हृदयाघातकाे प्रमुख कारण धूम्रपान, २३ प्रतिशत बिरामीको अस्पताल नपुग्दै मृत्यु
डा. चन्द्रमणि अधिकारी
फरकधार / ११ मंसिर, २०७८

नसर्ने रोगबाट मर्नेहरूको प्रमुख कारक हृदयाघात हो । सन् २००७ को तुलनामा सन् २०१७ मा आउँदा ४६ प्रतिशतले हृदयाघातका कारण मृत्यु हुने नेपालीको संख्या बढेको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आउने मुटुका रोगीमाथि गरिएको अध्ययनले सन् २०११ देखि सन् २०१५ सम्ममा मुटुको रोग लागेर आउने बिरामीको संख्या ४० प्रतिशतले बढेको पाइएको छ । 



हृदयाघात नै भएर आएका बिरामीको संख्या पनि निकै बढिरहेको छ । सन् २०१२ मा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ४९५ जना हृदयाघात भएका बिरामी आएका थिए । सन् २०१८ मा त्यो संख्या बढेर एक हजार ४६० पुगेको थियो । ६ वर्षको अवधिमा तीन गुणाले बढेको पाइएको थियो । यो गंगालालको मात्र तथ्यांक हो । अन्य अस्पतालमा आउने बिरामीको पनि यस्तै अवस्था हो । सन् २०१८ मा हृदयाघात भएका बिरामीमध्ये ५७ प्रतिशतको कारण धूम्रपान थियो । 
 
प्रत्येक वर्ष १५ हजार हृदयाघात भएका नयाँ रोगी फेला परिरहेका छन् । पहिलोपटक हृदयाघात भएकामध्ये २३ प्रतिशत बिरामीको मृत्यु अस्पताल पुग्नुभन्दा पहिला नै हुने गरेको छ । यदि एक सयजनालाई हृदयाघात भयो भने २३ जनाको मृत्यु घर र अस्पतालको बीचमा हुने गरेको छ । अस्पतालभित्रै भर्ना भएकामध्ये पनि लगभग १३ प्रतिशतको मृत्यु हुन्छ । यो अन्तर्राष्ट्रिय तथ्यांक हो । 

नेपालमा हृदयाघात भएर अस्पताल भर्ना भएकाहरूको मृत्युदर ७ प्रतिशत छ । हृदयाघात भएपछि ३० प्रतिशत मानिसहरू निको भएर घर फर्किन पाउँदैनन् । उनीहरूले मृत्युवरण गर्नुपरेको छ । 



त्यसो भए के गर्ने ? 



हृदयाघात हुन नदिनु नै सबैभन्दा ठूलो कुरा हो । हृदयाघात भइसकेपछि धेरैको मृत्यु हुन्छ । अर्को कुरा हृदयाघात भएका बिरामीको उपचार निकै महँगो छ । हुन त नेपाल सरकारले धेरै सहयोग गर्ने गरेको छ । लगभग ७० प्रतिशत खर्च सरकारले नै बेहोर्ने गरेको छ । त्यसो भयो भने बिरामीले जीवनभर औषधि खाइराख्नुपर्छ । एकपटक हृदयाघात भएको व्यक्तिको आयु घट्छ । 

हृदयाघात हुने प्रमुख कारक तत्त्व भनेको दुई किसिमका हुन्छन् । एउटा भनेको, परिवर्तन गर्न नसकिने कारक तत्त्व । दोस्रो, परिवर्तन गर्न सक्ने तत्त्व । 

पहिलो कारक तत्वमा इकोसिस्टम पर्छ । दक्षिण एसियाको जनसंंख्या हृदयाघातको प्रमुख जोखिममा देखिन्छन् । यो क्षेत्रमा मानिसहरूमा हृदयाघात हुने सम्भावना एकदमै बढी हुन्छ । 

त्यस्तै, बढ्दो उमेरमा पनि हृदयाघातको सम्भावना बढी हुन्छ भने लिंगका कारण पनि हृदयाघातको सम्भावना बढी हुन्छ । महिलाको तुलनामा पुरूषलाई हृदयाघात हुने सम्भावना बढी हुन्छ । 

परिवर्तन गर्न सकिने कारक तत्त्वहरूमा सबैभन्दा प्रमुख भनेको धूम्रपान हो । जुन हामीले तत्कालै छोड्न पनि सक्छौँ । हृदयाघात हुनेमा दक्षिण एसियालीमा अमेरिकीको तुलनामा १० वर्ष आयु घटेको पाइन्छ ।

४० वर्षभन्दा कम उमेर भएकाहरूमा हृदयाघात हुँदैन भन्ने मान्यता थियो । तर, पछिल्लो समय भने ४० वर्षभन्दा कम उमेर समूहमा हुने हृदयाघात एकदमै बढेको छ । 

हामीले उपचारका क्रममा २० देखि ३० वर्ष उमेरसमूहका व्यक्तिहरूमा पनि हृदयाघात भएको पाएका छौँ । उनीहरूलाई हृदयाघात हुनुको प्रमुख कारण भने धूम्रपान हो । 

यदि ५० वर्षभन्दा कम उमेरको मान्छेले चुरोट खान्छ भने उसलाई हृदयाघात हुने सम्भावना चुरोट नखाने मान्छेको तुलनामा ८ गुणा बढी हुन्छ । पहिला चुरोट खाएर छोडेकाहरूमा खाँदै नखानेमा भन्दा हृदयाघात हुने सम्भावना तीन गुणाले बढी हुन्छ । 

५० वर्षभन्दा माथिका व्यक्तिहरूमा ५ गुणाले बढी हुन्छ । ६५ वर्षभन्दा माथिलाई तीन गुणाले बढी हुन्छ । त्यसैले जति सानो उमेरमा चुरोट खान थालियो, उसलाई त्यही उमेरसमूहका मान्छेको तुलनामा हृदयाघात हुने सम्भावना धेरै हुन्छ ।
 
चुरोटले सबैभन्दा बढी खतरा विशेषगरी महिलालाई गर्छ । एउटा अध्ययनले के भनेको छ भने १८ वर्ष ३९ वर्ष उमेरसमूहका चुरोट खाने महिला र पुरूषको हकमा चुरोट खाने महिलालाई हृदयाघात हुने सम्भावना १३ गुणाले बढी हुन्छ ।

त्यसमा यदि परिवार नियोजनका चक्की सेवन गरेको हुन्छ भने त्यसलाई हृदयाघात हुने सम्भावना एकदमै बढी हुन्छ । चुरोट नखाने पुरूषको तुलनामा चुरोट खाने पुरुषमा हृदयाघात हुने सम्भावना ८ गुणाले बढी हुन्छ । 

चुरोट खान छाड्नेबित्तिकै के हुन्छ ? 

एउटा मानिसले चुरोट खान छोड्यो भने ३० मिनेटमा त्यो व्यक्तिको ब्लडप्रेसर नर्मल हुन्छ । ८ घण्टामा त्यो व्यक्तिको शरीरभित्र भएको कार्बनमोनोअक्साइडको लेभल आधाले घट्छ । 
तीन दिनमा स्वास फेर्न सजिलो अनुभव गर्छ । एक वर्षमा हृदयाघात हुने सम्भावनालाई ५० प्रतिशतले कम गर्न सकिन्छ ।

दुई वर्षमा फोक्सोले काम गर्न सक्ने अवस्थालाई ३० प्रतिशतले बढाउन सकिन्छ । पाँच वर्षमा प्यारालाइज हुने सम्भावना चुरोट नखाने मान्छेको तुलनामा समान हुन्छ । चुरोट खान छाडेको १५ वर्षमा हृदयाघात हुने सम्भावना चुरोट नखाने मान्छेसँग बराबर हुन्छ । त्यसैले चुरोट खान आजैदेखि होइन, अहिलेदेखि नै बन्द गर्नुपर्छ ।

(डा. चन्द्रमणि अधिकारी सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक हुन् ।)
 

  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १९:४५:५९,   अन्तिम अपडेट : मंसिर ११, २०७८ शनिबार २१:५०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया