पेलेरै आए देउवा

१४औं महाधिवेशनमा सभापति पदमा दाबेदारी प्रस्तुत गर्न वर्तमान सभापति शेरबहादुर देउवालाई बाटो खुलेको छ । गृहजिल्ला डडेल्धुराबाट उनी महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित भए ।

निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार देउवाले ७९१ मत पाए । यो डडेल्धुराबाट निर्वाचित महाधिवेशन प्रतिनिधिले पाएकोमध्ये सर्वाधिक मत हो । दोस्रो बढी मत गोविन्दराज बोहराको ६०२ हो ।

पत्नी डा. आरजु राणा देउवा भने निर्विरोध भइन् । यसरी पत्नी आरजु निर्विरोध हुँदा सभापति पदमा दाबेदारी प्रस्तुत गर्दै आएका नेताहरूमध्ये देउवा पहिलो निर्वाचित महाधिवेशन प्रतिनिधि बने। 

सभापति पदका दाबेदारहरू वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला र कल्याणकुमार गुरुङ छन् । यी नेताहरू महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित हुन बाँकी छँदा देउवा निर्वाचित भएका हुन् । 

देउवा निर्वाचित भएको अधिवेशन विवादित

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा डडेल्धुराबाट संस्थापनइतर पक्षका नेता कार्यकर्ताहरू आन्दोलित छन् । उनीहरूले हिजाे(साेमबार) धर्ना दिए । धर्नाको क्रममा उनीहरूबाट ‘मुर्दावाद’ को नारा पनि सुनियो । 



उता डडेल्धुरामा भने देउवाले अधिवेशन गराइछाडे । सोही अधिवेशनबाट उनी पनि महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित भए । 

देउवाले जबर्जस्त पेलेरै अधिवेशन गराएका हुन् । इतरपक्षको बहिष्कारबीच गराएको अधिवेशनबाट सभापति पदमा उम्मेदवारी दिन मिल्ने गरी महाधिवेशन प्रतिनिधिमा आउन सफल भए । यसअघि क्रियाशील सदस्यता वितरण र नवीकरणमा धाँधली गरेको आरोपको सामना पनि गरेका थिए । आरोप लगाउने जिल्ला सभापति कर्ण मल्ल हुन् । 



उनका अनुसार जिल्लाबाट पठाएको विवरण केन्द्रीय कार्यालयबाट देउवाले थपघट गराए । यसपछि सदस्यता विवाद छताछुल्ल भयो । सम्भावित झडपको स्थितिबीच २५ भदौमा वडा अधिवेशन गराउन देउवा सफल भए ।

जिल्ला सभापति मल्ल रिले अनसनमा बसे । अधिवेशनलाई अवैधानिक भने । त्यसलाई रद्द गरेर फेरि अधिवेशन गराउनुपर्ने उनको माग थियो । 

डा. शेखर कोइराला, राजनीतिक विश्लेषक पुरञ्जन आचार्यलगायतको टोली डडेल्धुरा विवादको अध्ययनमा खटियो । केन्द्रीय निर्वाचन समितिमा अधिवेशन एकपक्षीय ढंगले भएको भन्दै उजुरीहरू पनि परे । यद्यपि त्यसपछि पालिका तहमा अधिवेशन पनि भयो । यसरी जबर्जस्त भएको अधिवेशनलाई महादेवप्रसाद यादव संयोजक रहेको केन्द्रीय निर्वाचन समितिले २७ कात्तिकमा वैधानिकता दियो ।

जतिबेला फरकधारसँग निर्वाचन समिति सदस्य तेजबहादुर रावलले भनेका थिए, ‘डडेल्धुराको हकमा निर्वाचन समितिमा एक मत छ । पर्न त समितिमा उजुरीहरू परेका छन् । हामीले त्यसबारे छलफल गरेर टुंगो लगाइसकेका छौं । अब फेरि वडा अधिवेशन हुँदैन ।’

नभन्दै प्रदेश निर्वाचन क्षेत्रसँगै बाँकी अन्य क्षेत्रको अधिवेशन पनि खुरुखुर भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय मानिने सभापति कर्ण मल्ल पक्ष भने हेरेको हेर्‍यै भए । 

लोकतन्त्रको धज्जी 

फरक मत र विचारलाई सम्मान गर्नुपर्ने र जसलाई लोकतन्त्रको सौन्दर्यताको रूपमा लिनुपर्ने देउवा स्वयं भन्छन् । तर, १४औं सभापति पदमा दाबेदार हुन देउवाले शक्तिमा रहेर डडेल्धुरामा भने पेलेर तल्लाेदेखि माथिल्लाे तहसम्मका अधिवेशन गराए । अन्ततः महाधिवेशन प्रतिनिधि निर्वाचित भए, त्यो पनि सर्वाधिक मत प्राप्त गरेर । 

ज्येष्ठ राजनीतिज्ञ तथा लेखक कृष्णविक्रम नेम्बाङ यसलाई अलोकतान्त्रिक भन्छन् । 

‘लोकतन्त्र मान्ने भन्ने पार्टी र तिनका नेताले त पार्टीमा आएका फरक मत र विचारलाई सम्मान पो गर्नुपर्छ । शक्तिमा छु भनेर पेलेर त जान भएन नि । पेलेर निर्वाचन गर्नुलाई कसरी लोकतान्त्रिक मान्न सकिन्छ ?’ नेम्बाङले फरकधारसँग भने ।

पार्टीको आठौं महाधिवेशनदेखि पार्टीको केन्द्रीय राजनीतिमा उदय भएका देउवा फेरि सभापति बन्न खोजेका हुन् । १३औं महाधिवेशनमा सँगै केन्द्रीय राजनीतिमा आएका रामचन्द्र पौडेललाई उनले पराजित गरेका थिए । 

  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १३:४१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया