दुई वर्षको सन्नाटापछि जुर्मुराए फिल्मकर्मी

साताको पहिलो दिन ठूलो तामझामका साथ चलचित्र ‘घुइँचो’को औपचारिक घोषणा गरियो । मंसिरको चिसोमा पिलपिलाउँदो वान पिसले आधा शरीर ढाकेर घोषणा कार्यक्रममा पुगेकी एलिजा गौतमले धेरैको ध्यान खिचिन् । चलचित्रको शीर्ष भूमिकाका लागि अनुबन्धित भएकी एलिजा क्यामराले घेरिइन् । उनको उपस्थिति चलचित्र उद्योग चलायमान भएको संकेत थियो । कोरोना कालपछि सबैभन्दा रंग पत्रकार उपस्थित भएको चलचित्रको कार्यक्रम थियो, यो । 

रामजी दैलेखीको निर्माणमा बन्न लागेको चलचित्र ‘घुइँचो’ दीपेन्द्र लामाले निर्देशन गर्दै छन् । माघबाट छायांकन सुरु हुने भनिएको यो चलचित्रमा एलिजाको जोडीका रुपमा कुन्साङ बमजन देखिनेछन् । कुन्साङको यो डेब्यु चलचित्र हो । 

यता, यसै साता १० वर्षको अन्तरालपछि निर्देशक नवीन सुब्बाले चलचित्रमा फर्किने घोषणा गरे । राजधानीमा भव्य कार्यक्रमको आयोजना गरेर सुब्बाको निर्देशनमा ‘गाउँ आएको बाटो’ नामको चलचित्र बन्ने घोषणा गरे । राई समुदायको कथामा निर्माण हुने यो चलचित्रका लागि  चलचित्र युनिट भोजपुरको ग्रामीण क्षेत्रमा निस्कने तयारीमा छ । चलचित्रमा दयाहाङ राई, पशुपति राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बालगायत कलाकारले अभिनय गर्ने भएका छन् । 

चलचित्र निर्माणमा नेपालका सञ्जु राई, हङकङ बस्ने देवराज राई, बेलायत बस्ने नरहाङ राई र अमेरिका बस्ने भीम राईले सहकार्य गर्ने भएका छन् । चलचित्रको औपचारिक घोषणाका लागि आयोजना गरिएको कार्यक्रममा निर्देशक सुब्बाले चलचित्र छायांकनका लागि अमेरिकाबाट छायांकार झिकाउने तयारी गरिरहेको बताए । आफ्नो सोच नमिल्ने र खर्चले धान्न पनि नसकिने भएकाले अमेरिकाबाट मार्किन कापरोनलाई चलचित्रको दृष्य खिच्न झिकाउने तयारी गरेको उनको भनाइ थियो । 

साताको मध्यतिर लघुफिल्म ‘शुभ सन्ध्या’ निर्माणको घोषणा भयो । समाजमा हुने जातीय विभेद र बढ्दो महिला हिंसाको कथा यो लघु फिल्ममार्फत समाजमै देखाउने तयारीका साथ घोषणा भएको ‘शुभ सन्ध्या’मा सचितराज सेढाईं, निशु आइडु, कृश पौडेल, रिजन खरेललगायत कलाकारले अभिनय गर्नेछन् । अमिर बरालले निर्देशन गर्ने ‘शुभ सन्ध्या’ नारायणी फिल्म्सको ब्यानरमा बन्न लागेको हो । निर्देशक बरालकै कथा रहने फिल्मको पटकथा तथा सम्वाद अंगत श्रेष्ठले तयार पार्नेछन् । 

लामो समय कोरोनाका कारण सुनसान रहेको चलचित्र उद्योग बिस्तारै चलायमान हुँदै गएको छ । चहलपहल सुरु भएको छ । चलचित्र निर्माताले धमाधम फिल्म निर्माणको घोषणा गर्न थालेका छन् । 



झण्डै दुई वर्ष चलचित्र निर्माणको काम भएन । फिल्मका औपचारिक कार्यक्रम भएनन् । बनेका फिल्म पनि प्रदर्शन हुन सकेनन् । यो उद्योगका धेरै प्राविधिक तथा कलाकार बेरोजगार भए । दर्जनजति सिनेमा हल बन्द भए । धेरैको रोजिरोटी खोसियो । कैयौँ कलाकारले जीविकोपार्जनका लागि वैकल्पिक बाटो अपनाए । 

बिस्तारै नयाँ चलचित्र निर्माणको काम सुरु भएपछि मनोरञ्जन उद्योगमा कार्यरत धेरैको मुहारमा चमक फर्किएको छ । सातामै तीन फिल्मको औपचारिक घोषणा भएसँगै फिल्म उद्योग चाँडै पुरानै लयमा फर्किने अनुमान थालिएको छ । 



छायांकनमा जाने तयारी

नयाँ चलचित्र निर्माण घोषणासँगै घोषणा भएर थन्किएका चलचित्र पनि धमाधम फ्लोरमा जान थालेका छन । केही जाने तयारीमा छन् । ‘रत्नपार्क’मार्फत र्यापर भिटेनलाई नायक बनाउने तयारीमा रहेका नवराज गिरी चलचित्र छायांकनको तयारीमा छन् । नवराजकै कथा रहेको ‘रत्नपार्क’मार्फत फिल्म क्षेत्रमा डेब्यु गर्ने तयारीमा रहेका भिटेन उत्साहित छन् । यो चलचित्रमा भिटेनले एक युवाले बाँच्नका लागि गर्ने हरसंघर्ष देखाइने बताइएको छ । 

भिटेनबाहेक अन्य कलाकार भने चल्तीका राख्ने नवराजले बताए । ‘रत्नपार्क’का कलाकारलाई वर्कसपपछि छायांकनमा लैजाने उनको तयारी छ । छायांकनमा निस्कने मिति तय नगर्दै नवराजले फिल्मको रिलिज मिति भने घोषणा गरिसकेका छन् । उनले आगामी दसैँको फूलपातीमा ‘रत्नपार्क’ रिलिज गर्ने योजना रहेको सुनाए । 

मिलन चाम्सको निर्देशनमा बनिरहेको चलचित्र ‘गोर्खा वारियर’पनि बिहीबारबाट छायांकनमा जाने तयारीमा छ । वीर गोर्खालीको कथामा बन्न लागेको यो चलचित्र लन्डन सिने आई प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ । प्रदीप भारद्वाजको लेखन रहेको यो चलचित्रमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, विजय लामा, बुद्धि तामाङ, माओत्से गुरुङ, रुपा पुन, कविता आलेलगायत कलाकारले अभिनय गर्दै छन् । चलचित्रको ४० प्रतिशतभन्दा धेरै दृष्य छायांकन भइसकेको छ । छायांकन हुँदाहुँदै रोकिएको चलचित्र पुनः छायांकन हुने भएको हो । 

धमाधम छायांकन

चलचित्र ‘गुञ्जन’को टिम लिएर निर्देशक अष्ट महर्जन दुबई पुगेका छन् । जम्बो टोलीसहित दुबई पुगेका अभिनेता प्रितमराज सेन्चुरी र अभिनेता सिर्पालीले ‘सास चल्छ पल पल तिम्रै मायाको’बोलको गीतमा कम्मर मर्काएका छन् । यो फिल्म दुबईका विभिन्न आकर्षक स्थानमा छायांकन भइरहेको छ । पारिवारिक प्रेम कथा उनिएको चलचित्रमा सारा र प्रितमराजका साथमा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङ्तान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायत कलाकारले अभिनय गरिरहेका छन् । काठमाडौं, पोखरा र जोमसोममा छायांकन सकेर फिल्म युनिट दुबई पुगेको हो । सुनिता शाहीले निर्माण गरेको यो चलचित्रमा अभिनेत्री नीता ढुंगानाको आकर्षक आइटम डान्ससमेत समावेश गरिनेछ । 

चलचित्र ‘बुलाकी’ टिम अहिले डोल्पामा छ । डोल्पाको त्रिपुरा नगरपालिकाको सु गाउँ, लहरालगायत स्थानमा यो चलचित्रको छायांकन भइरहेको छ । लक्ष्मण सुनारको निर्देशन रहेको यो चलचित्र लिएर चलचित्र युनिट तिहारअघि नै डोल्पा पुगेको हो । छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा बनेको ‘बुलाकी’मा नरेन खड्का, सुरक्षा पन्त, नव अभिनेता विराज विष्ट, प्रकाश कँडेल, सरस्वती खत्रीलगायत कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गरिरहेका छन् । शिव ढकालले छायांकन गरिरहेको यो चलचित्रमा श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत सुन्न सकिनेछ । रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढार्इं, धनबहादुर राई, कमल गाउँले, अमित परियार पनि ‘बुलाकी’मा देखिनेछन् । चलचित्र छायांकनको अन्तिम चरणमा छ । 

अर्को चलचित्र ‘काँडेतार’को छायांकन विराटनगरबाट सुरु भएको छ । निर्मातासमेत रहेका निर्देशक नवल खड्काले ‘काँडेतार’मार्फत नेपाल र भारतको सिमानाको कथा भन्ने बताएका छन् । चलचित्रमा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, रवीन्द्ररञ्जन झा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्की, महेश गिरीलगायत कलाकार शीर्ष भूमिकामा देखिनेछन् । यही चलचित्रको सुटिङका लागि कलाकार मुरलीधर मुम्बईबाट नेपाल आएका छन् । 

तोकिए रिलिज डेट

निर्माण सकेर थन्किएका चलचित्रले पनि धमाधम रिलिज डेट तोकिरहेका छन् । निर्देशक सुदर्शन थापाले आफ्नो चलचित्र ‘सम्हालिन्छ कहिले मन’लाई फागुन २७ गते रिलिज गर्ने सार्वजनिक गरिसकेका छन् । चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनले शीर्ष भूमिकामा देखिनेछन् । 

सुदर्शनकै निर्देशन रहेको अर्को चलचित्र ‘म यस्तो गीत गाउँछु २’ माघ १९ गते रिलिज हुने भएको छ । ‘म यस्तो गीत गाउँछु २’मा पल शाह र पूजा शर्माले शीर्ष भूमिकामा देखिँदै छन् । यी दुवै चलचित्र आशा गरिएका चलचित्र हुन् । 

दर्शकले प्रतीक्षा गरेको चलचित्र ‘चपली हाइट ३’ले पनि प्रदर्शन मिति तय गरेको छ । अर्जुन कुमारले निर्माण गरेको यो चलचित्र पुस २ मा प्रदर्शन हुने भएको हो । ‘चपली हाइट ३’ निकेश खड्काले निर्देशन गरेका हुन् । यो चलचित्र २०७६ चैत्र २८ गते प्रदर्शनका लागि तयारी अवस्थामा थियो । तर, कोरोनाका कारण चलचित्र प्रदर्शन स्थगित गरियो । त्यसपछि चलचित्रले प्रदर्शन मिति तोक्न सकेको थिएन । क्राइम थ्रिलर जनरामा बनेको यो चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, अर्पण थापालगायत कलाकारले अभिनय गरेका छन् । ‘चपली हाइट ३’का अघिल्ला दुई सिरिजले नेपाली बक्स अफिसमा सफलताको स्वाद चाखेका थिए । 

चलचित्र ‘चुरीफुरी’ले पनि पुस ९ लाई रिलिज डेट लक गरेको छ । ऋषिराम आचार्यले निर्देशन गरेको यो चलचित्र भने हल सञ्चालनमा आएसँगै प्रदर्शन मिति तोक्ने चलचित्रभित्र पर्छ । कमेडी जनरामा बनेको चलचित्र ‘चुरीफुरी’मा अभिषेक श्रेष्ठ, पूजा पन्त, राजीवजंग बस्नेत, रवीन्द्र झा, शिशिर भण्डारीलगायत कलाकार देखिनेछन् ।

चलचित्र ‘लप्पन छप्पन २’ आगामी फागुन १३ गते महाशिवरात्रिको दिनबाट प्रदर्शनमा आउने भएको छ । निर्देशक मुकुन्द भट्टले दुई महिनाअघि नै यो चलचित्र प्रदर्शन मिति घोषणा गरेका थिए । एक्सन जनरामा निर्माण भएको यो चलचित्र गएको वर्षको महाशिवरात्रि लक्षित थियो । कोरोनाका कारण अघिल्लो वर्ष रिलिज हुन नसकेको यो फिल्मले यस वर्ष महाशिवरात्रिको अवसर छोपेको छ । चलचित्रमा अर्पण थापा, सौगात मल्ल, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, शिव श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन् । 

दर्शकले प्रतीक्षा गरेको अर्को चलचित्र ‘ए मेरो हजुर ४’ले पनि चैत २५ लाई रिलिज डेट पक्का गरेको छ । झरना थापाले निर्देशन गरेको यो चलचित्र सुनीलकुमार थापाले निर्माण गरेका हुन् । यो चलचित्रमा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत शीर्ष भूमिकामा देखिनेछन् । 

चलचित्र ‘चिसो मान्छे’ आगामी वर्षको वैशाख ३ गतेलाई प्रदर्शन मिति पक्का गरेर प्रचारमा निस्किएको छ ।  दीपेन्द्र के. खनालको लेखन तथा निर्देशन रहेको ‘चिसो मान्छे’मा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल शीर्ष भूमिकामा देखिनेछन् । 

लगभग दुई वर्षदेखि सन्नाटा छाएको फिल्म उद्योग बिस्तारै चलायमान हुँदै गएको छ । 

  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार २०:४६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया