चुनावपछि एमालेकाे हाल बेहाल हुन्छ : अध्यक्ष नेपाल
फाइल फाेटाे

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चुनावपछि नेकपा एमालेको हाल बेहाल हुने दावी गरेका छन् । 

बुधबार जनकपुरधाममा पार्टी प्रवेश तथा प्रदेश कार्यालयको उद्घाटन कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले केपी ओलीले सूर्यको धाक देखाएर केही हुन नसक्ने जिकिर समेत गरे । 

उनले भने, ‘केपी ओलीले सूर्यको धाक नदेखाए हुन्छ । त्यसमा ग्रहण लागिसकेको छ । अब हाम्रो कलम चम्किरहेको छ, सत्य र न्यायको संदेश दिइरहेको छ । चुनावपछि नेकपा एमालेको हालत बेहाल, बिचरा, बिजोग हुनेछ ।’

नेपालले अहिले एकीकृत समाजवादीले दुईवटा प्रदेशमा सरकार चलाइरहेको भन्दै सातमध्ये दुईवटा प्रदेश एकीकृत समाजवादीको जिम्मामा परेको र सुदूरपश्चिम प्रदेशमा पनि यो पार्टी प्रदेशसभामा सबैभन्दा ठूलो दलको रूपमा कायम रहेको दावी पनि गरे ।  

उनले प्रदेश २ मा पनि केपी ओलीको समूहभन्दा धेरै माथि एकीकृत समाजवादी रहेको तथा कर्णाली प्रदेशमा पनि केपी ओलीको पार्टीलाई धुलो चटाइदिएर उठ्नै नसक्ने अवस्थामा पुर्‍याउने काममा आफ्नै दलले भूमिका खेलेको धारणा राखे । 

अध्यक्ष नेपालले मंसिर १५ गतेदेखि आफूहरू स्टिकर वितरण गर्दै घरघरमा जनताको माझमा पुग्ने अभियान सञ्चालन गर्न गइरहेको समेत जानकारी दिए । 



‘हाम्रो पार्टी बलियो र वैचारिक जगमा उभिएको छ । विचार, नीति र पद्धतिलाई केन्द्रविन्दुमा राखेर हामी अगाडि बढिरहेका छौं,’उनले भने ।

प्रदेश २ को स्थायी राजधानी जनकपुरधामलाई बनाउनु नै न्यायोचित हुने बताए पनि प्रदेशको नामको सवालमा उनले केही बोलेनन् ।



  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १२:५३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया