आन्दोलनरत राजर्षि जनक विश्वविद्यालयका कन्ट्रयाक्ट शिक्षक पक्राउ

जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका पेपर (कोर्ष) कन्ट्रयाक्ट शिक्षकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

विश्वविद्यालयमा तालाबन्दी गर्ने क्रममा प्रहरी र आन्दोलनरत शिक्षकबीच तनाब भएपछि प्रहरीले हस्तक्षेप गरी ११ जना शिक्षकहरूलाई पक्राउ गरेको हो ।

तालाबन्दी खुलाउन गएको प्रहरीलाई आन्दोलनरत शिक्षकहरूले अवरोध गर्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

शिक्षकहरूद्वारा विश्वविद्यालयमा गरिएको तालाबन्दी प्रहरी प्रशासनले फोडेर आफूहरूमाथि दुर्व्यवहार गरिएको राजर्षि जनक विश्वविद्यालयका पेपर (कोर्ष) कन्ट्रयाक्ट शिक्षक संघका सचिव रविकुमार राजले बताए ।

उपकुलपति भरत झाको कार्यकाल अन्त्य हुन लागेको बेलामा आफ्नो हरहिसाब मिलाउन जबर्जस्ती शिक्षकहरूको आन्दोलनमा दमन गरिएको उनले बताए ।

विश्वविद्यालयका शिक्षकहरू विगत लामो समयदेखि आन्दोलन गर्दासमेत व्यवस्थापन पक्षले माग सम्बोधनका लागि कुनै चासो नदेखाएको उनले आरोप लगाए ।



करार नियुक्तिको माग गर्दै गत साउन २४ गतेदेखि २९ गतेसम्म पहिलो चरणमा कालोपट्टी बाँधेर काम गरेका शिक्षकहरू भदौ ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गरेका थिए । आन्दोलनरत शिक्षकहरूको माग व्यवस्थापनले अझै पूरा गरेको छैन ।

शिक्षकहरूले करार नियुक्तिको माग गर्दै लामो समयसम्म सांकेतिक आन्दोलन गरे पनि माग पूरा गर्न कुनै चासो नदेखाइएको भन्दै उनीहरुले उपकुलपतिको कार्यालयमा ताला लगाएका थिए ।



  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १७:३०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया