नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशका चार जिल्लामा वडादेखि जिल्लासम्मको अधिवेशन सम्पन्न भएको छ । अन्य चार जिल्लामा जारी रहेको छ ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेश रहेको सुदूरपश्चिममा सबै जिल्लाको मत परिणाम आइसकेको छैन । धेरै जिल्लामा महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनको मत गणना जारी रहेको छ ।
मत गणना सम्पन्न भएका जिल्लामा अहिले कांग्रेसका दुवै समूहको बराबरी रहेको छ । सभापति देउवानिकट अर्थात् संस्थापन पक्षका दुई जना सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट पनि दुई जना जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।
नौवटै जिल्लामा निर्वाचनमार्फत कडा प्रतिस्पर्धाबाट जिल्ला सभापति चुनिँदै छन् । बाजुरा र बैतडीको सभापति देउवाइतर पक्षका जिल्ला सभापति निर्वाचित भएको छन् भने पार्टी सभापतिको गृहजिल्ला डडेल्धुरा र बझाङका सभापति संस्थापन पक्षबाट विजय भएका छन् ।
डडेल्धुरामा भीम बहादुर साउँद र बझाङमा निर्वाचित भएका छन् । डडेल्धुरामा एक पक्षको विरोधमा सम्पन्न भएको हो । डडेल्धुरामा सातौं जिल्ला अधिवेशनबाट सभापतिका प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै परशुराम नगरपालिकाका मेयरसमेत रहेका साउद विजयी भएका हुन् । साउदले सात सय ३४ मत पाए भने ठकुराठीले ७६ मत पाए ।
यस्तै, सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् । उपसभापतिमा लक्ष्मीप्रसाद अवस्थी र डिल्लीराज जोशी, सहसचिवमा प्रेमराज महर र गोविन्दराज बोहरा सोमबार नै निर्विरोध भइसकेका थिए ।
यस्तै, बझाङ सभापतिमा खडक बोहरा विजयी भए । उनी प्रतिद्वन्द्वी रमेश भण्डारीलाई पराजित गर्दै सभापतिमा विजय भएका हुन् । बोहराले ८७७ मत पाउँदा उनका प्रतिद्वन्द्वी भण्डारीले ५०८ मत ल्याए ।
यसैगरी उपसभापति बर्क रोकाया ६५७, मानबहादुर कठायत ६३८ मत ल्याएर विजयी भए । सचिवमा ८२७ मत ल्याउने उत्तम रोकाया र ७४२ मत ल्याउने झलक कठायत विजयी भए । नयाँ कार्य समितिको सहसचिवमा उमाशंकर जोशी र राजेन्द्र धामी विजयी भए । सहसचिव दलिततर्फ सुनिल दमाई र मंगल सुनार विजयी हुँदा पुरुष खसआर्यतर्फ अभिषेक सिंह चुनिए ।
बाजुरा र बैतडीमा संस्थापन इतरका रामसिंह रावल र चतुरबहादुर चन्द निर्वाचित भएका छन् । बैतडीमा सभापति निर्वाचित चतुरबहादुर चन्दले ८०९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी शिवराज भट्टले ४८९ मत मात्रै प्राप्त गरे ।
एक जना उपसभापतिबाहेक पदाधिकारीमा अन्य पदमा पनि चन्द प्यानलकै उम्मेदवार विजयी भएका छन् । उपसभापतिमा शिवराज भट्ट प्यानलका वीरबहादुर विष्टबाहेक अरु सबै पदमा चन्द प्यानलका उम्मेदवार विजयी भएका हुन् । विष्टले ६५८ मत प्राप्त गरेर विजय हासिल गरेका छन् ।
यस्तै, अर्को उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामीले ६२४ मत प्राप्त गरेर विजय हासिल गरेका छन् । उपसभापति पदमा चन्द प्यानलका रमेशदत्त पाण्डे (६०८) र भट्ट प्यानलका हरिसिंह धामी (५५२) मत ल्याएर पराजित भएका छन् ।
यस्तै, सचिव पदमा चन्द प्यानलका प्रेमबहादुर चन्दले ६४० र देवराज जोशीले ६३३ विजयी भएका छन् । भट्ट प्यानलका रमेशसिंह भण्डारी ५९५ र कर्णबहादुर बोहरा ५२९ मत ल्याएर पराजित भएका छन् ।
यस्तै, सहसचिवमा पदमा चन्द प्यानलका दिपेन्द्रबहादुर चन्द ६६६ र दशरथसिंह चाड ६५४ मत ल्याएर विजयी भएका छन् । भट्ट प्यानलका घनश्याम भट्ट ५३० र रमेश कोली ५७४ मत ल्याएर पराजित भएका छन् ।
बाजुरामा निवर्तमान सभापति कबिरज पण्डितलाई ३९ मतले पराजित गर्दै रामसिंह रावल सभापतिमा विजयी भए । रावल ६ सय ५ मत ल्याएर सभापतिमा विजयी भएको निर्वाचन समिति बाजुराले जनाएको छ । पण्डितले ५ सय ६६ म पाए । चार जिल्लामा भएको निर्वाचनमा महाधिवेशन प्रतिनिधिमा भने संस्थापन पक्ष अगाडि छ ।
एउटा मात्रै निर्वाचन क्षेत्र भएको डोटी र दार्चुलामा जिल्ला कार्यसमिति चयन हुँदैछ । डोटीमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान भइरहेको छ ।
सभापतिमा देउवा पक्षका नरेन्द्रबहादुर सिंह र १३औं महाधिवेशनसम्म देउवा पक्षमै रहेका भूमिराज बडूबीच प्रस्पिर्धा भइरहेको छ । अहिले उनलाई संस्थापन इतरका उम्मेदवार भनिएको छ ।
यस्तै, दार्चुलामा भने वर्तमान सभापति ललित बोहरा र उपसभापति अमरसिंह धामीले सभापतिका लागि मनोनयन दर्ता गरेका छन् । उनीहरू दुवै दिलेन्द्र बडू निकट छन् । दुई निर्वाचन क्षेत्र रहेको अछाम, तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुर र पाँच निर्वाचन क्षेत्र भएको कैलालीमा अधिवेशन हुन बाँकी छ । क्षेत्रीय र महाधिवेशन प्रतिनिधिका लागि निर्वाचनकै मत परिणाम आउन बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।