सौराहामा महाधिवेशन : प्रतिनिधिको स्क्यान, एमालेको ‘स्क्रिनिङ’

चितवनको सौराहा नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको रौनक छ । महाधिवेशनको दोस्रो दिन बन्दसत्रलाई नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्बोधन गरेका थिए ।

एमालेले सौराहा भएको महाधिवेशनको बन्दसत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको थियो । सौराहाको सेभेन स्टार होटलबाट नै अब नेकपा एमालेले १०औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्नेछ ।

बन्दसत्रको उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले विदेशी पाहुनाका अगाडि एमालेका चुनौतीदेखि पार्टी विभाजनसम्मका कुरा जोड्दै महाधिवेशन प्रतिनिधिलाई कम्युनिस्ट आन्दोलनबारे जानकारी दिन भ्याए । 

ओलीले देशमा न्यायालय स्वतन्त्र र निष्पक्ष हुन नसके लोकतान्त्रिक प्रणाली असफल हुनेसमेत बताए । उनले भने ‘देशको अहिलेको स्थिति परिवर्तन नभए लोकतन्त्रमा नै खतरा हुन्छ । न्यायालयको अवस्था देखेर हामी गम्भीर भएका छौँ ।’

संसारभरका कम्युनिस्टहरूले एमालेको आन्दोलनलाई नजिकबाट नियालिरहेको उनको भनाइ थियो ।

‘स्क्यान’ र ‘स्क्रिनिङ’



एमालेका स्वयंसेवकहरूले सेभेन स्टार होटलको सुरक्षा स्थिति चुस्त बनाएका थिए । महाधिवेशन प्रतिनिधि, पर्यवेक्षक  सञ्चारकर्मीहरू हलमा प्रवेश गर्दा समेत कडाइको साथ चेकजाँच गरेका थिए । प्रतिनिधिहरू पनि पहिलो गेटमा आफ्नो परिचयपत्रबिना छिर्न पाएका थिएनन् भने दोस्रो गेटबाट परिचयपत्र स्क्यान गरी प्रमाणित गरेर मात्रै भित्र छिर्न दिइएको थियो । 

त्यसपछि सेभेन स्टारको कम्पाउन्डमा पुगेका महाधिवेशन प्रतिनिधिलाई बन्दसत्रको हलमा छिर्न लाइन लगाएर स्क्यान गरिइएको थियो । एमालेका स्वयंसेवकहरूले स्क्यानबिना आफ्ना नेताहरूलाई पनि हलमा छिर्न दिएका थिएनन् ।



बाहिरबाट प्रवेश गर्दा परिचयपत्र देखाउँदै स्क्यानिङ गरिएको एमालेले महाधिवेशन प्रतिनिधिहरूलाई बन्दसत्रको हलमा राखेर ‘स्क्रिनिङ’ सुरु गरिएको छ ।

अघिल्लो दिन शुक्रबार भरतपुर महानगरपालिका १ नारायणी नदी किनारमा भएको महाधिवेशनको बृहत् उद्घाटनबाट एमालेले दुईवटा सन्देश दिन खाजेको भन्दै नेता-कार्यकर्तालाई हौसाएका ओलीको वास्तविक परीक्षा बन्दसत्रसँगै सुरु भएको छ । 

उनले महाधिवेशनले पहिलो कुरा नेकपा एमाले सकियो भनेर प्रचार गर्नेहरूविरुद्ध शक्ति र जनपरिचालन देखाएको र दोस्रो कुरा विधान महाधिवेशनमा भएका कुराहरू कार्यान्यवन गर्ने कार्यसमिति बनाउने सन्देश दिएका थिए ।

एमाले अहिले चुनौतीको सामना गरिरहेको भन्दै ओलीले आजको बन्दसत्रमा सम्बोधन गर्दै पार्टीभित्र प्रतिस्पर्धा नभई एकता आवश्यक रहेको बताए ।

एमाले महाधिवेशनले नयाँ कार्यसमिति तर्फ इंकित गर्दै भने ‘पार्टीभित्र प्रतिस्पर्धा मूल्यांकनको आधारमा हुन्छ । आन्तरिक एकताका लागि चाहिने समझदारी महत्त्वपूर्ण हुन्छ, आफ्नासँग प्रतिस्पर्धा हुँदैन विपक्षीसँग मात्रै हुन्छ ।’

अध्यक्ष ओलीले पार्टीको नयाँ कार्यसमिति सर्वसम्मतका लागि संकेत गरिरहँदा ओलीलाई उपाध्यक्ष भीम रावलले चुनौती दिइरहेका छन् । यस्तै, ओली निकट रहेका नेताहरू पनि दुई फरकफरक टिममा विभाजन भएका छन् । 

पदाधिकारीमा आकांक्षी धेरै र पद कम रहेकोले ओलीले व्यवस्थापन गर्न चुनौती देखिएको छ । नेकपा एमालेलाई कता डोर्याउने भन्ने कुरा अहिले ओलीले पार्टी भित्रै ‘स्क्रिनिङ’ गर्नुपर्ने अवस्था देखापरेको छ ।

ओलीको ३ चुनौती 

एमाले अध्यक्ष ओलीसमक्ष अहिले मुख्यतः तीनवटा चुनौती देखापरेका छ । ओलीलाई अहिले उपाध्यक्ष भीम रावललाई मिलाउने ठूलो चुनौती छ ।

अध्यक्षमा दाबी गरिरहेका रावल कुनै पनि हालतमा पछि नहट्ने अडान लिएका छन् । एमालेको १०औँ महाधिवेशनमा ओलीले रावललाई व्यवस्थापन गर्नुपर्ने चुनौती देखिएको छ ।

यस्तै, एमालेमा भएका पूर्वमाओवादीसहितका नयाँ अनुहारको व्यवस्थापन पनि ओलीका लागि अर्को ‘परीक्षा’ हो । 

टुटफुटबाट एक हिस्सा छुटेको एमालेमा नयाँ कार्यसमिति सर्वसम्मत नभएको खण्डमा हारेका पक्षहरूलाई नेकपा एमाले टिकाइ राख्नको लागि पनि अध्यक्ष ओलीलाई अर्को चुनौती छ ।

  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार २१:३७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया