कांग्रेस सभापतिका उम्मेदवार निधिका २३ उद्देश्य

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा उठ्ने घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले आफू उम्मेदवार बन्नुका उद्देश्यहरु सार्वजनिक गरेका छन् । 

अधिवेशनका सिलसिलामा जनकपुरमा रहेका निधिले सामाजिक सञ्जालमार्फत् सभापति पदमा उम्मेदवारी दिनुपर्नाका २३ कारण सार्वजनिक गरेका छन्।

उनले नेपाली कांग्रेसमा रुपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्न आफ्नो उम्मेदवारी अत्यावश्यका रहेको प्रस्ट्याएका छन् । वैचारिक रूपमा स्पष्ट कांग्रेस, एकताबद्ध कांग्रेस र गतिशील कांग्रेस भन्ने उनको मूल नारा छ ।

सभापति पदमा उम्मेदवारी किन ? यस्ता छन् निधिका २३ बुँदे एजेन्डा 

आगामी तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउन।

नेपाली कांग्रेसमा रुपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्न।



नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र नेपाली कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराई नेतृत्व विकास गर्न।

राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन, धर्म निरपेक्षता, अहिंसा र शान्तिका मान्यतासहित बनेको संविधान र प्रणालीलाई जनताको हित एवं चाहना अनुसार सफल कार्यान्वयन गर्न।



जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन।

देशको भौगोलिक विविधता अनुरूप हिमाल, पहाड, तराई–मधेश, पश्चिमदेखि पूर्वका सबै जनतालाई भावनात्मक रूपमा जोड्न।

जातीय, सांस्कृतिक र धार्मिक विविधतायुक्त समाजभित्रका महिला, दलित, आदिवासी–जनजाति, मधेशी, मुस्लिम, थारू, खस–आर्य, अल्पसंख्यक, अपाङ्गता भएका, पिछडिएका क्षेत्र तथा तेस्रोलिङ्गी लगायत सबैलाई सम्मानका साथ कांग्रेसमा सक्रिय गराउन र समुदायका बीच सद्भाव कायम गर्न।

 भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा विशेष सक्रिय गराई वर्तमान राजनीतिक परिवर्तनलाई सबल एवं सफल गराउन।

 नेपाली कांग्रेसमा रहेर योगदान गरिरहेका अग्रजको सम्मान, सहिदको स्मृति सम्मान, समकालीन साथीहरूको संरक्षण र नयाँ पुस्ताको विकास तथा प्रवर्द्धनका साथ कांग्रेसलाई गतिशील र व्यवस्थित पार्टीको रूपमा विकसित गर्न।

लोकतान्त्रिक आन्दोलनका सहिदरू, सहिद परिवार, घाइते र विस्थापित हुनुभएका नेपाली कांग्रेसका साथीहरूलाई उचित सम्मान गर्न र हिंसापीडित पार्टीका साथीहरुलाई न्याय प्रदान गर्न।

नेपाली कांग्रेसका सदस्य साथीहरूलाई उद्यमशील, कर्मशील, आत्मनिर्भर र स्वरोजगार बनाउन।

पार्टीका सदस्यहरूमा पठनपाठन संस्कृतिको विकास गरी वडा तहदेखि जिल्ला तहमा समेत कांग्रेस पुस्तकालय स्थापना गरी पार्टी साहित्यलाई सम्पूर्ण तहमा पुर्‍याउन।

संविधानमा उल्लेख भएका तर कार्यान्वयन हुन नसकेका नेपाल प्रहरी र निजामती सेवासम्बन्धी प्रदेशको अधिकार स्थापित गर्न तथा भाषा आयोगले सिफारिस गरेअनुसार सम्बन्धित प्रदेशहरूमा सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गराउनका लागि।

नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई संस्थागत विकास गरी अनुसन्धानलाई महत्व दिँदै सूचना प्रविधिको प्रयोग समेतलाई समावेश गरी वडा तहसम्म प्रशिक्षण गर्न।

नेपाली कांग्रेसको केन्द्रसहित सबै तहका सचिवालयलाई चुस्त र व्यवस्थित गर्न।

पार्टीभित्र विकसित गुट–उपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबै साथीहरूलाई ऐक्यबद्ध रूपमा पार्टीको लक्ष्यउन्मुख गराउन।

 विशेषगरी युवाहरूलाई आत्मसम्मानका साथ पार्टीमा सक्रिय हुने र रहने वातावरण विकास गर्न।

सम्पूर्ण तहका साथीहरू र सबै तहका कार्यक्रमहरूको अभिलेखीकरण र मूल्याङ्कन गरी नेपाली कांग्रेसभित्र अन्याय हुन नदिन तथा विभेदको अन्त्य गरी बन्धुत्वपूर्ण सँस्कृति विकास गर्न।

संविधान संशोधनको विषयमा पार्टीको आधिकारिक निर्णयलाई कार्यान्वयन गराउनका लागि।

सोसलिष्ट इन्टरनेशनलसहित नेपाली कांग्रेसले समान विचारधारा र नेपालको हित चाहने विभिन्न देशका राजनीतिक दलहरुसँग मैत्रीपूर्ण सम्बन्ध विकसित गर्न।

छिमेकी मित्र राष्ट्रहरु भारत र चीनसँगको सम्बन्धलाई थप मजबुत बनाउन र नेपालका सहयोगी अन्य सबै राष्ट्रहरूसँग सुमधुर सम्बन्ध विकास गर्न।

जनतासँग कांग्रेस र कांग्रेससँग जनतालाई साँचो अर्थमा आबद्ध गर्न।

मतदातासँग रूख चिन्ह र रूख चिन्हसँग मतदातालाई बलियोसँग जोड्न।

  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार १७:५५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया