विमलेन्द्र, शशांक र प्रकाशमानबीच भएको समझदारी के हो ?

नेपाली कांग्रेसको १४औं महाधिवेशनको माहोल बन्न थालेपछि अन्य नेताहरूको भन्दा बढी भेटघाट विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच भएको छ । उनीहरू अहिले पनि निरन्तर सम्वादमा छन् ।

यसबीचमा उनीहरूको ‘लन्च मिटिङ’ चर्चित भयो । कतिपयले लन्च मिटिङलाई ‘फेसन’ को रूपमा अर्थ्याए पनि ।
 
सभापति पदका उम्मेदवार निधिले बिहीबार काठमाडौंमा ‘प्रतिबद्धता र योजना’ सार्वजनिक गर्दै तीन नेताबीच सातपटक लन्ज मिटिङ भएको सुनाए । उनले भने, ‘डा. शेखर कोइरालाजीसँग दुईपटक लन्च मिटिङ भयो ।’

उनीहरूको मिटिङ खान खाना लागि मात्रै भएको भने पक्कै होइन । हो त - एकताबद्ध भएर चुनाव लड्न ।

बिहीबार निधिले व्यक्त गरेको विचारलाई आधार मान्दा भने उनीहरूबीच एकताबद्ध भएर चुनाव लड्ने सम्भावना झिनो छ । 

‘पदमा समझदारी भएको अहिले पनि छैन । पदमा समझदारी नहुँदा पनि पार्टी र देशको नीति र कार्यक्रममा समझदारी छ । त्यो सबभन्दा महत्त्वपूर्ण कुरा हो । हामीहरूबीच अहिले त्यस्तै सहमति भएको छ’, निधिले भने । 

उनका अनुसार पदीय समझदारीको विषयमा हुन चाहिँ छलफल भइरहेको छ । जसलाई उनले ‘विस्तृत र गम्भीर सम्वाद’ भनेका छन् । तर, महाधिवेशनको कार्यतालिकाअन्तर्गत मनोनयन दर्ता गर्नुपर्ने १२ दिन बाँकी छँदासम्म पदीय समझदारी हुने र समीकरणको छनक देखिएको छैन । 
यद्यपि, उनीहरूबीच लन्च मिटिङको क्रममा एउटा साझा दृष्टिकोण बनेको निधिले खुलाए । त्यो हो- १३ औं महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने नेताहरूले आसन्न १४ औं महाधिवेशनमा प्रतिस्पर्धा नगरुन् ।



१३ औं महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच प्रतिस्पर्धा भएको थियो । यी तिनै जना नेताहरू निर्वाचन नलडेर पार्टी र देशको अभिभावकीय भूमिकामा रहन सुझाउनेमा उनीहरूको एकमत हो । यसो भनिए पनि विमलेन्द्र, शशांक र प्रकाशमान आपसमा मिल्न सक्ने स्थिति छैन । त्यसका तीन कारण छन् । 

पहिलो- शशांक देउवालाई सहयोग गरेर अघि बढ्न तयार छन् । कारण, १३ औं महाधिवेशनमा कोइरालाको जितमा देउवाको भूमिका रह्यो । ठीक उल्टो देउवालाई छाडेर यसैपटक विमलेन्द्र अलग भएका हुन् । प्रकाशमान भने अलिक अघि अलग भएका हुन् ।
 
दोस्रो– पार्टी वरियतामा तुलनात्मक रूपमा विमलेन्द्र माथि छन् । त्यसपछि शशांक । उनी महामन्त्री हुन् । प्रकाशमान पनि अघिल्लो कार्यकालमा महामन्त्री थिए । यसरी पार्टीको पदाधिकारीमा रहेका यी नेताहरूको पार्टीमा मात्रै होइन, राष्ट्रिय राजनीतिमा प्रभाव छ । त्यही भएर उनीहरू एकसेएक सभापति पदमा लड्न तयार छन् । फेरि, पद प्रतिष्ठा मात्रै नभई शक्ति पनि हो । शक्तिशाली हुन उनीहरूको चाहना छ । 



जो विमलेन्द्रबाट बिहीबार व्यक्त भयो । ‘तपाईंहरू (पत्रकार)ले केन्द्रीय समिति बैठकमा मैले भनेको कुरालाई छाप्नुहुन्न । सभापतिजीले भन्नुभएको मात्रै छाप्नुहुन्छ । त्यसले गर्दा म यसपटक सभापति नै बन्छु । नेतृत्वदायी भूमिकामा रहन्छु ।’

यो अर्थमा तीन नेताले एकले अर्कोलाई नेता मान्नेवाला देखिएको छैन । त्यसो भएपछि जतिपटक लन्च मिटिङ गरे पनि अर्थपूर्ण हुने सम्भावना न्यून छ ।

तीनै जना पुत्र, जुनियर शशांक

सभापति पदमा हालसम्म दाबेदार रहेका शशांक विमलेन्द्र र प्रकाशमानभन्दा ‘जुनियर’ हुन् । चिकित्सा पेशा छाडेर सक्रिय राजनीतिमा आएको डेढ दशक भयो । उनी कांग्रेसको संस्थापक तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाका पुत्र हुन् ।

१२ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका उनी १३ औं महाधिवेशनमा महामन्त्री निर्वाचित भएका हुन् । 

तर, कांग्रेसका संस्थापक तथा पहिलो जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंह पुत्र प्रकाशमान र पार्टीका पूर्वमहामन्त्री महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र भने पाँच दशकदेखि राजनीतिमा सक्रिय छन् । नेपाल विद्यार्थी संघ हुँदै पार्टीको केन्द्रीय राजनीतिमा दुवैको प्रवेश नवौं महाधिवेशनदेखि भएको हो । यस आधारमा विमलेन्द्र र प्रकाशमान सिनियर हुन् । 

  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार ७:१०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया