कांग्रेस महाधिवेशन : कञ्चनपुरमा रमेश लेखक र एनपी साउदका छुट्टाछुट्टै प्यानल

कञ्चनपुरमा सभापति शेरबहादुर देउवाकै समूहमा रहेका दुई नेताबीच प्रतिस्पर्धा हुने भएको छ । कांग्रेस कञ्चनपुरका नेता रमेश लेखक र एनपी साउद समर्थकबीच नै प्रतिस्पार्धा हुने भएको हो ।

दुवै नेता केन्द्रीय राजनीतिमा सुदूरपश्चिमका प्रभावशाली नेता हुन् । नेपाल विद्यार्थी संघबाट पार्टी राजनीतिमा आएका दुवैजना सँगसँगै प्रतिनिधसभा सदस्य बनेका थिए । २०५६ सालमा भएको संसदीय निर्वाचनमा पहिलोपटक लेखक कञ्चनपुर क्षेत्र नम्बर ३ बाट र साउद २ बाट सांसद बनेका थिए । 

लेखक जिल्ला कार्यसमितिको सचिव भइसकेका नेता हुन् । पछि कांग्रेसबाट टिकट पाएपछि उनले जिते भने नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका साउदले पनि पार्टीभित्र राम्रो पृष्ठभूमि बनाएका छन् । देउवा सभापति भएपछि पार्टीमा यी दुवै नेता केन्द्रीय सदस्य पनि भइसकेका छन् ।

पहिलो संविधानसभामा देउवा कञ्चनपुरबाट चुनाव लडेपछि उनीहरू त्यतिबेला उठेनन् । २०७० को चुनावमा उनीहरू दुवैले जिते । दुवैजनालाई सभापति देउवाले केन्द्रीय सरकारमा मन्त्री बन्ने अवसर पनि दिइसकेका छन् ।

२०७४ को आम निर्वाचनमा भने दुवैजना पराजित भए । त्यसबेला पनि लेखक कञ्चनपुर–३ र साउद २ बाट चुनाव लडेका थिए  । 

अहिले महाधिवेशनमा राष्ट्रिय राजनितिमा आफ्नो प्रभुत्व देखाउन उनीहरू आपसमै लडिरहेका छन् । जिल्लामा वडा तहदेखिका अधिवेशनमा साउद र लेखकका गुटबीच प्रतिस्पर्धामा देखिएको छ । 



महाधिवेशनमा विभिन्न तहका चुनावमा कञ्चनपुरको क्षेत्र नम्बर ३ मा लेखक पक्षका मान्छे बढी आएका छन् । यस्तै, कञ्चनपुर–२ मा साउदका पक्षका बढी निर्वाचित भएका छन् । लेखकनिकट मानिने जिल्ला सभापति हरिप्रसाद बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । 

तीन क्षेत्र रहेको कञ्चनपुरमा निर्वाचन क्षेत्र १ मा भने एनपी साउद र दिवानसिंह विष्टले सहमति गरेर लडेकाले लेखक पक्ष कमजोर देखिएको विश्लेषण गरिन थालेका छ । यस क्षेत्रमा साउद पक्षका बढी प्रतिनिधि आएका छन् ।



कांग्रेस कञ्चनपुरको सभापतिमा लेखक पक्षबाट पदम बोगटीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । अघिल्लो महाधिवेशनमा उनी हरि बोहरासँग पराजित भएका थिए । कांग्रेस कञ्चनपुरको सचिव भइसकेका नेता बोगटीको प्यानलबाट उपसभापतिमा वर्तमान सचिव दिवाकर पाण्डे र वर्तमान कोषाध्यक्ष शंकर चन्द लड्ने भएका छन् । यस्तै सचिवमा नेपाल ट्रेड युनियनका सुदूरपश्चिम प्रदेश अध्यक्ष सिद्धराज भट्ट र वर्तमान जिल्ला कार्यसमिति सदस्य जनक धामी तथा सहसचिवमा वर्तमान जिल्ला कार्यसमिति सहसचिव पुस्कल चौधरी र जिल्ला कार्यसमिति सदस्यमा कविराज भट्ट उम्मेदवार बनेका छन् ।

साउदको पक्षबाट जिल्ला सभापतिमा बहादुरसिंह थापाले पनि प्यानलसहित टिम घोषणा गरेका छन् । सदरमुकाम महेन्द्रनगरमा बिहीबार पत्रकार सम्मेलन गरेर थापाले पदाधिकारीको प्यानल घोषणा गरेका हुन् । उनको प्यानलमा उपसभापतिमा हरिशचन्द्र राना र मीनबहादुर सिंह, सचिवमा भीमराज भट्ट र हेमराज ओझा छन् । यस्तै, सहसचिवमा नाफुसिंह साउद र हरिप्रसाद अधिकारीलाई उम्मेदवार बनाइएको छ । 

संविधानसभा सदस्यसमेत रहेका थापाको प्यानललाई कांग्रेस केन्द्रीय सदस्य एनपी साउद र संविधानसभा सदस्य दिवानसिंह विष्टको समर्थन छ । साउद र विष्ट वडा अधिवेशनदेखि नै कञ्चनपुरमा सहकार्य गर्दै आएका छन । संविधानसभा सदस्य थापा कांग्रेस कञ्चनपुरका पूर्वसभापति पनि हुन् । उनले २०५७ देखि २०७२ सम्म कांग्रेस कञ्चनपुरको नेतृत्व गरिसकेका छन् । जिल्ला नेतृत्वमा आउनुअघि थापा २०४७ सालदेखि दुई कार्यकाल क्षेत्रीय सभापति थिए ।



यी सबै देउवा पक्षकै मान्छे हुन् । यहाँ देउवानिकटका बीच प्रतिस्पर्धा छ,’ एक नेताले भने । २०७४ को चुनाव हार्नुको कारण पनि एक–अर्कासँगको प्रतिस्पर्धा रहेको कतिपयले विश्लेषण हुन थालेको छ । 

महाधिवेशनका बेला पनि जिल्लाका शीर्ष नेता आपसमा टकराव गर्दा कार्यकर्ता पनि दुई गुटमा विभाजित देखिएका छन् । कतिपयले आगामी चुनावमा पनि यसले प्रभाव पार्नसक्ने बताउने गरेका छन् । लेखकको समूह कञ्चनपुर २ मा ‘क्लिन स्विप’ भएको थियो । 

बोगटीअघि उनले जिल्ला सचिव दिवाकर पाण्डेय र महाधिवेशन प्रतिनिधि खगेश्वर बोहरामध्ये एकजनालाई उम्मेदवार बनाउन चाहेका थिए । तर, दुवैजना संविधानसभा सदस्य थापासँग निर्वाचन जित्न नसक्ने मनस्थिति बनाएपछि नेता लेखकले साउदकै ‘प्रिय पात्र’लाई अघि सारेका हुन् । 

नेता लेखकले सभापतिको उम्मेदवारका रुपमा अघि सारेसँगै नेता साउद र बोगटीबीच चार दशक लामो सम्बन्ध चिसिएको छ । शिक्षा तथा खेलकुद राज्यमन्त्री हुँदा उनले बोगटीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)को केन्द्रीय सदस्य बनाएका थिए । 

कांग्रेसको केन्द्रीय राजनीतिमा सभापति देउवाका विश्वास पात्र मानिने नेताद्वय साउद र लेखक कञ्चनपुरमा आपसमै प्रतिस्पर्धा गर्दै आएका छन् । कञ्चनपुरमा संस्थापनइतर मानिने संविधानसभा सदस्य दिवान विष्टले वडा अधिवेशनदेखि नै नेता साउदलाई सघाउँदै आएका छन् । 

उम्मेदवारी घोषणासभामा केन्द्रीय सदस्य साउदले कञ्चनपुरमा बलियो रहँदै आएको कांग्रेस पछिल्लो समय कमजोर बन्दै गएपछि आफूले थापालाई अघि सारेको बताए । ‘गुटका आधारमा नभई वार्ता, संवाद र छलफलबाट पार्टीलाई एकताबद्ध पार्न बहादुरसिंह थापाको खोजी भएको हो,’ उनले भने, ‘कञ्चनपुरमा कांग्रेसको झण्डा फहराउन बहादुर थापाको आवश्यकता देखियो ।’

एकातर्फ कञ्चनपुरमा भेगीय राजनीति हावी हुने गरेको पनि आरोप लाग्ने गरेको छ । लेखकले ‘डोट्याल’ च्याप्दा साउद ‘बैतडा’नजिक पुगेका छन् । लेखक र साउदको भुमरिमा फसिरहेको कञ्चनपुरको कांग्रेस राजनीतिमा यो खेल अहिले चरम विन्दूमा पुगेको छ । कञ्चनपुरमा शुक्रबार जिल्ला अधिवेशन हुँदै छ ।

  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार २०:१४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया