कोरोना महामारीले करिव दुई वर्ष आफ्नो अन्तर्राष्ट्रिय नाका बन्द गरेका विश्वका अधिकांश देशहरू विस्तारै खोल्दै छन् । कोरोना खोप लगाउनेको संख्या बढेसँगै नाका खुला गर्ने क्रम बढेको हो ।
कोरोना महामारीबाट देशहरू विस्तारै तङ्ग्रँदै गर्दा विश्व बजारमा चहलपहल बढेको छ, जसले पेट्रोलियम पदार्थको माग ह्वात्तै बढाएको छ ।
माग बढेसँगै अहिले पेट्रोलियम पदार्थको मूल्य विश्वभर उकालो लागिरहेको छ । मूल्यवृद्धि हुँदा नेपालजस्ता गरिव देश झन् मारमा परेका छन् । मूल्यवृद्धिका कारण नेपाल लगायतका देशमा प्रदर्शन भइरहेका छन् ।
यसैबीच अमेरिकाले मंगलबार महत्वपूर्ण घोषणा गरेको छ जसले विश्व बजारमा पेट्रोलको मूल्य कम गर्ने आशा जगाएको छ । अमेरिकाले मंगलबार आफ्नो ‘रणनीतिक भण्डार’बाट ५ करोड ब्यारल कच्चा तेल जारी गर्ने घोषणा गरेको छ । यसबाट धेरैलाई राहत मिल्नेछ ।
अमेरिकी यस घोषणाको प्रभाव केवल अमेरिकामा मात्र पर्ने छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीन, जापान, बेलायत, भारत र दक्षिण कोरिया जस्ता ठूलो अर्थव्यवस्था भएका देशलाई पनि यसै गर्न मनाएका छन् ।
पछिल्लो डेढ वर्षयता तेल उत्पादक देशहरूको संगठन (ओपेक) का सदस्य राष्ट्र तथा रुस (सबैलाई मिलाउँदा) ‘ओपेक प्लस’ बीच एक सम्झौता भएको थियो । सोही अनुसार उनीहरूले तेल उत्पादनमा नियन्त्रण गरिरहेका छन् ।
कोरोनाका कारण अधिकांश देश लकडाउनमा जाँदा तेलको माग कम भएको थियो । बजारमा तेलको माग कम भएपछि तेलको मूल्यमा निरन्तर गिरावट आइरह्यो त्यसपछि कच्चा तेल उत्पादक प्रमुख राष्ट्रहरूले तेलको मूल्य वृद्धि गर्नको लागि बजारलाई नियन्त्रणमा राख्ने प्रयास गर्दै आएका छन् ।
अमेरिकाले ओपेक सदस्य राष्ट्रमा कोरोना महामारीको असर कम हुँदै गएपछि तेल उत्पादन बढाउन आग्रह गरेको थियो । उसले ओपेक सदस्य राष्ट्रलाई मनाउने प्रयास धेरैपटक गर्यो । उनीहरूले अमेरिकाको अनुरोध अस्विकार गर्दै भने, ‘हामी विस्तारै सीमित मात्रामा तेल उत्पादन बढाउँछौँ ।’
विश्लेषकका अनुसार अमेरिकी सरकारले अहिलेको अवस्थामा ओपेक राष्ट्रले सिर्जना गरेको चुनौतीको सामना गर्न जुन फैसला गरेको छ त्यो अभूतपूर्व छ । रणनीतिक भण्डारमार्फत तेलको मूल्य घटाउने अमेरिकी प्रयासले ओपेक सदस्य राष्ट्र र अमेरिकाबीच तनाव बढाउन सक्ने विश्लेषकहरूको आँकलन छ ।
तेलको आपतकालीन भण्डार
अमेरिकाले ‘रणनीतिक पेट्रोलियम भण्डार’ अरब-इजरायल युद्धको दुई वर्षपछि सन् १९७५ मा बनाएको थियो । उक्त युद्धमा पश्चिमी देशले इजरायलको समर्थन गरेका थिए । इजरायललाई समर्थन गरेको भन्दै अरब देशले पश्चिमी देशलाई तेल बिक्री गर्न रोके, जसले ठूलो आर्थिक संकट उत्पन्न गरेको थियो ।
सन् १९७४ मा कच्चा तेलको मूल्य चौगुना बढेको थियो । मूल्य वृद्धिले अमेरिकामा तेल संकट निम्तियो । त्यसपछि अमेरिकाले तेल बजारमा हुने उतार–चढाव तथा आपूर्तिमा हुने अवरोधबाट बच्न तेलको रणनीतिक भण्डार स्थापना गर्ने निर्णय लिएको थियो ।
अमेरिकाको सिको गर्दै ठूला र शक्ति राष्ट्रले पनि तेल भण्डारण गर्न सुरु गरेका थिए । अमेरिकाको रणनीतिक भण्डार संसारकै सबैभन्दा ठूलो मानिन्छ जसको क्षमता ६२ करोड ब्यारल रहेको छ । यसलाई बैटन रुज (लूसियाना) र लेकर फ्रीपोर्ट (टेक्सास) बीच निर्माण गरिएको छ ।
विगतमा अमेरिकाले आपतकालीन भण्डारको सहारा धेरै पटक लिएको छ । सन् १९९१ को खाडी युद्ध र २००५ को क्याट्रीना आँधीको समयमा अमेरिकाले रणनीतिक भण्डारमा राखेको कच्चा तेल प्रयोगमा ल्याएको थियो ।
अमेरिकाले यसअघि कच्चा तेलको आपूर्ति प्रभावित हुँदा मात्र रणनीतिक भण्डारमा रहेको तेल झिक्ने गरेको थियो । तर यसपटक त्यस्तो परिस्थिती नआउँदै अमेरिकाले तेल झिक्ने निर्णयमा पुगेको छ ।
‘यो एकदमै असामान्य कदम हो । अमेरिकाले पहिला तेल आपूर्तिमा अवरोध आउँदा मात्र रणनीतिक भण्डारमा रहेको तेल प्रयोग गथ्र्यो,’ युरोशिया ग्रुप कन्सल्टेन्सीमा उर्जा सम्बन्धि प्रबन्ध निर्देशक राद अल कादिरीले भने ।
अमेरिकाले पछिल्लो पटक सन् २०११ मा लिबियामा गद्दाफी शासनको अन्त भएपछि तेल निर्यात रोकिँदा रणनीतिक भण्डारलाई प्रयोगमा ल्याएको थियो ।
‘अमेरिकाले त्यस्तो बेला मात्र रणनीतिक भण्डारको प्रयोग गर्छ जति बेला उ अप्ठेरोमा पर्छ । तर मूल्य घटाउने उद्देश्यले यति ठूलो मात्रामा भण्डारबाट तेलको निकासी यसअघि कहिल्यै गरेको थिएन,’ कादिरीले भने ।
महँगी कम गर्ने प्रयास
अमेरिकाले यस्तो कदम सन् २००८ मा उठाएको थियो जतिबेला तेलको मूल्य प्रति ब्यारल १५० अमेरिकी डलर पुगेको थियो । अहिले तेलको मूल्य प्रति ब्यारल ८० अमेरिकी डलरभन्द केही बढी छ ।
अहिले बाइडेन प्रशासनको नजर अन्य आँकडामा पनि छ । ह्वाइट हाउसले एक विज्ञप्तिमार्फत भनेको छ, ‘अमेरिकी उपभोक्ता ग्यास स्टेसनको साथसाथै आफ्नो घरमा हीटिङ बिल तथा व्यवसायमा परेको तेलमा भएको मूल्यवृद्धिको असर महसुस गरिरहेका छन् । किनकी माहामारीपछि बढ्दो मागअनुसार तेलको आपूर्ति बढेको छैन ।’
अमेरिकामा गत मंगलबार पेट्रोलको औसत मूल्य ३.४० अमेरिकी डलर प्रति ग्यालन थियो । पछिल्लो एक सातामा यसको मूल्य ६२ प्रतिशतले बढेको थियो । एक वर्षअघि यसको मूल्य मात्र २.११ डलर थियो ।
अमेरिका जस्तो देशमा जहाँ तेल उर्जाको प्रमुख स्रोत मानिन्छ त्यहाँ मागअनुसार आपूर्ति नबढ्दा ठूलो समस्या आउने गर्छ । अमेरिकाले आफ्नो कुल उर्जा आवश्यकतामध्ये लगभग ३५ प्रतिशत तेलबाट पूरा गर्दै आएको छ ।
तेलमा मूल्यवृद्धि हुँदा अमेरिकामा महँगीसमेत बढेको छ । अमेरिकामा गत वर्षको अक्टोबरदेखि हालसम्म महँगी ६.२ प्रतिशतले बढेको छ । अमेरिकामा महँगीको यो आँकडा पछिल्लो ३० वर्षयता सबैभन्दा बढी हो ।
अमेरिकी राष्ट्रपति बाइडेनले मंगलबार जारी गरेको आफ्नो सन्देशमा भनेका छन्, ‘आज हामी तेलको मूल्य कम गर्न एक ठूलो कदम चाल्न गइरहेका छौं । यो यस्तो प्रयास हो जुन विश्वभर फैलिने छ । यसले ग्यास स्टेसनसम्म तपाईँहरूको पहुँच बनाउने छ।’
बाइडेनको घोषणाको राजनीतिक संकेत
अमेरिकाले रणनीतिक भण्डारमा रहेको तेल प्रयोगमा ल्याउन गरेको घोषणालाई असाधारण मानिएको छ । यो झन् बढी असाधारण तब बन्यो जब अन्य देशले पनि अमेरिकाले जस्तै कदम उठाउन सहमति जनाए ।
तेल उत्पादन नगर्ने देशहरूबीच यस्तो एकता सन् २०११ यता देखिएको थिएन । सन् २०११ मा लिबियामा गद्दाफी शासन अन्त हुँदा रोकिएको तेल निर्यातका बेला यस्तो एकता देखिएको थियो ।
अमेरिकाको यस कदमबाट तेलको मूल्य घट्छ वा घट्दैन, घटे कति घट्छ र त्यो स्थायी हुन्छ वा हुँदैन भन्नसक्ने अवस्था छैन । तर तेलको मूल्य निरन्तर बढिरहँदा अमेरिकाले आफ्नो रणनीतिक भण्डारको तेल प्रयोगमा ल्याउने अनुमान विश्लेषकहरुले गरेका थिए ।
अमेरिकी कदमको वास्तविक प्रभाव दुई चिजमा निर्भर हुनेछ । पहिलो, यो तेल बजारमा कसरी छोडिन्छ र दोस्रो ओपेक प्लस देशको प्रतिक्रिया कस्तो रहन्छ । ‘अमेरिकाले रणनीतिक भण्डारमा रहेको तेल कति छिटो बजारमा आउँछ भन्ने कुराले धेरै अर्थ राख्छ । यदि भण्डारमा रहेको तेल एक साथ बजारमा आयो भने यसले ठूलो प्रभाव पार्छ । तर भण्डारमा रहेको तेल बजारमा आउन समय लाग्ने देखिन्छ,’ कादिरीले भने ।
बाइडेनले तेलको मूल्य घटाउनुभन्दा पनि अन्य उद्देश्यले भण्डारण गरेको तेल झिक्न लागेको बुझाई कादिरीको छ । उनी थप स्पष्ट पार्छन्, ‘तेलको मूल्य कम गर्नभन्दा सरकार समग्रमा महँगी घटाउन लागिपरेको छ भन्ने देखाउन चाहिरहेको छ ।’
तेल मार्फत बाइडेनले आफ्नो र अमेरिकाको प्रभाव विश्वभर बढाउन चाहेको बुझाई उनको छ । यसकारण बाइडेन अन्य देशलाई पनि यस अभियानमा जोड्न चाहन्छन् । अन्तर्राष्ट्रिय स्तरमा नै तेलको मूल्य घटाउन अमेरिकाले प्रयास गरिरहेको सन्देश बाइडेनले दिन खोजेका छन् ।
विश्वका अन्य देश पनि अहिले महँगीको सामना गरिरहेका छन् । उनीहरूले आफ्नो अवस्थामा सुधार ल्याउन अहिले अमेरिकालाई साथ दिन खोजिरहेका छन् । चीनले आफ्नो रणनीतिक भण्डार पहिले नै प्रयोगमा ल्याएको छ । महँगी र अन्य समस्याको सामना गर्न चीनले रणनीतिक भण्डार प्रयोगमा ल्याएको थियो । अहिले चीनले अमेरिकाले यसकारण साथ दिइरहेको छ की उ अमेरिकासँग तनाव कम गर्न चाहन्छ ।
अमेरिकाको तुलनामा अन्य देशले आफ्नो रणनीतिक भण्डारमा रहेको तेलको थोरै मात्रा मात्र प्रयोगमा ल्याउने छन् । बेलायतले १५ लाख ब्यारल, जापानले ४२ लाख ब्यारल तेल आफ्नो रणनीतिक भण्डारबाट झिक्नेछन् ।
बल ओपेक प्लसको हातमा
बाइडेनको पछिल्लो कदमले ‘ओपेक प्लस’ देशसँग तनाव उत्पन्न गर्नसक्छ । ओपेक प्लसले अमेरिकाले कदम चाल्नु अगावै चेतावनी दिएका थिए– ‘अनावश्यक कदम नचाल्नु ।’
यदि कच्चा तेलको ठूला उपभोक्ताले आफ्नो रणनीतिक भण्डारको उपयोग गरे उनीहरुमाथि कारवाही गर्ने चेतावनी समेत ओपेक प्लसले दिएको थियो । अमेरिकाले चालेको कदमले कुनै नतिजा नदिने बुझाई शिकागोको कन्सल्टेन्सी फर्म ‘प्राइम फ्युचर्स’का विश्लेषक पिटर फ्लिनको छ ।
‘इतिहासले देखाइसकेको छ रणनीति भण्डारबाट झिकेको तेलले बजारमा थोरै समय मात्र प्रभाव पार्छ,’ फ्लिन भन्छन्, ‘अमेरिकाको यो कदम ओपेक प्लससँग गरेको तेल युद्धको एक खुला घोषणा हो ।’
अप्रिल २०२० मा ओपेक प्लसका सदस्य देशले एक सम्झौता गरेका थिए । सम्झौतामा बजारमा कच्चा तेलको आपूर्ति विस्तारै बढाउँदै लग्ने उल्लेख थियो । जसअनुसार तेलको आपूर्ति प्रत्येक महिना केवल ४ लाख ब्यारल मात्र वृद्धि हुनसक्छ ।
यो वृद्धि स्वतः हुने छैन । केही प्रक्रिया पुरा गर्नुपर्छ । वृद्धि गर्न आवश्यक रहे/नरहेको मूल्यांकन गरेपछि सरकारको छाप लागेमा मात्र आपूर्ति वृद्धि हुनसक्छ । अन्य अवस्थामा यो वृद्धि रोकिन्छ । पछिल्लो समय आपूर्ति कम हुँदा तेलको मूल्य वृद्धि भइरहेको हो ।
ओपेक प्लस देशलाई चिन्ता यो छ की उनीहरूले तेलको आपूर्ति बढाउँदा आउँदो वर्ष तेलको भण्डार धेरै हुनेछ जसले उनीहरूलाई नै असर गर्नेछ । ओपेक प्लसको बैठक आगामी डिसेम्बरमा बस्दैछ । बैठकले तेलको आपूर्ति बढाउने वा नबढाउने भन्ने तय गर्नेछ । यदि ओपेक प्लसले कच्चा तेलको उत्पादन नबढाउने निर्णय गरे बाइडेनको पहल सही ठहरिने छ । ‘बल अब ओपेक प्लसको हातमा छ,’ कादिरीले भने । (बिबिसी)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।