भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाएर जनतालाई समृद्धशाली मुलुकको अधिकारसम्पन्न नागरिक बनाउने अभियानमा माओवादी केन्द्र अगाडि बढिराखेको बताएकी छन् ।
नेकपा माओवादी केन्द्रको मध्यपुर ठिमी नगरसम्मेलनको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी माओवादीकै प्रयासबाट संविधान बनेकाले त्यसको कार्यान्वयनमा पनि माओवादी नै लागि पर्ने बताइन् ।
उनले अग्रगमन र प्रतिगमनबीचको द्वन्द्व अझै बाँकी रहको र थोरै ठाउँ पाउनासाथ प्रतिगमनकारी तत्व फेरि उठ्न सक्ने भन्दै प्रतिगमनको अन्त्यको लागि जनतालाई सचेत बनाउनु पर्ने भन्दै माओवादी केन्द्रको एजेण्डा र पहलबाट स्थापित भएका अधिकारको विषयलाई लिएर नागरिकका घरघरमा जानु पर्नेमा जोड दिइन् ।
मन्त्री श्रेष्ठले जनता अधिकार सम्पन्न भएको मन नपराउनेहरूले संविधान र संघीयतामाथि हमला गरेर संविधानलाई नै मरणासन्न बनाउने गरी सर्वभौम सम्पन्न प्रतिनिधिसभा विघटन गरेको भन्दै माओवादी केन्द्रको नेतृत्वमा नागरिकको साथबाट संविधान र परिवर्तनलाई जोगाउन सकिएको भए पनि चुनौती अझै रहेकाले सवै सचेत बन्नुपर्नेमा समेत जोड दिइन् ।
संविधानको रक्षाको लागि माओवादी केन्द्रले गठबन्धन निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको र संविधान मास्ने प्रतिगामी तत्त्वहरू अझै रहेकाले संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनको अझै आवश्यकता रहेकाले गठबन्धन निर्वाचनसम्म नै जाने पनि मन्त्री श्रेष्ठले बताइन् ।
मन्त्री श्रेष्ठले जसको नीति उसको नेतृत्व हुन नसक्दा संविधान नै नष्ट गर्ने गरी कदम चालिएको भन्दै संविधानको रक्षा र उपलब्धिलाई संस्थागत गर्न माओवादी केन्द्रले मात्रै सक्ने पनि बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।