धनौजी गाउँपालिकाको वडा कार्यालयमा ४ महिनादेखि तालाबन्दी

धनुषाको धनौजी गाउँपालिकास्थित वडा नम्बर–४ को कार्यालयमा स्थानीयवासीले विगत ४ महिनादेखि ताला लगाएका छन् । 

वडामा कामै नभएको योजनामा समेत भुक्तानी भएको देखेपछि स्थानीयले हरहिसाबको माग गर्दै वडा कार्यालयमा ताला लगाएका हुन् ।

धनौजीमा स्थानीय सरकार गठन भएदेखि पहिलो वर्षमा ५० लाख, दोस्रो वर्षमा १ करोड र तेस्रो वर्षमा ९५ लाख तथा चालु आर्थिक वर्षमा २ करोड रुपैयाँको बजेट सिलिङ्ग गरिएको स्थानीय दीपेन्द्रकुमार मण्डलले बताए । तालाबन्दी गरिएको महिनौँ बितिसक्दासमेत आफूहरूको माग सम्बोधन नभएको र ताला खोलाउन पनि कुनै पहल नगरिएको मण्डलले जानकारी दिए ।

छुट्याइएको बजेटअनुसार काम नभएको अर्का स्थानीय सन्तोषकुमार मण्डलको आरोप छ । उनले आधा काम सम्पन्न गरेर पूरै भुक्तानी भइसकेको योजनामा समेत फेरि बजेट छुट्याइएको आरोप लगाए ।

वडामा अनियमितता बढ्दै गएपछि धनौजी गाउँपालिकाका साथै वडाहरूको कामको हरहिसाब सार्वजनिक गर्न गाउँपालिका अध्यक्ष बद्री सिंहलाई ज्ञापनपत्र बुझाए पनि कुनै सुनुवाइ नभएको स्थानीय अशोक मण्डलले बताए । गाउँपालिका अध्यक्षका साथै प्रमुख जिल्ला अधिकारी समेतले चासो नलिएपछि आफूहरूले वडामा ताला लगाएको उनले बताए ।

आफूहरूको माग अबिलम्ब पूरा गरेर ताला खोल्ने वातावरणको निर्माण नगरिए जनप्रतिनिधिहरूलाई जनकारबाहीसमेत गर्ने चेतावनी उनीहरूले दिएका छन् ।



यता वडाध्यक्ष कलिम साफीले उनीहरूको आरोप निराधार रहेको दाबी गरेका छन् । उनले ताला लगाउनेहरूसमेत उपभोक्ता समिति बनाएर काम गरेको दाबी गर्दै काम गरेर पनि भुक्तानी नपाएकाहरूलाई भुक्तानी पाउने वातावरण आफूले बनाएकै कारण आवेगमा आएर तालाबन्दी गरेको प्रतिक्रिया दिए ।

वडाध्यक्ष साफीले तालाबन्दी गत १ महिनादेखि मात्रै रहेको दाबी गर्दै चाँडै ताला खोलाउने वातावरणको निर्माण गरिने जानकारी दिए । महिनौंदेखि गरिएको तालाबन्दीका कारण सेवाग्राहीहरू मारमा परेका छन् ।



  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १८:७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया