नेपाली कांग्रेस डोटीको सभापतिमा नरेन्द्रबहादुर सिंह विजयी भएका छन् । देउवा प्यानलबाट निर्वाचन लडेका सिंहले ५६८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी भूमिराज बडूले ३९७ मत प्राप्त गरे ।
सभापतिका लागि दोस्रो चरणमा निर्वाचन भएको थियो । जिल्ला कार्यसमितिका पदाधिकारी र महाधिवेशन प्रतिनिधिको मतगणना बुधबार राति नै हुने निर्वाचन समितिले जनाएको छ ।
सभापतिका लागि पहिलो चरणमा पाँचजना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा नरेन्द्रबहादुर सिंहले ३५८, भूमिराज बडूले ३४२, प्रदीप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझाले ३४ मत प्राप्त गरेका थिए ।
पहिलो चरणमा ५१ प्रतिशत मतपरिणाम नपुगेकोले पुनः दोस्रो चरणमा मतदान भएको थियो ।
१ हजार १ सय ७ जना मतदाता रहेको डोटीमा पहिलो चरणको मतदानमा जम्मा १ हजार ८७ मत खसेको थियो भने दोस्रो चरणको मतदानमा ९ सय ८७ मत खसेको थियो ।
डोटीमा सिंह निर्वाचित भएसँगै सुदूरपश्चिममा पार्टी सभापति शेरबहादुर देउवा पक्षले ३ जिल्लामा सभापतिमा विजय हासिल गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।