किचनमा कवि
मेरो फर्स्ट लभ कविता, अनि किचन

किचन र पुरुष ? छनोटमा गढबडी भयो कि ? किनभने हाम्रो पुरूषप्रधान समाजमा किचनको सम्पूर्ण तालाचाबी नारीको हातमा थमाइएको छ । र यो षड्यन्त्रपूर्ण छ । नारीहरूलाई किचनमा बन्दी बनाउने र उनीहरूबाट नोकरको सेवा लिने । 

हाम्रो समाजमा पुरुष कार्यालय वा अन्य कुनै काममा जाने र महिलालाई घरमा किचनको काममा लगाउने चलन अद्यापि छ । किचन भन्नासाथ मानिसको मस्तिष्कमा महिला आइहाल्छ, पुरुष बिरलै आउँछ । 

कविता लेखनपछिको मेरो मनपर्ने अर्को काम हो– किचनमा काम गर्नु ।

किचनमा महिलाले मात्र काम गर्नुपर्छ भन्ने मलाई लाग्दैन । किचनलाई हरेक सिर्जनशील व्यक्तिले प्रेम गर्छन्जस्तो लाग्छ । किचन सिर्जनाका लागि राम्रो ठाउँ जस्तो लाग्छ । कला र सिर्जनाका पाठकका लागि किचन पुस्तकालय वा संग्रहालय हो भने पनि गलत हुन्न ।

एक हिसाबले हेर्दा किचन प्रयोग गर्न रुचाउने मान्छेका लागि गजब ठाउँ हो । किचनमा आफूले जे–जस्तो मनपर्छ, त्यस्तै प्रयोग गर्न पाइन्छ । मन परेको हरेक वस्तु छान्न पाइन्छ । मेरा लागि पनि किचन आफूभित्र रहेको कला प्रस्तुत गर्ने ठाउँ पनि हो । 

कुनै पनि मान्छे कति आत्मनिर्भर छ भनेर जाँच्ने ठाउँ पनि किचन नै हो । मान्छेले किताब नपढी, सिनेमा नहेरी, कविता नलेखी वा अन्य काम नगरी समय बिताउन सक्छ । तर, किचनमा काम नगरी मान्छे बाँच्न सम्भव नै हुँदैन । मान्छे अन्य कोही मान्छेप्रति निर्भर भएमा उसले भोकै बस्नुपर्ने अवस्था आउन सक्छ । तर, आफूसँग किचनमा चाहिने कला छ भने कसैप्रति निर्भर रहनुपर्दैन ।



केही मानिस ‘बाघले घाँस खाँदैन’ भन्दै पुरुषले पनि पकाउने काम गर्छ र भन्छन् । जवाफमा म भन्छु, ‘मलाई किचनप्रति प्रेम छ, श्रमप्रति प्रेम छ । आवश्यक पर्यो भने म हाउस हस्वेन्ड भएर पनि बाँच्न सक्छु ।’ सूत्र सामान्य छ, आफूले पकाउन जान्दाजान्दै कसैलाई काम लगाउन मन लाग्दैन । एक कप चियाका लागि श्रीमती, आमा वा अन्य कोहीलाई दुःख दिनुपर्छजस्तो लाग्दैन ।
किचनमा काम गर्ने अनुभवबारे बोल्दा एसएलसीसम्म पढ्दा मैले केही जानेकै थिइनँ । मलाई केही पकाउन पनि आउँदैनथ्यो । संयुक्त परिवारमा हुर्किएकाले घरमा अरूले नै पकाएको खाएर हुर्किएको थिएँ । किचनभन्दा धेरै पर थिएँ म ।
एसएलसी दिएपछि बागलुङबाट पोखरा आएँ । पोखरामा बस्दा सुरुताका होटलमा खाना खाने गरेको थिएँ । होटलमा खाना खाएकै कारण म बिरामी भएँ । बिरामी भएपछि घरपरिवारबाट पनि आफैँले पकाएर खानु भन्नु सुझाब (दबाब) आयो ।

किचनमा खाना पकाउने पहिलो दिन बजार गएर आलु, फूलगोभीलगायत अन्य किचन सामान किनेर ल्याएँ । म आफैँ सब्जीको सौखिन । पहिलोपटक सब्जी बनाउँदा मीठो बनाउँ न भनेर नुन बढी हालेछु । खानै नमिल्ने गरी चर्को भएछ । जसोतसो खाएर क्याम्पस गएँ । चर्को खाएको कारण क्याम्पसमा तिर्खा मात्र लागिरह्यो । तुरुन्तै कोठा फर्किएँ । 



सुरुताका कसरी पकाउने केही थाहा थिएन । बिस्तारै पकाउन सिक्दै जाँदा किचनप्रति मेरो प्रेम बढ्दै गयो । किचनमा जति मिहिनेत गरेर पकायो, उति नै मीठो खान पाइने । त्यसैले पनि किचनसँग बढी नै लगाव राख्न थालें ।

खाना बनाउने र खाने प्रक्रिया पनि एउटा परम्परा हो । भारतीय उपमहाद्वीपअन्तर्गत पर्ने हाम्रो देशमा त झन् खानालाई चखिलो तथा मीठो बनाएर खाने चलन छ । अलिकति पिरो, अलिकति अमिलो, अलिकति चटपटे टाइपको खाना बढी नै मन पर्छ मलाई पनि । आफैँ पनि खाना बनाउँदा यस्तै स्वादलाई आधार मानेर बनाउने गरेको छु ।

पहिला–पहिला खाना बनाउँदा अनेक गल्ती भएका छन् । साग पकाउँदा नजानेर कालै हुने गरी डढ्थ्यो । आलु डढ्थ्यो । खाना बनाउँदा बढी नै प्रयोग गर्न रुचाउने मेरो बानी छ ।
 
एकपटक खै कुन साथीले हो चिकनमा कोक, पेप्सीजस्ता पेय राखे स्वादिलो हुन्छ भनेको थियो । होला त भनेर खाना बनाउँदा कोक हालेर पकाउन सुरु गरेको थिएँ । अरू वेलाजस्तै खाना पकाउन सुरु गरेर केही कामका लागि बाहिर गएको थिएँ । आउँदा त अँगारजस्तै भएको रहेछ ।

खाना बनाउँदा यसरी बिग्रिएको धेरै स्मरण छन् । तर, हिजोआज खाना बनाउँदा निकै ध्यान दिएर बनाउने गरेको छु । खाना बनाउँदा आफूलाई पूर्ण रूपमा त्यसैमा केन्द्रित गर्ने गरेको छु । कानमा एयरफोन लगाएरर गीत सुन्दै खाना बनाउन धेरै रमाइलो लाग्छ ।

खाना बनाउने काम काम सब्जीमण्डीबाट सुरु हुन्छ, मेरो । चितवनमा शुक्रबार र सोमबार लाग्ने मण्डी जाँदा अलौकिक आनन्द हुन्छ । हरियो सागपात, सब्जीलगायत तरकारी देखेपछि गहिरो खुसी लाग्छ । तर्कारीको ताजापन, रङ र वासनाले लठ्याउँछ मलाई । म एकसाथ धेरै प्रकारको मौसमअनुसारका सब्जी किन्छु । साग प्रायः छुटाउँदिन । 

बिदाको समय गाउँ जाँदा पनि म किचनमा व्यस्त नै हुन्छु । संयुक्त परिवार भएकाले घरमा धेरै पाहुना आउनुहुन्छ । आएका सबैलाई खाना बनाएर पनि खुवाएको छु । खुवाउन सक्छु । मैले खाना बनाएर खुवाउँदा सबैले राम्रोसँग स्विकार्नुहुन्छ । 

मेरो खानाको सबैभन्दा बढी आमाहरूले तारिफ गर्नुहुन्छ । आमा र सासुआमा दुवैले । मैले बनाएको खाना एकदम स्वादिलो लाग्छ भन्नुहुन्छ उहाँहरू । सबैले तारिफ गर्नुहुन्छ । आफूले मिहिनेत गरेर बनाएको खानाको तारिफ पाउँदा खुसी नहुने त कुरै भएन ।

भनिन्छ– भोजनभन्दा भोक मीठो हुन्छ । मलाई खानामा सबैभन्दा मनपर्ने बिर्यानी हो । ट्रेनमा हिँड्दा वा अन्य बिर्यानी पाउने ठाउँ भएमा म त्यही खान रुचाउँछु, अन्य खानेबारे सोच्दै सोच्दिनँ । खास बिर्यानी बनाउने तरिका नजाने पनि आफ्नै ढंगले बनाउने गरेको छु । जसका लागि बोनलेस कुखुरा वा खसीको मासुमा बनाउँछु । प्याज, अदुवा, लसुनलगायतका चिजसँगै टमाटर अत्यधिक प्रयोग गर्ने गरेको छु ।

सकेसम्म बास्नादार चामलको प्रयोग गरेर बिर्यानी बनाउँछु । केराउ वा राजमाको दाना भएमा झन् मीठो हुन्छ । भेज बिर्यानी बनाउन मन लाग्दा पनि ननभेजजस्तै गरेर बनाउँछु । मासुको साटो आलु वा बन्दागोभी प्रयोग गर्छु । कहिलेकाहीँ साग पनि प्रयोग गर्न सकिन्छ । तर, बिर्यानी बनाउँदा धनियाँलाई भुल्नु हुँदैनजस्तो लाग्छ ।

खानाका लागि बिर्यानी धेरै मन परेजस्तै खाजाका लागि भने मःम मन पराउँछु । ठेलामा बेच्ने गरेको ‘स्ट्रिट मःम’ खाँदाको अनुभव अनुपम लाग्छ ।

एकपटक काठमाडौं आएको वेला पिके क्याम्पस पुगेको थिएँ । साथी भूपेन्द्र खड्काले खाजा के खाने भनेर सोध्यो । म भएको ठाउँमा ‘स्ट्रिट मःम’को बास्ना आइरहेको थियो । मैले ‘स्ट्रिट मःम’ खाने भनेपछि उसले कुमारी हलको छेवैमा रहेको मःम पसलमा लग्यो । त्यहाँ, दुई प्लेट मःम खाएँ । 

गुलियो खानेकुराबाहेक मलाई प्रायः सबै खानेकुरा मनपर्छ । केही समय अमेरिका रहँदा भटमास र सुकुटी धेरै नै ‘मिस’ गरेको थिएँ । साग त झन् काँचै खाऊँजस्तो लाग्छ । होटलमा साग राम्रोसँग नपखालेको जस्तो लाग्छ । त्यसैले, आफैँले पकाएर खान्छु । होटलमा साग खान मन लाग्दैन ।

  • प्रकाशित मिति : मंसिर १, २०७५ शनिबार ६:५८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया