नेपाललाई सन् २०२५ सम्म हिन्दु राष्ट्र बनाउने भाजपाको अभियान छ : भारतीय कम्युनिस्ट नेता सिंह

भारतीय कम्युनिस्ट पार्टीका नेता जोगिन्दर सिंहले नेपालमा हिन्दु राज्य र संवैधानिक राजतन्त्र ल्याउन गुप्त रूपले अभियान चलिरहको बताएका छन् । एमालेको १०औँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै सावधान रहन सबैलाई आग्रह गरेका छन् ।

यस्तै, उनले भारतको संविधान र लोकतन्त्र पनि खतरामा रहेको बताएका छन् । भारतमा पुलिसराज बनाउन खोजिएको र सरकारविरूद्ध बोल्नेलाई मुद्दा लाएर थुन्ने, धर्मको नाममा विभाजन गराउने काम भइरहेको बताए ।

उनले भने, ‘नेपाललाई सन् २०२५ सम्म हिन्दु राष्ट्र बनाउने भारतीय जनता पार्टी (भाजपा) को अभियान छ । भाजपा फाँसीवादतर्फ तिव्र रूपमा अगाडि बढिरहेको छ।’

उनले भारतमा हुने घटनाले भारत मात्रै प्रभावित नभइ नेपालसहित दक्षिण एसिया नै प्रभावित भइरहेको पनि बताए । उनले भने, ‘आरएसएसबाट नेपालमा विभिन्न फण्ड चलिरहेको छ । दर्जनौं फण्ड चलेको छ । हिन्दु धर्म र संवैधानिक राजतन्त्र ल्याउन गुप्त रूपले अभियान नै चलिरहेको छ । सावधान रहनुस् ।’

दुनियाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई हेरिरहेको र नेपालमा पहिलो पटक कम्युनिस्टलाई दुई तिहाइ मत आएकोमा उनले खुसी व्यक्त गरे। उनले नेपालको कम्युनिस्ट आन्दोलनबाट प्रेरणा मिल्ने गरेको पनि बताए ।

सो अवसरमा उनले अमेरिकी साम्राज्यवाद साउथ एसियामा कम्युनिस्ट समाप्त पार्न चाहने र यसका लागि भारतसमेत उपयोग भएको बताए । उनले भने, ‘महाधिवेशनबाट मजबुत नेतृत्व आओस् । कम्युनिस्ट आन्दोलन एकजुट होस् । कम्युनिस्ट एकता होस् ।’





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १६:७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया