निर्मला पन्त हत्या प्रकरण: धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

कञ्चनपुर- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका-२ की १३ वर्षीया निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । 

पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको छ । कात्तिक २५ गतेदेखि धर्नामा बसेका यज्ञराजलाई ज्वरो आउनुका साथै रुखा–खोकी लागेको र हातखुट्टा दुख्ने समस्या देखा परेको छ । दुर्गालाई समेत ज्वरो आएको र रक्तचाप घटेको छ । 

उपचारका लागि पुगेका महाकाली अञ्चल अस्पतालका चिकित्सक किशोर बोहराले दुवैको चिसोका कारण स्वास्थ्य बिग्रँदै गएको बताए । निर्मलाकी कान्छीआमा लक्ष्मी पन्तको समेत रक्तचाप बढेको पाइएको छ । यसैबीच, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले पन्त परिवारको अवस्थाबारे जानकारी लिएका छन् । 

यज्ञराजले छोरीका हत्यारा पत्ता नलाग्दासम्म र न्याय नपाउँदासम्म धर्ना जारी रहने बताए । साथीको घरमा गएकी निर्मलाको साउन ११ गते उखुबारीमा शव फेला परेको थियो । हत्या भएको तीन महिनाभन्दा बढी समय बिते पनि हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७५ शुक्रबार १०:४०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया