कांग्रेस अधिवेशनमा आफूलाई असहयोग गरेको आरोपमा मेयर रावलले कर्मचारी हटाए

बाजुरा त्रिवेणी नगरपालिकाले ३ जना कर्मचारी र २ जना शिक्षकलाई निष्कासन गरेको छ । कांग्रेसको आन्तरिक विवादका कारण कांग्रेसबाटै मेयरमा निर्वाचित रामसिंह रावलले उनीहरुलाई निष्कासन गरेका हुन् ।  

जिल्ला अधिवेशनका वेला आफूलाई असहयोग गरेको भन्दै रावलले उनीहरुलाई निष्कासन गरेका हुन् । निष्कासनमा परेका शिक्षक तथा कर्मचारी कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् । 

इन्जिनियर लोकेन्द्रबहादुर साउद, वडा न २ का कर्मचारी नन्दबहादुर बुढा र देवराज जोशीलाई निष्कासन गरिएको छ । त्यसैगरी दुईजना नगर शिक्षक किरण ऐडी र रंगबहादुर नेपाली पनि  निष्कासनमा परेका छन् । 

सो नगरपालिकामा स्थायी कर्मचारी कम छन् । दरबन्दी नै नमागी नगरपालिकामा पार्टीका कार्यकर्ता भर्ना गरिएको भन्दै यसअघि विरोध हुँदै आएको थियो । 

राजनीति प्रतिशोधका आधारमा उनीहरुलाई निष्कासन गरिएको नगरपालिकाको प्रवक्ता समेत रहेका वडा नम्बर ७ का अध्यक्ष प्रेमबहादुर थापाको भनाइ छ । ‘पार्टी प्रतिशोधका कारण कर्मचारी हटाइएको छ, एकै पार्टीका सँगै भर्ना गरिएका कर्मचारीलाई मनलाग्दी तरिकाले निष्कासन गरिएको छ,’ उनले भने ।

सो निर्णयमा नगरका बहुमत सदस्यको असहमति रहेको उनले बताए । सोमबारको कार्यपालिकाको बैठक १० जना जनप्रतिनिधिले बहिष्कार गरेका थिए ।  नगर प्रमुख रावलले एकलौटी बजेट विनियोजन गरेको भन्दै १० जना जनप्रतिनिधिले बैठक बहिष्कार प्रवक्ता थापाले जानकारी दिए । बुधबार बिहान ११ बजे अर्को बैठक बोलाए पनि कोरम नपुग्ने भन्दै स्थगित भएको उनले बताए ।



नगरपालिका मेयर, उपमेयर र प्रशासकीय अधिकृतहरुको भनाइ भने फरक–फरक पाइएको छ । मेयर रामसिंह रावलले कर्मचारीको काम सन्तोषजनक नभएको भन्दै म्याद थप नभएको बताए । ‘कर्मचारीहरुलाई हटाइएको या निष्कासन गरेको होइन,’ उनले फरकधारसँग कुरा गर्दै भने, ‘म्याद सकिएको हुँदा स्वतल् अवकाश पाएका हुन् । 

उपमेयर राधिकादेवी सुनारले कर्मचारी हटाउने प्रक्रिया सामान्य भएको भन्दै यो विषय केही दिनमै मिल्ने बताइन् । ‘कसैलाई पनि हटाइएको छैन,’ उनले हाँस्दै भनिन्, ‘हटाएको कस्ले भन्यो ? हटाएको छैन । कार्यालयको आफ्नो केही तल–माथि गर्नुपर्ने होला । त्यो मिलिहाल्छ ।’ 



नगरपालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत चिरन्जीवीप्रसाद साहले कर्मचारी भर्ना गर्ने हटाउने कार्य त भइरहने भन्दै हल्का रुपमा लिए । ‘म्याद नथप्ने भन्ने भएको छ । त्यो प्रक्रियामै रहेको छ’, उनले भने, ‘नगरपालिकामा कतिलाई म्याद थप्ने कतिलाई नियुक्ति दिने गरिराख्ने प्रक्रिया हुन्छ हाम्रो ।’ हरेक साल हट्ने नियुक्ति गर्ने प्रक्रिया चलिरहने गरेको उनले उल्लेख गरे । 

निष्कासनमा परेका कर्मचारीले भने अवकाशपत्र आएका हुँदा कार्यलयमा नआएको बताएका छन् ।

मेयरको कामप्रति असन्तुष्टि जनाउँदै नगरमा समय–समयमा विरोधका कार्यक्रमसमेत हुने गरेका छन् । मेयर रावल एकलौटी ढंगले चलेको भन्दै बहुमत सदस्यको विरोध रहेको छ । 

मेयर रावल असोजमा सम्पन्न अधिवेशनबाट बाजुराको निर्वाचित जिल्ला सभापतिसमेत हुन् । उनी कांग्रेसको देउवापक्षइतरका पुराना नेता हुन् । यसअघि देउवा पक्षको राम्रा पकड मानिएको बाजुरामा यसपटक अर्को समूहका रावल सभापति निर्वाचित भए । 

असोज २२ गते बाजुरामा सम्पन्न भएको जिल्ला अधिवेशनमा सभापतिसहित कार्य समितिमा ८० प्रतिशत कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष विजयी भएका हुन् । 

  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १८:२७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया