कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमका विषयमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय समितिको बैठकमा छलफल भएको छ ।
आज सिंहदरबारमा बसेको बैठकमा सीमा नाका कडाइ गर्ने, क्वारेन्टिनलाई थप सशक्त पार्ने, अन्तर्राष्ट्रिय उडानलाई व्यवस्थित गर्नेलगायतका विषयमा छलफल भएको हो । यसअघि विज्ञहरूले दिएको सुझावका विषयमा छलफल भएपनि निर्णय भने केही नभएको सिसीएमसीकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिइन् ।
नयाँ भेरियन्ट संक्रमण हुनबाट कसर सतर्कता अपनाउने भन्ने विषयमा छलफल भएको उनको भनाइ छ । बैठकमा सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे छलफल भएको प्रवक्ता नेपालले बताइन् ।
सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्ने अधिकार मन्त्रिपरिषद् बैठकलाई मात्र भएकाले त्यही अनुसार सुझाव दिने निर्णय भएको उनको भनाइ छ । नेपालमा नयाँ भेरियन्ट आउन सक्ने सम्भावना रहेकाले उच्च सर्तकता अपनाउनुपर्ने विज्ञले सुझाव दिँदै आएका छन् ।
दक्षिण अफ्रिकामा नयाँ भेरियन्ट देखिएसँगै नेपालले उच्च सतर्कता अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विदेशबाट आउनेहरूलाई अनिवार्य पीसीआर तथा क्वारेन्टिन बस्नुपर्ने नियमलाई कडाइका साथ पालना गर्नुपर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
विश्वका जुनसुकै कुनामा नयाँ भेरियन्ट देखा पर्दा नेपालमा पनि उत्तिकै जोखिम हुने भएकाले सावधानी अपनाउनु आवश्यक रहेको अधिकारीको भनाइ छ ।
अफ्रिका हुँदै नेपाल आउने यात्रुका लागि अनिवार्य क्वारेन्टिनको व्यवस्था गरिएको उनले बताए । नयाँ भेरियन्ट अहिलेसम्म नेपालमा नदेखिएकाले आत्तिनु पर्ने अवस्था नरहेको तर, सावधानी भने पूर्ण रूपमा अपनाउनुपर्ने उनको भनाइ छ ।
अहिले हवाई मार्ग हुँदै नेपाल आउने यात्रुले ४८ घण्टाअघि अनिवार्य पिसिआर परीक्षण गरेको रिपोर्ट देखाउनुपर्छ । खोप लगाएको हकमा नेपाल आउनुपूर्व ४८ घण्टा पहिला पीसीआर गर्नुपर्छ । खोप नलगाएको हकमा भने अनिवार्य रूपमा क्वारेन्टिन बस्नुपर्ने सहप्रवक्ता डा. अधिकारीले बताए ।
यात्रुले काठमाडौंमा तोकिएका होटलमा सातदेखि १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने उनले बताए । ‘स्वास्थ्य मन्त्रालयले अहिलेको यो अवस्थामा सकेसम्म अन्तर्राष्ट्रिय यात्रा नै नगर्न सुझाव दिँदै आएको छ । हामीले त सकेसम्म अन्तर्राष्ट्रिय यात्रामा नजान भनिरहेका छौं । विदेशबाट पनि कसैलाई नबोलाउनुहोस् भनेर भनिरहेका छौं,’ अधिकारीले भने ।
भारतमा समेत नयाँ भेरियन्टको संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, हङकङमा समेत नयाँ भेरियन्ट फेला परेको छ । योसँगै हङकङले दक्षिण अफ्रिका, भारत, अमेरिका, बेलायतलगायतका अन्य देश भएर आउने हवाई यात्रुलाई अनिवार्य २१ दिन क्वारेन्टिनको व्यवस्था गरेको छ ।
बेलायतले पनि कडा प्रतिबन्ध लगाएको छ । बेलायतले दक्षिण अफ्रिकामा यात्रा प्रतिबन्ध लगाएको छ । त्यस्तै, आगामी सातादेखि पसलमा र सार्वजनिक यातायातमा मास्क अनिवार्य लगाउनुपर्ने घोषणा गरिएको छ ।
इजरायलले समेत विदेशबाट आउनेहरूलाई १४ दिन प्रवेशमा रोक लगाएको छ । आजको मितिदेखि १४ दिनसम्म कुनै पनि विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाइएको प्रधानमन्त्री नाफ्टाली बेनेटले जानकारी दिए ।
विश्वका कैयौं देशहरूले नयाँ भेरियन्टपछि कडा कदम चाल्न थालेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।