विमलको सुखद पुनरागमन

‘लामो समयपछि मैदान फर्कँदाको अनुभव सायदै शब्दमा बयान गर्न सकौँला । यो समयका लागि हौसला, साथ र विश्वास बनाइराख्नु भएकोमा सबैलाई आभार व्यक्त गर्दछु,’ नेपाली फुटबलका युवा स्टार विमल घर्तीमगरले लामो समयपछि पुनरागमन गर्दा सामाजिक सञ्जालमा लेखे ।  

सहिद स्मारक ‘ए’ डिभिजन लिगमार्फत विमलले सोमबार करिब २१ महिनापछि फुटबलमा पुनरागमन गरेका हुन् । यसबीचमा उनी एन्फाको प्रतिबन्ध तथा चोटका कारण मैदान बाहिर थिए । 

२०७६ को मंसिरमा नेपालले फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत कुवेतविरुद्ध खेल्दै थियो । खेल घरेलु मैदानमा हुने तय भए पनि नेपालको एक मात्र अन्तर्राष्ट्रिय मापदण्डको दशरथ रंगशाला पुनःनिर्माणकै क्रममा रहेका कारण नेपालले ‘होम म्याच’ भुटानमा खेल्नु पर्‍यो ।
 
भुटान जानुअघि राष्ट्रिय टिममा हलचल मच्चियो । त्यसको कारण थियो- चार खेलाडी नाइट क्लबमा भेटिनु । नियमविपरीत एन्फा होस्टलबाट ‘नाइट क्लब’ मा गएको भन्दै फरवार्ड विमल घर्तीमगर, मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दिनेश राजवंशीलाई तत्काल राष्ट्रिय टिमबाट हटाइयो । 

उनीहरूले कुवेतविरुद्धको खेलका साथै घरेलु मैदानमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पनि खेल्न पाएनन् । त्यसपछि एन्फाले छानविन गर्दै विमल र दिनेशलाई तीन महिना तथा अञ्जन र सन्तोषलाई ४५ दिन निलम्बन गर्ने निर्णय गरेको थियो ।

प्रतिबन्धका विमल र दिनेशले २०७६ को ‘ए’ डिभिजन लिगको अधिकांश खेल गुमाए । विमलले सो सिजनको अन्तिम म्याचमा मछिन्द्रबाट आर्मीविरुद्ध खेल्दै उपाधि उचाल्ने अवसर प्राप्त गरे । त्यसपछि कोरोना महामारीका कारण लिगसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेनन् । राष्ट्रिय टिमबाट बाहिरिएको एक वर्षपछि विमल प्रारम्भिक टिममा पर्न सफल भए । 

नेपाली टिमका तत्कालीन कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाउँदा विमल पनि सो टोलीमा अटाए ।  बन्द प्रशिक्षण उनका लागि सुखद भने हुन सकेन । 



गत वर्ष सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अभ्यास गर्दै गर्दा विमलको घुँडामा गम्भीर चोट लाग्यो । लिगामेन्ट च्यातिदा उनको शल्यक्रिया गर्नुपर्ने भयो । जसकारण विमलको राष्ट्रिय टिममा फर्कने लक्ष्य अधुरै रह्यो । 

एन्फाको पहलमा उनी गत माघमा उपचारका लागि कतार गए । विमलको दोहास्थित एस्पटर अस्पतालमा शल्यक्रिया गरिएको थियो । एप्सटर अर्थोपेडिक र स्पोर्ट्स मेडिसिनको लागि विशेष अस्पताल हो । 



शल्यक्रिया सफल भएपछि विमलले नयाँ जीवनको सुरुवात गर्ने बताएका थिए । ‘सायद आज मैले गरेको गल्तीको सजाय पाउँदैछु, प्रतिस्पर्धाको बेलामा म केही समयको लागि अड्किएको हुँ । तर हिम्मत हारेको छैन, मैले नयाँ खेल जीवनको सुरुवात गर्नेछु । जुन माया, विश्वास र साथ पाएको थिए, त्यो फेरि पाउनेछु,’ शल्यक्रियापछि विमलले सामाजिक सञ्जालमा लेखेका थिए ।

उनले जारी सिजनका लागि पनि मच्छिन्द्रसँग सम्झौता नवीकरण गरे । तर विमल सिजनको पहिलो खेलको सुरुवाती रोजाइमा भने पर्न सकेनन् । एनआरटीविरुद्ध उनी अभिषेक रिजालको स्थान लिँदै ८० औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । 

मैदान छिर्दै गर्दा रंगशालामा उपस्थित दर्शकले ताली बजाएर विमलको स्वागत गरेका थिए । उनी २१ महिनापछि प्रतिस्पर्धात्मक खेलका लागि मैदान उत्रिएका हुन् । विमलले पछिल्लोपटक २०७६ फागुनमा मछिन्द्रबाटै खेलेका थिए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेल मछिन्द्रले २-१ ले आफ्नो पक्षमा पार्‍याे । टोलीको जितमा दुवै गोल सुनिल बलले गरे । विमलले दोस्रो गोलका लागि अवसर सिर्जना गरेका थिए । 

उनले छोटो समय मैदान बिताए पनि प्रभावशाली प्रदर्शन गरे । मछिन्द्रको यो जितसँगै विमलको पुनरागमन पनि सुखद रह्यो । मछिन्द्रले दोस्रो चरणको खेल विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध १३ मंसिरमा खेल्नेछ ।  

  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १४:०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया