श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि रोमानियाका नवनियुक्त राजदूत डेनियला सेजोनोभ टेनले शिष्टाचार भेट गरेका छन् ।
मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल–रोमानियाबीचको आपसी सम्बन्ध र द्दिपक्षीय चासोबारे छलफल भएको थियो ।
सो अवसरमा श्रममन्त्री श्रेष्ठले रोजगारीका लागि रोमानिया जान चाहने नेपालीहरुले भिषा आवेदनका लागि भारतको नयाँ दिल्ली जानुपर्ने बाध्यता रहेकोले नेपालबाटै हुने गरी सहजीकरणको लागि समन्वय गर्न आग्रह गरेका थिए ।
मन्त्री श्रेष्ठले नेपालबाट रोमानिया जाने नेपालीको संख्या बढिरहेको चर्चा गर्दै रोमानियामा उपलब्ध रोजगारीप्रति नेपालीको चासो बढेको जनाए ।
नेपालले द्विपक्षीय श्रम सम्झौताको मस्यौदा तयार गरी रोमानिया सरकारलाई हस्तान्तरण गरेको स्मरण गर्दै मन्त्री श्रेष्ठले प्रस्तावित मस्यौदाप्रति आएको सकारात्मक प्रतिक्रियाका लागि धन्यवाद दिएका थिए ।
पछिल्लो पाँच बर्षमा मात्र श्रम स्वीकृति लिएर रोमानिया जाने नेपालीको संख्या ७ हजार ६ सय १८ जना रहेको छ । नेपाल र रोमानियाबीच सन् १९६८ मा द्विपक्षीय कुटनीतिक सम्वन्ध स्थापना भएको थियो ।
राजदूत डेनियलाले रोमानिया सरकार नेपालसँग सहकार्य गर्न तयार रहेको बताएका थिए । नवनियुक्त राजदूत डेनियला राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउन नयाँदिल्लीबाट काठमाडौं आएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।