ए डिभिजन लिग : पहिलो चरण सकिँदा उत्कृष्ट प्रदर्शन गर्ने चार टोली

सहिद स्मारक ए डिभिजन लिगको भोलिबाट दोस्रो चरणको खेल सुरु हुँदै छ । प्रतिस्पर्धात्मक र रोचक रहेको पहिलो चरणका खेलमा यस पटक केही फरक दृश्य देख्न पाइयो । केही बलिया टोलीको पनि पसिना छुट्यो ।

लिगको पहिलो चरणको ७ खेलहरू सकिँदा कुन टोली कति बलिया र कति लयमा छन् भन्ने अनुमान लगाउन सक्ने भएको छ । खेलाडीको प्रदर्शनले कुन टोलीले कति लामो यात्रा तय गर्ला भन्ने पनि अड्कल काट्न सक्ने भएको छ ।

केही टोलीलाई रेलिगेसनमा पर्ने हो कि भन्ने चिन्ताले पनि सताउन थालेको छ । केही टोलीले आफ्नो पुरानो साख जोगाए त कुनै टोली यस वर्ष राम्रो प्रदर्शन गरेर उदाउने तयारीमा छन् ।

विभागीय टोलीको फितलो प्रदर्शन

विभागीय टोलीमा विदेशी खेलाडी छैनन् । जसका कारण ती टोलीको खेल केही फितलो देखिएको छ । पहिलो चरणमा विभागीय टोलीका दुई टोली सँगै भिडे भने एपीएफ मध्यमस्तरको ब्रिगेड ब्वाइज क्लबसँग पराजित भयो ।

तीनै विभागीय टोलीको प्रदर्शनले समर्थकको जित्न सकेन । भएका खेलाडी पनि कोही घाइते छन् भने कोही राम्रो खेल्न सक्ने अवस्थामा छैनन् ।



आर्मी गत सिजनको उपविजेता टोली हो । यस वर्ष यो टोलीबाट खेल्ने डिफेन्डर विकास खवास घाइते छन् । उनी अझै ३ देखि ४ महिना मैदान बाहिर रहने छन् ।

त्यस्तै, टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ पनि लिगअघि मैत्रीपूर्ण खेलका क्रममा चोटग्रस्त छन् । कप्तान भरत खवासले पनि राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।



यस्तै, पुलिस क्लबका फरवार्डले पनि अपेक्षाअनुरुप प्रदर्शन गर्न नसकेको प्रशिक्षक अनन्तराज थापा स्वीकार्छन् ।

अन्य टोलीसँग खेल्नुपर्दा यी विभागीय टोलीले कस्तो प्रदर्शन गर्लान अन्य चरणको खेलबाट थाहा हुने छ । तर, एपिएफले भने मध्यमस्तरको टोलीसँग हार्नुले खेलाडी लयमा छैनन् भन्ने आकलन गर्न सकिन्छ । सदाबहार प्रशिक्षणमा जुटेको विभागीय टोली प्रदर्शनले दर्शकलाई निरास बनाएको छ ।

विदेशी खेलाडीको प्रदर्शनले दरिएका टोली

लिग सुरु हुनुअघि विदेशी खेलाडीलाई क्लबमा भित्र्याउने होड यस वर्ष पनि चल्यो । होड होड मात्रै बनेन विदेशी खेलाडीको प्रदर्शनले टोलीलाई दरो बनाउने काम पनि गर्‍यो । विदेशी खेलाडी भित्र्याएका सबै क्लबहरूले सोचे अनुरूप प्रदर्शन त गर्न सकेनन् तर केही खेलाडीले भने दर्शकको मन जितेका छन् ।

ब्रिगेट ब्वाइजमा आबद्ध ड्याडी जुनियर, रोडी जोन्थनजस्ता खेलाडीले भने मैदानमा सोचे अनुरूप प्रदर्शन गर्न नसकेको भन्ने प्रशिक्षकको गुनासो पनि आयो ।

यता, मोसुके ओलेमोउ, स्टेफेन बिनोङको प्रदर्शनले भने एनआरटीलाई थप दरो बनायो ।

यस वर्ष लिगको पहिलो चरण सकिँदा विशेषतः अफ्रिकन मुलुकका खेलाडीको प्रदर्शनले टोलीलाई निकै राहत दियो । केही खेलाडी त नेपालमा बारम्बार आइरहेका मध्यका पनि छन् भने केही नयाँ अनुहार ।

पहिलो चरणका चार बलिया टोली

पहिलो चरणको खेल सकिँदा १४ टोलीमध्ये चार टोली उपाधि दाबेदार देखिएका छन् । डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब, थ्रीस्टार क्लब, न्युडोड टीम(एनआरटी) र मनाङ मर्स्याङ्दी क्लबले राम्रो प्रदर्शन गरेका हुन् । यी चार टोलीले गत वर्षको भन्दा उत्कृष्ट प्रदर्शन गरेका हुन् ।

मछिन्द्र क्लब

डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब यस वर्ष पनि बलियो देखिएको छ । स्टार खेलाडी भरिएको मछिन्द्र क्लबले आफ्नो पहिलो खेलमा राम्रो प्रदर्शन गर्‍यो । एनआरटीसँग खेलेको मछिन्द्रले  २–१ को नतिजा हात पार्‍यो । खेलाडीको स्थान र खेल्ने तरिकामा पनि केही परिपक्‍व देखियो मछिन्द्रको ।

थ्रीस्टार क्लब

छिमेकी प्रतिद्वन्द्वी रहेको च्यासल युवा क्लबलाई पराजित गर्दै थ्रीस्टार क्लबले लिगमा विजयी सुरुवात गर्‍यो । राष्ट्रिय टोलीमा खेलेका खेलाडी र विदेशी खेलाडीको संयोजन मिल्दा थ्रीस्टारले सेट पिसमा सबै गोल गर्दै ३–० को जित दर्ता गर्‍यो । टोलीका प्रशिक्षक पनि आफ्नो टोलीको प्रदर्शनले सन्तुष्ट देखिन्थे ।

मनाङ मर्स्याङ्दी क्लब

मनाङ मर्स्याङ्दी क्लबले हालसम्म ८ पटक ए डिभिजन लिगको उपाधि जितिसकेको छ । यस लिगको उपाधि आफ्नो नाममा दर्ता गराइ नवौं पटक उपाधि चुम्ने दाउमा छ मनाङ । यस वर्ष यस टोलीमा रहेका विदेशी तथा स्वदेशी स्टार खेलाडीले प्रदर्शन राम्रो देखिएको छ ।

न्युरोड टिम (एनआरटी)

एनआरटीले डिफेन्डिङ च्याम्पियन मछिन्द्रसँग हार बेहोरे पनि प्रदर्शन नराम्रो भने पक्कै थिएन । गत वर्ष मध्यम टोली भनेर चिनिएको एनआरटीले यस वर्षको पहिलो चरणमा भने आफ्नो राम्रो छाप छोडेको छ । युवा खेलाडीको जोश र विदेशी खेलाडीको प्रदर्शन अनि अनुभवी प्रशिक्षक राजु काजी शाक्यको मेहनतको फलस्वरूप एनआरटीको हाइप बढेको हो ।

  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार २०:४६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया