नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी तीनै तहको निर्वाचनसम्म पाँच दलीय गठबन्धन रहने दावी गरेका छन् ।
कांग्रेसका केही नेताले महााधिवेशनमा भोट पाउनका लागि मात्रै गठबन्धन हुँदैन भन्ने गरे पनि आन्तरिक रूपमा सबैले गठबन्धन चाहेको उनले बताए ।
‘कांग्रेसको महाधिवेशनमा भोट बढी आउला भनेर केही नेताले गठबन्धन हुँदैन भन्ने गरेका छन्,’ पार्टीको कार्यक्रममा सहभागी हुन बुधबार धनगढी पुगेका अध्यक्ष प्रचण्डले धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘तर भित्री रूपमा गठबन्धन नगरेर हुँदैन भन्ने ती नेताले पनि राम्ररी बुझेका छन् । त्यसैले तीनै तहको निर्वाचनसम्म गठबन्धन हुन्छ । त्यसका लागि अहिले सवै दलबीच राम्रो समझदारी बनेको छ ।’
पाँच दलीय गठबन्धनलाई थप बलियो बनाउन राजनीतिक संयन्त्र बनेको उनले बताए ।
संसारमा जहाँ पनि संयुक्त सरकार हुने ठाउँमा पार्टीहरूले एउटा न एउटा संयन्त्र आपसी समझदारी सुदृढ गर्नका लागि बनाउने गरेको प्रचण्डले उल्लेख गरे ।
उनले भने, ‘सरकार आफ्नो ढंगले चल्छ भने पार्टीहरूले आपसी समझदारी, सहमति, अन्तरक्रिया र आउने इस्युमा समान धारणा बनाउन यस्तो संयन्त्र बनाएको अभ्यास छ ।’
संयन्त्रले गठबन्धनलाई आउने चुनावसम्म लैजाने बाटो प्रष्ट भएको उनको भनाइ छ । तत्कालै राष्ट्रिय सभामा खाली हुने १९ सिटमा गठबन्धनका दलहरू मिलेर चुनाव लड्ने नीतिगत र व्यावहारिक निर्णय नै गरिसकिएको उनले जानकारी दिए ।
‘यो चुनावको परिस्थित हेरिसकेपछि आउने सबै चुनावमा समझदारी बनाएर जाने हो,’ उनले भने ।
अध्यक्ष प्रचण्डले वर्तमान सरकारलाई तदारुकताका साथ काम गर्न आग्रह पनि गरेका छन् । यसैगरी उनले एमसिसीको विषयमा सबैसँग सल्लाह गरेर अगाडि बढ्ने बताए ।
तीन तहको चुनाव एकैसाथ गर्दा खर्च कम हुने प्रचण्डकाे भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।