एमाले महाधिवेशनमा ८ विदेशी पार्टीबाट १५ जना पाहुना आउने

नेकपा(एमाले)को दशौं राष्ट्रिय महाधिवेशनमा एमालेको निमन्त्रणा स्वीकार गरी ८ वटा विदेशी पार्टीका १५ जना पाहुनाहरू उपस्थित निश्चित भएको छ ।

महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार नेकपा(एमाले) विदेश मामिला विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरी भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाबाट ८ वटा पार्टीका १५ जना पाहुनाहरू महाधिवेशनमा उपस्थित हुने निश्चित भएको बताएको हो ।

यसका साथसाथै २५ वटा देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश प्राप्त भएको एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले जानकारी दिए ।

विदेशी पाहुनाहरूलाई काठमाडौंमा रहँदा होटल सोल्टीमा बसोबासको व्यवस्था गरिएको र मंसिर ९ गते (बिहीवार) साँझ एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले रात्रिभोजको आयोजना गरेको जनाइएको छ । विदेशी पाहुनाहरूले महाधिवेशनको उद्घाटन सत्रमा सहभागिता जनाउँदै शुभकामना पनि दिने अतिथि सत्कार समितिले जानकारी दिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले विदेशी पाहुनाहरूलाई मंसिर १२ गते बिहान चितवनमा संयुक्त ब्रेकफाष्ट मिटिङ गर्ने कार्यसूची रहेको छ । अतिथि सत्कार समितिका अनुसार चितवनमा रहँदा पाहुनाहरूलाई ग्रिन मेनसन जंगल रिसोर्टमा बसोबासको व्यवस्था मिलाइएको छ । त्यसैगरी स्थानीय पर्यटकीय क्षेत्रको भ्रमण गराउनुका साथै जीप सफारी र थारु सांस्कृतिक प्रदर्शनीको अवलोकनसमेत गराइने भएको छ ।

महाधिवेशनमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सात वटा राजनीतिक दललाई निमन्त्रणा गरिएको भए पनि हालसम्म प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कार्यक्रममा सहभागि हुने जानकारी गराउनुभएको एमाले दशौं राष्ट्रिय महाधिवेशन अतिथि सत्कार समितिले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १६:५०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया