प्रधानमन्त्री समेत रहेका नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अवैध रुपमा अधिवेशन गराएर ठेकेदारलाई सभापति चयन गरेको भन्दै विरोध प्रदर्शन गरिएको छ ।
अधिवेशनबाट परशुराम नगरपालिकाका नगर प्रमुखसमेत रहेका ठेकेदार भीमबहादुर साउद सभापति बनेका छन् । पैसाको आडमा राजनीति गरेको र राजनीतिक पहुँचका आधारमा विभिन्न ठाउँमा ठेक्का लिएर काम अलपत्र पार्ने व्यक्तिलाई जिल्ला सभापति बनाएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।
डडेल्धुरामा सोमबार जिल्ला अधिवेशन भएको थियो । ७ सय ३४ मत ल्याएर भीमबहादुर साउद सभापतिमा निर्वाचित भएका हुन् ।
परशुराम नगरपालिकाका मेयरसमेत रहेका साउदको पूरै प्यानल नै विजयी भएको हो । साउदले सभापतिका अर्का प्रत्याशी चूडामणि ठकुराठीलाई ६ सय ५८ मतले पराजित गरेका हुन् । निर्वाचनमा विजेता भएका र पराजित भएका दुवै देउवा पक्षका हुन् ।
यस्तै, सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् । उपसभापतिमा लक्ष्मीप्रसाद अवस्थी र डिल्लीराज जोशी, सहसचिवमा प्रेमराज महर र गोविन्दराज बोहरा निर्विरोध निर्वाचित भइसकेका छन् ।
डडेल्धुरामा साउदलाई सभापति बनाउनका लागि संस्थापन पक्षले अर्को पक्षको क्रियाशील सदस्यता नै काटिदिएपछि सुरुदेखि विवाद सुरु भएको थियो । उक्त विवादका बीच निवर्तमान जिल्ला सभापति कर्ण मल्ल समूहलाई बाइपास गर्दै प्रहरीको घेराभित्र वडा अधिवेशन गराइएको थियो । सभापति मल्ललगायत नेता कार्यकर्ता मंसिर १ गतेदेखि राजधानी काठमाडौंस्थित कांग्रेसको मुख्यालय सानेपामा अनशन बसिरहेका छन् ।
सबै प्रक्रिया मिचेर वडा सभापति र जिल्ला सभापतिको अनुपस्थितिमा जिल्ला अधिवेशन गराएको र पार्टीलाई ठेकेदारको जिम्मा लगाएको भन्दै मंगलबार जिल्ला सदरमुकाममा मोटरसाइकल र्याली निकालेको हो । असन्तुष्ट नेता–कार्यकर्ताले कालो झण्डासहित ठेकेदार साउद र केन्द्रीय सभापति देउवाविरुद्ध चर्का नारा लगाउँदै मोटरसाइकल र्याली निकालेका हुन् ।
निवर्तमान सभापति मल्लले जिल्लामा भएका सबै अधिवेशन अवैध भएको दाबी गर्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी दर्ता गराइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।