहनु भएको छ । के न्यायपालिका राज्यको अंग होइन ? राज्यको एउटा महत्वपूर्ण अंगमा यो अवस्था आउँदा चुप लागेर बस्ने हो ? हामीले किन राजीनामा मागिरहेका छौं भन्ने कुरा आज हामी प्रतिनिधिसभामा संसदमा सहभागी भएका राजनीतिक दल र संसदीय दलहरूमा राजीनामा किन भन्ने कुरा दिन गइरहेका छौं । २ बजे आज कार्यक्रम छ । त्यसपछि राजीनामा किन मागेका छौं भन्ने कुरा डिटेल्समा तपाईंहरूको बीचमा राख्नेछौं ।

‘उहाँले गर्नुभएका कर्तुत, विवादित प्रधानन्यायाधीश संलग्न भएको फैसलाले गर्दा विसंगति, विकृति, विचौलिया र भ्रष्टाचार भइरहेको छ । ती फैसलाहरू नेपाल बार एसाेसिएसनले संकलन, अध्ययन गरिरहेको छ । तपाईंहरूसँग भएको, तपाईंहरूलाई अन्याय परेको, तपाईंहरूसँग अत्यन्त पैसा लिएको फैसलाहरू बारमा दिनु हुनकाे लागि विनम्र अनुरोध गर्दछु’, उनले थपे।



अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले तीन वर्ष न्यायपालिका र सेवाग्राहीमाथि अन्याय गरेको आरोप लगाउँदै अब अन्याय हुन नदिने बताए । उनले प्रधानन्यायाधीश जबराले धनाढ्यहरूको मुद्दामा मात्रै काम गरिरहेको तर १५-१६ वर्ष अघिका मुद्दा नहेरेको दाबी समेत गरे । 

  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार १३:५०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया