काठमाडौंमा जारी जनता समाजवादी पार्टी (जसपा)नेपालको कार्यकारिणी समिति बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ ।
मुख्यमन्त्री राउतले पार्टीमा छलफल नै नगरी मन्त्रीलाई हटाउने तथा नियुक्त गर्ने खेल गरिरहेको आरोप लगाउँदै उनको राजीनामाको माग गरिएको हो । बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति समेत प्रश्न उठेको बताइएको छ ।
उद्योग, पर्यटन तथा वन मन्त्रीबाट पदमुक्त गरिएका रामनरेश रायले आफूलाई पार्टीमा छलफल नै नगरी मुख्यमन्त्री राउतले बिनाकारण पदबाट हटाउनु आफ्नो अपमान रहेको भन्दे आक्रोश व्यक्त गरेका छन् ।
मुख्यमन्त्री राउतमाथि भ्रष्टाचारको आरोप लागिरहेका बेला उनले राजीनामा दिनुको साटो उल्टै आफूलाई हटाउनु उचित नरहेको उनको दुःखेसो छ ।
रायले भने,‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा भ्रष्टाचार भएको प्रारम्भिक अनुसन्धानबाट ठहर गरिसकेकाले मुख्यमन्त्री राउतले राजीनामा दिएर पार्टीको प्रतिष्ठा जोगाउनु पर्छ । उनले राजीनामा नदिए अख्तियारले विशेष अदालतमा मुद्दा गरे स्वतः पदमुक्त हुँदा पार्टीको प्रतिष्ठामाथि नै ठूलो आघात पुग्ने छ ।’
बैठकमा डा. बाबुराम भट्टराई तथा महेन्द्र यादव पक्षधरका केही नेताहरूले समेत मुख्यमन्त्रीको राजीनामा माग गरेको स्रोतको दावी छ ।
यस सम्बन्धमा सामाजिक विकास मन्त्रीसमेत रहेका जसपाका कार्यकारिणी समिति सदस्य नवलकिशोर साहले राय आक्रोशमा आएर मुख्यमन्त्री राउतको राजीनामाको माग गरे पनि त्यस सम्बन्धमा बैठकमा कुनै छलफल नभएको जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।