बझाङमा कुपोषण अवस्था भयावह : अस्पतालको सम्पर्कमै आउँदैनन् अभिभावक

बझाङमा कुपोषणको समस्या पुरानो हो । हिमाली जिल्ला भएका कारण पनि बझाङमा प्रायः बालबालिकामा कुपोषण समस्या बढी देखिने गरेको हो । जिल्लामा जन्मिनेप्रति १०० बालबालिकामा ८ प्रतिशत बालबालिकामा कुपोषण र तीन प्रतिशतमा कडा खालको कुपोषण हुने गरेको छ । 

अभिभावकको छोराछोरीप्रति ध्यान नदिने बानी तथा व्यस्त जीवनशैलीले गर्दा बालबालिकामा कुपोषणको समस्या जटिल बन्दै गएको छ । अभिभावकमा ताजा तथा गुणस्तरीय खाना बालबालिकालाई खुवाउने बानी नहुनु र बजारमा पाइने तयारी खानाका कारण पनि जिल्लामा कुपोषणको समस्या कायमै रहेको हो । 

राष्ट्रिय तथ्याङ्क विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा बझाङमा ६ देखि ५९ महिनासम्मका २० हजार १ सय ४९ जना बालबालिकामध्ये १ हजार ६ सय १२  बालबालिकामा कुपोषण देखाएको छ । यो कुल बच्चाको संख्याको सरदर ८ प्रतिशत हो । 

यस्तै, जम्मा बालबालिकाको संख्याको ३ प्रतिशत अर्थात् ६ सय ४ बालबालिका कडा प्रकारको कुपोषणको सिकार भएका छन् । जिल्लामा ठूलो संख्यामा कुपोषण भएका बालबालिका भए पनि स्थानीय तहले यस विषयमा खासै ध्यान दिएका छैनन् ।  

गत आर्थिक वर्षदेखि साउनको अन्तिमसम्म बझाङमा कडा कुपोषण भएका ६०४ बालबालिकामध्ये ६८ जना मात्रै बहिरंग उपचार केन्द्रको पहुँचमा आएका छन् । कडा कुपोषण भएका ५ सय ३६ जना बालबालिकाको भने अझै पहिचान हुन सकेको छैन । 

जिल्लाका १२ वटै पालिकाहरूमा बहिरंग उपचार केन्द्र (ओटिसी) सञ्चालनका लागि  स्वास्थ्यकर्मी खटाइएका भएपनि फितलो समन्वय कारण ओटिसीले काम गर्न सकेको छैनन् । ओटिसीमा रहेका कर्मचारीको यातायात तथा सञ्चार खर्चका लागि मात्र चालू आर्थिक वर्षमा बझाङका प्रत्येक पालिकाले ३० हजार रुपैयाँ बजेट छुट्याएको छ । जति बजेट पोषणको क्षेत्रमा छुट्याइएको छ त्यो मात्रामा काम नभइरहेको जिल्ला स्वास्थ्य कार्यालयका एक अधिकारीले बताए । 



बझाङका १२ वटा पालिकाका लागि पोषण सामग्री ढुवानी, ओटिसी स्थापना सुदृढीकरण वा पोषण लेखा जोखा, पालिकामा रहेका ओटिसीमा रहेका स्वास्थ्यकर्मीको खर्च, पोष मैत्री स्वास्थ्य संस्था घोषणा र कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षणका लागि मात्रै प्रत्येक पालिकालाई ३ लाख रकम विनियोजन गरिएको छ । तर त्यसको सदुपयोग हुनेमा भने स्थानीय ढुक्क छैनन् । 

बझाङमा कुपोषण भएका बालबालिकाको उपचारका लागि स्थापना गरिएका बहिरंग उपचार केन्द्रहरू निस्क्रिय हुँदा कुपोषित बालबालिकाको उपचारमा समस्या भएको छ । प्रत्येक पालिकामा ओटिसी स्थापना गरिएको भएपनि ती उपचार केन्द्र निस्क्रिय भएको पाइएको छ । 



जिल्लाको केदारस्यु गाँउपालिका र थलारा गाउँपालिकामा दुई/दुईवटा र अन्य पालिकामा एक/एक वटा गरी १४ वटा ओटीसी रहेका छन् । तर हाल ८ वटा वटीसी मात्र सञ्चालनमा रहेको सुआहारा बझाङका स्वास्थ्य अधिकृत किसन विकले जानकारी दिए ।

हाल देउलेख प्राथमिक स्वास्थ्य केन्द्र देउलेख, भातेखाला स्वास्थ्यचौकीमष्टा, मेलविसौना स्वास्थ्य चौकीतलकोट, काँडा स्वास्थ्य चौकीकाँडा, लेकगाँउ स्वास्थ्य चौकी लेकगाँउ, कोटभैरव स्वास्थ्य चौकी, रायल प्राथमिक स्वास्थ्य चौकी सक्रिय रूपमा काम गरिरहेका छन् भने खिरातडी स्वास्थ्य चौकी बुङ्गल, भैरवनाथ स्वास्थ्यचौकी केदारस्युँ, दंगाजी स्वास्थ्य चौकी थलारा, चौधारी स्वास्थ्य चौकी दुर्गाथली, छान्ना स्वास्थ्य चौकी खप्तडछान्ना, जिल्ला अस्पताल सिमखेत, दौलीचौर स्वास्थ्य चौकी अहिले निस्क्रिय अवस्थामा रहेका छन् ।     

६८ बालबालिकाको उपचार

कुपोषण भएका बालबालिकाको उपचारको व्यवस्थापन न्यून छ । जिल्लामा १ हजार ६१२ जना सामान्य कुपोषण भएका बालबालिका छन् भने ६०४ जना बालबालिकामा कडा प्रकारको कुपोषण रहेको छ । तर कडा कुपोषण भएका बालबालिका नै उपचारको पहुँचमा नपुग्दा समस्या भएको सुआहारा कार्यक्रमका अधिकृत बिकले बताए ।

६८ वटा बालबालिकालाई सुआहारा परियोजनाका कर्मचारीको सहयोगमा उपचारको पहुँचमा ल्याएकोमा ५७ जना उपचारपछि ठिक भएर घर फर्किएका छन् भने ११ जना अहिले जिल्लाका विभिन्न बहिरंग उपचार कक्षमा उपचार गराइरहेको बिकको भनाइ छ । यो तथ्यांक यो आर्थिक वर्षको साउनसम्मको हो । 

कुपोषण भएको कसरी थाह पाउने?

कुपोषण सामान्यतयाः तीन प्रकारको हुन्छ । बालबालिकाको शरीर आवश्यकताभन्दा धेरै मोटो देखिनु अर्थात् पेट बढ्दै जानु सुकेनाससहितको फुकेनास भएको मानिन्छ । यस्तो प्रकारको कुपोषण लागेका बालबालिकाहरूको शरिरका अधिकांश भाग फुक्ने, सुन्निने जस्तो देखिने तथा शरीरमा पानीका फोका देखापर्ने गर्छन् । यसलाई फुकेनास कुपोषण भन्ने गरिन्छ ।

यस्तै बालबालिकाको शरीर सुक्दै जाने तथा उमेर अनुसारको पाखुराको मोटाइन पुग्नुलाई सुकेनास कुपोषण भन्ने गरिन्छ । सामान्यतया ६ महिनादेखि २३ महिनाको बालबालिकाको पाखुराको मोटाइ १३ सेन्टिमिटर हुनुपर्दछ । योभन्दा कम भएको खण्डमा त्यस्तो बालबालिकालाई सुकेनास कुपोषण भएको मानिन्छ । 

कुपोषणको अर्को प्रकार भनेको बच्चाको उचाइअनुसारको तौल नहुनुलाई पनि कुपोषण भनेर भन्ने गरिन्छ । जस्तै: दुई वर्षदेखि ५ वर्षसम्मको बालिकाको उचाइ ८८ सेन्टिमिटर र तौल कम्तीमा १२.१ किलो हुनु पर्दछ । यदी योभन्दा कम भएको खण्डमा त्यस्ता बालबालिकालाई कुपोषण भएको मानिन्छ ।

यस्तै, ६ महिनादेखि २३ महिनासम्मको बालकको उचाइ ७० सेन्टिमिटर र तौल ८.४ किलो हुनु सामान्य मानिन्छ ।  

  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १२:३२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया