आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको तेस्रो खेलअन्तर्गत कुवेतविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले दोस्रो ओभरमै सफलता प्राप्त गरेको छ ।
नेपाललाई पहिलो सफलता सरस्वतीकुमारी चौधरीले दिलाएकी हुन् । उनले जैफ जिलानीलाई शून्यमै आउट गरिन् ।
खेल दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा भइरहेको छ । प्रतियोगितामा नेपाल कुवेतलाई सहज रूपमा हराउँदै नेट रनरेट बढाएर शीर्षस्थानमा पुग्ने दाउमा रहनेछ ।
मंगलबार भएको दोस्रो खेलमा नेपालले भुटानलाई आठ विकेटले जितेको थियो । सोमबार भएको पहिलो खेलमा नेपाल हङकङविरुद्ध ६ विकेटले हार्यो ।
यता, कुवेत भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । कुवेत दुवै खेलमा पराजित हुँदै तालिकाको पुछारमा छ । पहिलो खेलमा भुटानसँग ४० रनले पराजित कुवेत दोस्रो खेलमा मलेसियासँग ८१ रनले पराजित भएको थियो ।
तेस्रो खेलमा जित निकाल्दै नेपाल ग्लोबल छनोटको सम्भावना कायमै राख्न चाहन्छ । त्यसका लागि रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली तयार छ । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोली ग्लोबल छनोटमा स्थान बनाउनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।