चिनियाँ टेनिस स्टार पेङ्ग शुआईलाई लिएर किन भइरहेछ हङ्गामा ?

चीनकी टेनिस स्टार पेङ्ग शुआई पछिल्ला दिन निरन्तर समाचारको शिर्षकमा छाइरहेकी छन् । उनले टेनिस र खेल जगतमा  मात्र होइन चीनको आन्तरिक राजनीतिमा समेत तरङ्ग ल्याइदिएकी छन् । 

पेङ्ग जुन मुद्दाका कारण चर्चामा छिन् त्यसले चीनको राजनीति र नेतृत्वलाई प्रश्नै प्रश्नले घेरिदिएको छ । उनलाई लिएर अहिले चीन र पश्चिमी राष्ट्रबीच आरोप प्रत्यारोप चलिरहेको छ । 

पेङ्ग अहिले किन चर्चामा छिन् आउनुस् बुझौँ पुरै मामिला । 

को हुन् पेङ्ग शुआई 

पेङ्ग शुआई चीनको यस्तो पहिलो टेनिस खेलाडी हुन् जो अन्तर्राष्ट्रिय र्‍याङ्कीङमा नम्बर १ सम्म पुग्न सफल भएकी थिइन् । 



महिला टेनिस संघ (डब्लुटीए) ले सन् २०१४ फेब्रुअरीमा डबल प्रतिस्पर्धामा उनलाई नम्बर १ को स्थान प्रदान गरेको थियो । त्योभन्दा अघिल्लो वर्ष उनले विबल्डनको उपाधि जितेकी थिइन् भने अन्य प्रतियोगितामा पनि उपाधि चुमेकी थिइन् । 

३५ वर्षीया पेङ्ग शुआई चीनको चर्चित खेलाडीमध्ये एक हुन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा उनले ख्याती कमाएकी छन् । उनले २३ भन्दा बढी टेनिसको उपाधि हात पारिसकेकी छन् । उनी सन् २०११ मा सिङ्गल्सको र्‍याङ्कीङमा १४औं स्थानमा थिइन् । चिनियाँ टेनिस खेलाडी ली ना पछि टेनिसमा उच्च स्थानमा पुग्ने उनी दोस्रो खेलाडी हुन् । 



पछिल्ला वर्षमा पेङ्गको खेलमा पहिले जस्तो धार छैन । उनले अन्तिम प्रतियोगिता सन् २०२० मा खेलेकी थिइन् । 

पेङ्गको नाम अहिले तब चर्चामा आयो जब उनले एक चिनियाँ वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री झांग गाओलेका विरुद्ध सामाजिक सञ्जाल (विबो) मा यौन शोषणको आरोप लगाइन् । 

उनले विबो अकाउन्टमा राखेको सन्देश केही मिनेटमै डिलिट भयो र त्यसपछि उनी सार्वजनिक स्थानमा देखिएकी छैनन् । 

यसबीचमा चीन सरकारले उनको सम्बन्धमा एक भिडियो र इमेल सार्वजनिक गरेको थियो, तर यी चिज उनी सुरक्षित अवस्थामा रहेकी छन् भन्नलाई पर्याप्त छैन । 

डब्लुटीएले पेङ्गको विषयमा एक विज्ञप्ति जारी गरी चिन्ता व्यक्त गरेको छ । उसले उनी सुरक्षित रहेको जानकारी सार्वजनिक गर्न चीन सरकारले दबाव दिइरहेको छ । यसैबीच पश्चिमा देशहरुले पनि पेङ्को अवस्थालाई लिएर चिन्ता व्यक्त गरेका छन् । 

चिनियाँ कम्युनिस्ट नेतामाथि गम्भिर आरोप 

पेङ्गले पूर्व उपप्रधानमन्त्री झाङ्ग गाओले आफूलाई यौन सम्बन्ध राख्नको लागि बाध्य बनाएको खुलासा सामाजिक सञ्जाल मार्फत गरेकी थिइन् ।  

चीनमा पहिलो पटक कोही वरिष्ठ कम्युनिस्ट नेता माथि यस प्रकारको आरोप लागेको हो । यौन शोषणको आरोप लगाएपछि पेङ्गको बारेमा चीन भित्र हुने ‘इन्टरनेट सर्च’लाई समिति गरिएको थियो । 

झाङ्गले टेनिस स्टारको आरोपका बारेमा हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । पेङ्गले विबोमा गरेको पोष्टलाई भने चीन सरकारले तुरुन्तै इन्टरनेटबाट हटाएको थियो । 

सन् २०१३–२०१८ को बीचमा चीनको उपप्रधानमन्त्री रहेका झाङ्ग चिनियाँ राष्ट्रपति सी चिनफिङका निकट सहयोगी मानिन्छन् । 

‘उपप्रधानमन्त्री झांग गाओली मलाई थाहा छ की तपाईँ जस्तो प्रतिष्ठित व्यक्तिले पक्कै पनि मलाई थाहा छैन भन्नु हुनेछ । तर म तपाईँको बारेमा साँचो कुरा बताउँछु,’ पेङ्गले विबोमा लेखेकी थिइन्, ‘त्यस दिन मैले सहमति दिएको थिइन । म लगातार रोइरहेको थिएँ । तपाईँले मलाई आफ्नो घर लैजानु भयो । मलाई यौन सम्बन्ध राख्न बाध्य पार्नुभयो ।’ 

झाङले टेनिस खेल्न बोलाएर आफूसँग जर्बजस्ती यौन सम्बन्ध राखेको आरोप उनको छ । 

‘मसँग कुनै प्रमाण छैन । र, प्रमाण राख्न असम्भव पनि थियो किनकी तपाईँलाई म टेप रेकर्डर लिएर आउँला की भन्ने सधै डर थियो, ताकी प्रमाण जम्मा गर्नुसकँु । त्यसैले मसँग न अडियो रेकर्ड नै छ न भिडियो । मसँग छ त केवल वास्तविक अनुभव मात्र छ,’ पेङ्गले भनेकी छन् ।

बाधा हटाउँदै अघि बढेकी पेङ्ग 

पेङ्गको जन्म ८ जनवरी १९८६ मा हुनान प्रान्तको शङ्टनमा भएको थियो । उनको पिता पङ्ग जीजम एक प्रहरी थए । उनको आमाको नाम सङ्ग बिङ्ग थियो । 

आठ वर्षको हुँदादेखि पेङ्गले टेनिस खेल्न सुरु गरेकी थिइन् । उनलाई हजुरबुबाले टेनिस खेल्न प्रेरित गरेका थिए जो चीनका प्रसिद्ध टेनिस कोच थिए । 

१२ वर्षकी हुँदा पेङ्ग गम्भिर बिरामी भइन् । उनको शल्यक्रिया गर्नुपर्ने भयो । परिवारका सदस्य शल्यक्रिया गर्न मानिरहेका थिएनन् । तर उनी भने टेनिसलाई निरन्तरता दिन चाहन्थिन्, जसको लागि शल्यक्रिया अनिवार्य थियो । उनको शल्यक्रिया भयो । 

उनले सफलताको पहिलो स्वाद सन् २००० मा चाखिन् । उक्त वर्ष उनले पहिलो पटक चीनमा कुनै प्रतियोगितामा भाग लिएकी थिइन्, जहाँ उनी सेमिफाइनलसम्म पुगिन् । सन् २००१ मा १५ वर्ष ४ महिनाको उमेरमा उनले पहिलो सिङ्गल टाइटल हात पारिन् । 

धेरै उतार–चढावपछि सन् २००४ मा उनी पहिलो पटक १०० उत्कृष्ट टेनिस खेलाडीको र्‍याङ्कीङमा आफ्नो स्थान बनाउन सफल भइन् । उक्त स्थानमा उनी सन् २०१५ सम्म रहन सफल भइन् । यो दौरानमा उनी एक सिजनमा गम्भिर घाइते समेत भएकी थिइन् । 

दुई ग्राण्डस्लाम र नम्वर वान र्‍याङ्कीङ ​

पेङ्ग १३ सीजनसम्म टप १०० र्‍याङ्कीङमा, ६ सीजनसम्म टप ५० र्‍याङ्कीङमा र दुई सीजनसम्म टप २० र्‍याङ्कीङमा रहन सफल भइन् । सन् २०११ मा उनी १४औं स्थानमा पुगिन् जुन ली ना पछि कुनै चिनियाँ टेनिस खेलाडीले प्राप्त गरेको सबैभन्दा ठूलो सफलता हो । ली ना दोस्रो र्‍याङ्कसम्म पुगेकी थिइन् । 

सिङ्गल गेममा पेङ्गले दुई वटा टाइटल जितेकी थिइन् । उनी सन् २०१७ को युएस ओपनको सेमिफाइनलसम्म पुगेकी थिइन् । उनले किम क्लाइस्टर्स, मार्टिना हेङ्गीस, अमीली मोरेस्मो, फ्रान्चेस्का स्केवोने र मौरियोन बार्तोली जस्ता टेनिस खेलाडीमाथि जीत निकालेकी थिइन् । 

सिङ्गलमा भन्दा डबल्समा उनको प्रदर्शन राम्रो रह्यो । डबल्समा उनले २३ वटा उपाधि हात पारिन् जसमा दुई वटा ग्राण्डस्लाम पनि पर्छन् । उनले सन् २०१३ मा विबल्डन र २०१४ मा फ्रेन्च ओपनमा उपाधि जितेकी थिइन् । सोही वर्ष उनी डबल्स प्रतिस्पर्धामा नम्बर १ को स्थानमा रहन सफल भएकी थिइन् । उनले ती उपाधिसँगै हालसम्म टेनिसबाट ९६ लाख अमेरिकी डलरको पुरस्कार जितिसकेकी छन् । 

आरोप जसलाई लिए भइरहेको छ हङ्गामा 

पेङ्गले आफ्नो अन्तिम खेल सन् २०२० मा कतार ओपनमा खेलेकी थिइन्, जहाँ उनी र उनको पार्टनर शिन्युन हान १६औं राउण्डमा हारेर बाहिरिएका थिए ।  

डब्लुटीएको वेबसाइटका अनुसार उनी वर्ष २०२१ मा सक्रिय छैनन् । यसैकारण उनको र्‍याङ्कीङ डबल्समा झरेर १९२औं र सिङ्गल्समा ३०६औं स्थानमा पुगेको छ । 
तर यो वर्ष उनको नाम चर्चामा आइरहनुको मुख्य कारण भने उनले चिनियाँ पूर्व उपप्रधानमन्त्री झाङ्ग गाओले माथि लगाएको यौन शोषणको आरोप हो । उनी आफैले सामाजिक सञ्जाल विबो मार्फत यो आरोप झाङ्ग माथि लगाएकी थिइन् । 

रहस्य र चिन्ता

पेङ्गले जब पूर्व उपप्रधानमन्त्री माथि आरोप लगाइन् तबदेखि उनी सार्वजनिक स्थानमा देखिएकी छैनन् । 

डब्लुटीए र पश्चिमा देशले उनको अवस्था सार्वजनिक गर्न चीन सरकारलाई दवाब दिइरहेका छन् । 

सेरेना विलियम्स, नाओमी ओसाका, नोवाक जोकोबिच, रोजर फेडरर जस्ता शिर्ष टेनिस खेलाडीले विज्ञप्ति जारी गर्दै पेङ्गको सुरक्षालाई लिएर चासो र चिन्ता व्यक्त गरेका छन् । 

यहाँसम्मकी, डब्लुटीएले त पेङ्गले लगाएको आरोपमा विषयमा निष्पक्ष छानविनको माग समेत गरेको छ । डब्लुटीएको यो मागप्रति चीन सरकारले कुनै प्रतिक्रिया जनाएको छैन । 

जापानी टेनिस खेलाडी ओसाकाले ट्वीटर मार्फत पेङ्ग र उनको परिवारको सुरक्षाको कामना गरेकी छन् । 

विश्वभरबाट दवाब आएपछि चीन सरकारले गत बुधबार सरकारी टेलिभिजन च्यानल सिजीटीएनमा एउटा इमेल देखाएको थियो, जसलाई पेङ्गले लेखेको जनाइएको थियो । 

‘म घरमा आराम गरिरहेकी छु र सबैकुरा ठीक छ,’ इमेलमा पेङ्गले लेखेकी थिइन् । पेङ्गले आफ्नो ज्यान खतरामा नरहेको जनाएको सिजीटएनले बताएको थियो । उक्त इमेलमा उनले लगाएको यौन शोषणको आरोप झुठो भएको समेत उल्लेख गरिएको थियो । 

डब्लुटीएका कार्यकारी निर्देशक स्टीभ साइमनले भने उक्त इमेलले पेङ्गको अवस्थालाई लिएर झन् शंका बढाएको प्रतिक्रिया दिएका छन् । 

शंकास्पद भिडियो 

हालै चीनको सरकारी मिडियासँग जोडिएका एक सम्पादकले एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । 

ग्लोबल टाइम्सका सम्पादक हु साइचिनेले ट्वीटर मार्फत पेङ्गले आफ्ना साथी र कोचसँग एक रेष्टुरेन्टमा डिनर गरिरहेको भन्दै भिडियो सार्वजनिक गरेका थिए । भिडियो शनिबार सार्वजनिक गरिएको थियो । 

साइमनको प्रतिक्रियापछि हुले अर्को भिडियो सार्वजनिक गरे जहाँ पेङ्ग बेइजिङमा भइरहेको एक प्रतियोगिताको फाइनल हेर्न पुगेकी थिइन् । बिबीसीका चिनियाँ मिडिया विश्लेषकले उक्त भिडियोको सत्यतामा प्रश्न उठाएका छन् । उक्त भिडियो तोडमोड गरिएको शंका उनले व्यक्त गरेका छन् । 

पेङ्गको सन्देश 

यसैबीच अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी)ले आइतबार चीनको टेनिस खेलाडी पेङ्गसँग कुराकानी भएको सार्वजनिक गर्यो । भिडियो कलमा उनले आपूm सुरक्षित र स्वस्थ्य रहेको जनाएको आइओसीले बताएको छ ।  

आइओसीले जारी गरेको विज्ञप्तिमा आइओसीका अध्यक्ष थोमस बैश र पेङ्गबीच ३० मिनेट कुराकानी भएको थियो । ‘उनी राम्रो अवस्थामा छिन्,’ थोमसले भनेका छन् । आफ्नो बारेमा चिन्ता गर्ने सबैलाई पेङ्गले धन्यावाद दिएको आइओसीले जनाएको छ । 

आइओसीसँगको कुराकानीमा पेङ्गले आफू बेइजिङस्थित घरमा रहेको र परिवार तथा साथीहरुसँग समय बिताउन चाहेको बताएकी थिइन् । उनले टेनिसलाई निरन्तरता दिने इच्छा समेत व्यक्त गरेको आइओसीले जनाएको छ । (बिबीसी)

  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १७:२८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया