प्रधानन्यायाधीश विरुद्ध दलहरूले महाअभियाेग नलगाएसम्म बारकाे आन्दालेन जारी रहन्छ : अधिवक्ता शाक्य

वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यले प्रधानन्यायाधीशविरुद्ध राजनीतिक दलहरूले महाअभियोग नलगाएसम्म नेपाल बार एसोसिएसनको आन्दोलन जारी रहने बताएका छन् ।

आइतबार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शाक्यले राजनीतिक दलहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाएमात्रै बारको आन्दोलन रोकिने बताएका हुन् । 

अधिवक्ता शाक्यले प्रधानन्यायाधीश जबरा कानुनी र कागजी रूपमा प्रधानन्यायाधीश पदमा हालसम्म कायम रहेको भए पनि व्यावहारिक रूपमा भने सो पदमा नरहेको जिकिर गरे । 

उनले प्रधानन्यायाधीशलाई कसैले स्वीकार नगर्दा पनि जनतालाई दुख दिएर अदालत ठप्प पारेको आरोप लगाए । 

उनले भने, ‘प्रधानन्यायाधीश व्यावहारिक रूपले अब त्यो पदमा हुनुहुन्न । उहाँ आफ्नो कार्यालयमा नआएको पनि ६-७ दिन भइसक्यो । उहाँसँग अब कसैले पनि बेञ्च सेयर गर्नुहुन्न । र, उहाँको उपस्थितिमा न्याय परिषद्, न्याय सेवा आयोग र संवैधानिक परिषद्को मिटिङ पनि बस्नेवाला छैन । प्रधानन्यायाधीशको जिम्मेवारी बहन गर्न नपाउने भइसकेपछि उहाँले ढिपी गरेर, राजीनामा नदिएर सारा जनताको मुद्दालाई अस्तव्यस्त पारेर, यो अदालतलाई ठप्प पारेर के सन्देश दिन खोजेको हो, हामीले बुझेका छैनौं । उहाँलाई हामीले के भनेका छौं भनेदेखि राजनीतिकर्मीहरूले संसदबाट उहाँलाई महाअभियोगको प्रक्रिया लगाएर हटाउने सम्भावना जब रहन्छ तब हाम्रो यो कार्यक्रम हामी रोक्छौं । तर, त्यो सम्भावना नरहेको कारणले गर्दाखेरि हामीले बाध्यतावश यो कार्यक्रम चलाइरहेको हो ।’

उनले व्यावहारिक रूपमा उद्देश्य हासिल भइसकेकाे अब कानुनी र कागजी रूपमा मात्र बाँकी रहेकाे जिकिर पनि गरे । 



अधिवक्ता अनन्तराज लुँइटेलले आगामी दिनमा न्यायपालिकामा गरिने नियुक्ति वैज्ञानिक ढंगले गर्नुपर्ने बताए । 

अहिले न्यायपालिकाको मान, सम्मान र प्रतिष्ठा समाप्त भएको भन्दै उनले बारको आन्दोलनलाई न्यायपालिका सुधारको कोसेढुंगा साबित गराउनुपर्नेमा जोड दिए ।



यसैगरी अधिवक्ता पदमबहादुर श्रेष्ठले जबरा न्यायपालिकाकाे प्रदुषण भएकाे टिप्पणी गरे । कानुन व्यवसायीकाे आजसम्मकाे कुनै पनि आन्दाेलन असफल नभएकाले प्रधानन्यायाधीशविरुद्धकाे याे आन्दालेन पनि सफल हुने उनले दाबी गरे ।

प्रधानन्यायाधीश जबराकाे माग गर्दै नेपाल बार एसाेसिएसनले आइतबार पनि सर्वाेच्च अदालत परिसरमा धर्ना दिएकाे छ । बारले सर्वाेच्चमा निरन्तर धर्ना दिँदै आएकाे छ। 

  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १५:१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया