एनआरएनको पैसा नेपाल भित्र्याउन डलर खाता खोल्न दिनेबारे अर्थमन्त्री सकारात्मक

अर्थमन्त्री जनार्दन शर्माले गैरआवसीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेकोे जानकारी दिएका छन् । मंगलबार राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा उनले सो जानकारी दिएका हुन् । 

उनले सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको बताएका हुन् । ‘सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्नको लागि एनआरएनहरूले डलर खाता खोल्न पाउनेबारे हाम्रो कुरा भइरहेको छ’, मन्त्री शर्माले भने, ‘उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्नेबारे हाम्रो छफलफल भइरहेको छ ।’ 

एनआरएनको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भित्र्याएर लगानी गरी सदुपयोग गर्न सकिने उनले बताए । मन्त्री शर्माले पछिल्लो समय डिजिटल करेन्सी​को कुरा भइरहेको भन्दै त्यसका लागि पहिले पूर्ण रूपमा डिजिटल कारोबार गर्नुपर्ने बताए । 

‘हामी डिजिटल कारोबारमै जान सकेका छैनौँ’, उनले भने, ‘अहिले डिजिटल करेन्सीको कुरा आइरहेको छ । पहिले पूर्ण रूपमा डिजिटल कारोबार लागू गर्ने वातावरण बनाऔँ, त्यसपछि डिजिटल करेन्सीमा जान सकिन्छ ।’ पूर्ण रूपमा डिजिटल कारोबारमा जानलाई आममानिसलाई वित्तीय साक्षरता भनेझैँ डिजिटल साक्षरता आवश्यक हुने पनि उनले बताए । त्यसका लागि राष्ट्र बैंकले सहजीकरण गर्नुपर्नेमा उनको जोड थियो । 

यस्तै, उनले राष्ट्र बैंकका कर्मचारीसँग बैंकहरू डराउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । अझै पनि कर कार्यालयको अधिकृत भन्नेबित्तिकै करदाता डराउने, भन्सारको अधिकृत भनेपछि आयातकर्ता यताउता हुने स्थिति रहेको र राष्ट्र बैंकका अनुगमन कर्मचारी भन्नेबित्तिकै बैंकहरू डराउनुपर्ने अवस्था रहेको भन्दै उनले सहज वातावरण बनाउनुपर्ने बताए । त्यस किसिमको अवस्थाले समावेशी लोकतन्त्रअनुसारको चरित्र तथा मानसिकता अझै विकास भइनसकेको बुझाउने उनले बताए । 

सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न पुँजीगत खर्च बढाउने, पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्ने तथा बन्द उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी रहेको मन्त्री शर्माले जानकारी दिए । आर्थिक वृद्धिमा बेमौसमी वर्षाले रणनीतिक असर पारे पनि लक्ष्यमा पुग्न अन्तिम समयसम्म कार्य गर्नुपर्ने बताए । यसैबीच मन्त्री शर्माले वैदेशिक रोजगारीमा रहेकाको सञ्चय कोष व्यवस्था गर्ने विषयमा पनि मन्त्रालयमा छलफल भइरहेको बताए । 



मंगलबार नै राष्ट्र बैंकको काम–कारबाहीबारे संक्षिप्त जानकारी लिँँदै उनले हुन्डी कारोबारलाई रोक्न सो व्यवस्था गर्नेबारे छफलफल भइरहेको बताए । ‘विदेशमा रहेकाको सञ्चय कोष बनाएर केही रकम हामीले यहाँ थपिदिएर औपचारिक माध्यमबाटै सबै पैसा पठाउने वातावरण बनाउने तयारी भइरहेको छ,’ मन्त्री शर्माले भने । 
 



  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १७:५९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया