‘ए’ डिभिजन लिग फुटबल: अाज ललितपुरका दुर्इ क्लबबीच प्रतिस्पर्धा

काठमाडाैं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुँदै छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा विभागीय टोेली नेपाल पुलिसले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दै छ । खेल बिहान ११ः३० बजे सुरु हुनेछ । 

यसअघि भएको पहिलो खेलमा नेपाल पुलिसले जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो भने मच्छिन्द्रले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो । 

खेल हुनुअघि आज बिहान आयोजित ‘प्रि म्याच कन्फ्रेन्स’मा पुलिसका प्रशिक्षक अनन्तराज थापाले मच्छिन्द्र क्लबलाई सामान्य रूपमा नलिने बताए । ‘हामीले भखरै नवलपरासीमा राइनो कप खेलेर आएका छौं, उक्त प्रतियोगितामा आफ्नो कमी-कमजोरी थाहा भयो, त्यसलाई सुधार गर्दै अघि बढ्छौं ।’ 

मछिच्न्द्र क्लबका प्रशिक्षक धनेश्वर प्रजापतिले दसैं-तिहारपछि मात्रै अभ्यास सुरु गरेकाले सोचेअनुसारको तयारी हुन नपाएको बताए । 

आजै हुने दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ । दुवै क्लब ललिपुरका हुन् । पहिलो खेलमा थ्री स्टारले फ्रेण्ड्सलाई २–१ ले पराजित गरेको थियो भने ब्रिगेट ब्वाइजले मनाङसँग पराजय व्यहोरेको थियो । 

थ्री स्टारका लागि आज निकै खुसीको कुरा छ । क्लबका मिडफिल्डर विक्रम लामा आजको खेलबाट मैदान फर्कंदै छन् । चोटका कारण करिब आठ महिना मैदानबाहिर रहेका विक्रम सफल उपचार प्रक्रिया पूरा गरेर मैदान फर्कन लागेका हुन् । 

लिग चरणको दोस्रो खेलमा राष्ट्रिय टिमका खेलाडीले भरिएको थ्री स्टारलाई उमेर समूहका खेलाडी आबद्व ब्रिगेटले चुनौती दिने ब्रिगेड ब्वाइज क्लबका प्रशिक्षक उज्वल श्रेष्ठले जानकारी दिए ।

थ्री स्टारमा राष्ट्रिय टोलीबाट पूर्वकप्तान अनिल गुरुङसँगै एलेन न्यौपाने, अनन्त तामाङ, निराजन खड्का र सुनील बललगायतका खेलाडी समावेश छन् । थ्री स्टारका सहायक प्रशिक्षक अशोक राईले तिहारलगत्तै तयारीमा जुटेकाले राम्रो प्रदर्शन गर्ने बताए ।

‘ए’ डिभिजन लिग चार वर्षपछि हुन लागेको हो । पछिल्लोपटक विसं २०७१ मा ‘ए’ डिभिजन लिग भएको थियो ।





  • प्रकाशित मिति : मंसिर २, २०७५ आइतबार १०:५०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया