तीन महिनामा शेयर कारोबारः ३ अर्ब ५६ करोडको आईपीओ सूचीकृत, ४१ अर्ब ६० करोडको नयाँ शेयर थपियो

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तिन महिनाको अवधिमा नेपाली शेयर बजार मापक नेप्से परिसूचक र पुँजीकरण सकारात्मक रहेको छ ।  

आर्थिक वर्षको सुरुवात देखि शेयर बजारमा निकै ठूलो उतारचढाव आएपनि समग्रमा नेप्से परिसूचक र पुँजीकरण सकारात्मक रहेको पाइएको छ । 

धितोपत्र बोर्डको ५१ कम्पनीको नाम सार्वजनिक काण्डपछि खस्किएको बजार लयमा फर्कन नपाउँदै मौद्रिक नीतिले शेयर बजारलाई प्रभावित गर्यो । 

तर, विविध कारणले बजार प्रभावित भएता पनि गत वर्षको तुलनामा बजार सकारात्मक रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । 

पछिल्लो एक वर्षदेखि नेपाली शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । लगानीकर्ता बढ्दै जाँदा शेयर बजारले नयाँ रेकर्ड समेत राख्न सफल भएको छ । 

तर, चालु आर्थिक वर्षको लागि नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा शेयर धितो कर्जामा ४ करोड देखि १२ करोड सिमा तोकेसँगै शेयर बजार ओरालो लागिरहेको छ । 



चार महिना देखि शेयर बजार ओरालो लागे पनि अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमास र चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांक तुलना गर्दा नेप्से परिसूचक र पुँजीकरण सकारात्मक देखिनु पुँजी बजारको​ लागि राम्रो पक्ष मानिएको छ । 

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा शेयर धितोकर्जामा लगाएको सिमामा लचकता अपनाएमा पुन शेयर बजार गति लिने अपेक्षा  गरिएको छ । 



त्यस्तै, पछिल्लो एक साताको शेयर बजार कारोबारमा नेप्से परिसूचक र लगानीकर्ताको सम्पतिमा समेत बृद्धि भएको छ । शेयर बजारमा ८० अंक र लगानीकर्ताको सम्पती १ खर्ब १२ अर्ब ८२ करोड ६२ लाख रुपैयाँले बढेको छ । 

आइतबार देखि बिहिबार (कार्तिक २८ देखि मंसिर २ सम्म)सम्म भएको शेयर कारोबारमा आइतबार २ हजार ६८८.९२ अंक रहेकोमा सातको अन्तिम कारोबार दिन बिहीबारसम्ममा बजार ८०.२१ अंकले बढेर २७६९.१३ अंकमा पुगी कारोबार बन्द भएको थियो । 

सातामा ५ दिनको शेयर कारोबारमा ३ दिन नेप्से बढ्दा बिहिबार भने ३२.३९ अंकले गिरावट आएको थियो । आइतबारको तुलनामा बिहीबारसम्म आइपुग्दा लगानीकर्ताको सम्पती १ खर्ब १२ अर्ब ८२ करोड ६२ लाख रुपैयाँले बढेको थियो । 

आइतबार ३७ खर्ब ८१ अर्ब ९० करोड १६ लाख रुपैयाँ रहेको नेप्से बजार पुँजीकरण बिहीबारसम्ममा ३८ अर्ब ९४ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ पुगेको थियो । तर, बिहिबार बजार दोहोरो अंकले गिरावट हुँदा बुधबार ३९ खर्ब ४० अर्ब २८ करोड ४४ लाख रुपैयाँ रहेको बजार पुँजीकरण घटेको थियो । 

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ अर्ब ५६ करोड बराबरको सर्वसाधारणका लागि जारी गरीएको साधारण शेयर (आईपीओ) सूचीकृत भएको थियो । 

राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय प्रतिवेदन अनुसार ३ अर्ब ५६ करोडको आईपीओ नेप्सेमा सूचीकृत हुँदा ४१ अर्ब ६० करोड रुपैयाँको नयाँ शेयर (डिबेन्चर) थपिएको छ । 

उक्त प्रतिवेदन अनुसार तीन महिनाको अवधिमा एक अर्ब २८ करोड बराबरको बोनस शेयर र एक अर्ब २३ करोड बराबरको हकप्रद शेयर सूचीकृत भएको छ । 

त्यस्तै, ३३ अर्ब तीन करोड बराबरको डिबेन्चर र २ अर्ब ५० करोड बराबरको म्युचुअल फण्डसमेत सूचीकृत भएको छ । असोजसम्ममा सूचीकृत पाँच अर्ब ९१ करोड सेयरको चुक्ता मूल्य ५ खर्ब ८१ अर्ब २६ करोड रहेको छ । 

चालु आर्थिक वर्षको पहिलो तीन महिना असोजसम्ममा नेप्सेमा २२२ वटा कम्पनीहरू सूचीकृत भएका छन् । जसमा १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । उत्पादन तथा प्रशोधन उद्योग १९, जलविद्युत् कम्पनी ४१, व्यापारिक संस्था ४, पाँच होटल, पाँच लगानी कम्पनी र तीन अन्य समूहका छन् । 

गत आर्थिक वर्षको सोही अवधिमा दुई सय ९ वटा मात्रै कम्पनीहरू सूचीकृत थिए । सूचीकृत कम्पनीहरूमध्ये नेप्सेमा सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको पुँजीकरणको  बजार हिस्सा ७०.७ प्रतिशत रहेको छ । 

चालू आर्थिक वर्षको असोज मसान्तमा नेप्से परिसूचक २ हजार ६५७.० पुगेको छ। तर, अघिल्लो वर्षको असोज मसान्तमा नेप्से १ हजार ५६२.५ मात्रै थियो । 

गत असोज मसान्तमा धितोपत्र बजार पुँजीकरण ३७ खर्ब १९ अर्ब ७२ करोड पुगेको छ । गत वर्ष असोज मसान्तमा बजार पुँजीकरण २० खर्ब ८२ अर्ब ५८ करोड रुपैयाँमात्रै रहेको थियो । 

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले  ३ अर्ब बराबरको म्युचुअल फण्ड, १ अर्ब ५८ करोड बराबरको साधारण शेयर, १ अर्ब २० करोड बराबरको डिबेन्चर र २४ करोड बराबरको हकप्रद शेयर गरी कुल ६ अर्ब २ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । 

आर्थिक वर्ष २०७७/७८ पुँजीबजारका लागि इतिहासमा सबैभन्दा सुखद् रहेको थियो । चार वर्षअघि १ हजार ८८१ को उच्च परिसूचक पार गर्दै नेप्से परिसूचकले ३२२५.८३ विन्दुसम्म पुग्न सफल भएको थियो ।

  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार १७:१२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया