कांग्रेस कैलाली क्षेत्र ३ को सभापतिमा चौधरी विजयी

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र ३ को क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय सभापतिमा रीताकुमारी चौधरी विजयी भएकी छन् । उनले ३०८ मत प्राप्त गर्दै बहुमतका साथ विजयी भएकी हुन् । चौधरी कैलालीका ५ वटै निर्वाचन क्षेत्रमा उनी मात्रै महिला सभापति हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी गोकेन्द्र भण्डारीले १५३ मत प्राप्त गरे । जिल्लाका ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये चारवटामा कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ । कांग्रेस कैलालीका प्रचारप्रसार विभाग प्रमुख नृपबहादुर सुनारका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा निवर्तमान सभापति भुवन अधिकारीलाई पराजित गर्दै सचिव प्रकाश शाह सभापतिमा विजयी भएका छन् ।

क्षेत्र नम्बर १ बाट कांगेस सुदूरपश्चिम संसदीय दलका नेता डा. रणबहादुर रावल, पूर्व कृषि राज्यमन्त्री जनक चौधरी र तत्कालीन जिल्ला विकास समितिका सभापति नारायण मिश्रलगायत २५ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । मिश्रबाहेक क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिमा निर्वाचित सबै संस्थापन सभापति देउवा पक्षीय उम्मेदवार हुन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा निवर्तमान सभापति रामबहादुर बिष्टलाई पराजित गर्दै लम्कीचुहा नगरपालिका–२ का निर्वाचित वडाध्यक्ष विष्णु ढकाल सभापतिमा निर्वाचित भएका छन् । ढकालले ३५७ र विष्टले २९५ मत पाए ।

महाधिवेशन प्रतिनिधितर्फ संस्थापनइतर अर्थात पौडेल समूहका कमल शाहबाहेक सबै सभापति देउवा पक्षीय उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर ४ मा बसन्त रोकाया (ललित) प्यानलसहित सभापतिमा विजयी भएका छन् ।

निवर्तमान सभापति दिनेशराज जोशीलाई पराजित गर्दै रोकाया सभापति निर्वाचित भएका प्रचारप्रसार विभाग प्रमुख सुनारले बताए । क्षेत्रीय सभापतिमा निर्वाचित सबै सभापति शेरबहादुर देउवा पक्षका हुन् । यो क्षेत्रमा मतगणनामा विवाद भएपछि महाधिवेशन प्रतिनिधिको निर्वाचनको मतपरिणाम सार्वजनिक गरिएको छैन ।



क्षेत्र नम्बर ५ मा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझ अबेर मतदान सकिएको थियो । महाधिवेशन प्रतिनिधिमा लागि भएको निर्वाचनमा भने एक जना मात्र संस्थापन इतर पक्षको क्षितिज भण्डारी निर्वाचित भएका छन । बाँकी सबै संस्थापन पक्षका हुन् ।

क्षेत्र नम्बर ५ को महाधिबेशन प्रतिनिधिमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड सर्वाधिक मत (३७७) सहित विजयी भए । कांग्रेस कैलालीका सभापति नर नारायण शाह मनु (३६२), क्षितिज भण्डारी (३४५), प्रकाश देउवा (३०३), डिल्लीराज पन्त (२३५) , गणेश देउवा (२२६), कृष्ण बहादुर महरा (२१०) , नारायणदत्त भट्ट (२०६), उद्धव बहादुर बिष्ट (१९४) र हरिश खड्का (१८७) विजयी भएका छन् ।



महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा प्रत्यक्ष महिलातर्फ निपा चोखाल, २८७ डम्बरी महरा (रक्षा) (२४३), पुष्पा भट्ट (२१५) र रीता बम भण्डारी (२२०) विजयी भइन् । समावेशी, अपांग मधेशीतर्फ धर्मराज ओझा २२४ मतले विजयी भएका हुन् ।

यहाँ अहिले क्षेत्रीय सभापतिका लागि मतगणना जारी रहेका छ । मत परिणाम आउन समय लाग्ने नेताहरूले बताएका छन् ।

  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार २०:५१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया