खोप सहजीकरणबारे ७७ वटै जिल्लाका प्रजिअसँग स्वास्थ्यमन्त्रीको छलफल
फरकधार / ९ मंसिर, २०७८

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग खोप सहजीकरणबारे छलफल गरेका छन् । बिहीवार स्वास्थ्यमन्त्री खतिवडाले देशभरका सबै जिल्लामा कोरोनाबिरुद्धको खोप अभियानको हालको विवरणबारे जानकारी लिएका हुन् । 



प्रमुख जिल्ला अधिकारी र विभिन्न स्वास्थ्य विभागका अधिकारीको ब्रिफिङपछि मन्त्री खतिवडाले स्थानीय स्वास्थ्य निकायहरुमा जिल्लास्तरीय, प्रदेशस्तरीय स्वास्थ्य निकायहरुसँग समन्वय गरी चाँडै वडाअध्यक्ष र गाउँ पालिकाका प्रमुखलाई बोलाएर छलफल गर्न आग्रह गरे । उनले गाउँहरुबाट कोरोनाविरुद्धको खोप लगाएको तथ्यांक आउन नसकेकोले उक्त तथ्यांक उपलब्ध गराउन यसले सहयोग गर्ने बताए । 

कोरोनाविरुद्धको खोप लक्षित समुदायमा पुर्याउन स्थानीय रुपमा योजना बनाएर लागू गर्न मन्त्री खतिवडाले प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरे । उनले प्रदेश र स्थानीय तहमा भण्डारण गरिएको कोरोनाविरुद्धको खोपको मात्रा अपुग भए तत्काल केन्द्रीय सरकारसँग माग गर्न आग्रह गरे । 

मन्त्री खतिवडाले प्रमुख जिल्ला अधिकारीहरुलाई कोरोनाविरुद्धको खोप गाउँ तहसम्म पुर्याउन नयाँ किसिमले सोच्न आग्रह गर्दै जिल्लामा भएका स्वास्थ्य केन्द्रबाट बार अनुसार नभई नियमित खोप सञ्चालन गर्न निर्देशन दिए । उनले विभिन्न पार्टीले आयोजना गरिरहेका महाधिवेशन स्थलमा धेरै मानिस जम्मा हुने भएकोले उक्त स्थानमा गएर पनि खोप डेस्क सञ्चालन गरी जनतासमक्ष खोप पुर्याउन आग्रह गरे । मन्त्री खतिवडाले गाउँ–गाउँका जनतालाई खोप लगाउन आउँदो निर्वाचनमा तोकिएका निर्वाचन स्थलमा खोप केन्द्र सञ्चालन गर्नुपर्ने पनि बताए । 



सरकारले अब १८ वर्षभन्दा माथिका कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालिसकेको छ । यस्तै खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गई खोप लगाउन सरकारले आह्वान पनि गरेको छ । 

अहिलेसम्म कुल जनसंख्याको ३० प्रतिशतलाई पहिलो मात्रा र २६ प्रतिशत जनसंख्यालाई दोस्रो मात्राको खोप प्रदान गरिएको छ । सरकारले आगामी पुस मसान्तभित्र दुईतिहाइ र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ ।

  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार २१:१:२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया