नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले न्यायपालिकामा देखिएको समस्याको समाधान सरोकारवाला निकायले गर्ने बताएका छन् ।
आइतबार नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीले बुझाएको ज्ञापनपत्र लिँदै अध्यक्ष नेपालले न्यायपालिकामा देखिएको समस्यालाई सरोकारवाला निकायले हल गर्ने बताएका हुन् ।
उनले यो विषय न्यायिक क्षेत्रको मात्र सरोकारको विषय नभएर राज्यको नै प्रत्यक्ष सरोकारको विषय भएको बताए ।
अध्यक्ष नेपालले अदालतको विषयमा सरकारमा रहेका पाँच दलीय गठबन्धनले छलफल गरेको बताउँदै सरोकारवाला पक्षहरूलाई वार्तामा बसेर समाधान खोज्न आग्रह गरेको पनि बताए ।
उनले न्यायपालिकाको समस्या लामो समयसम्म रहँदा देशको इज्जत र प्रतिष्ठा गुम्ने भएकोले यसलाई हल गर्नु नै अहिलेको मुख्य आवश्यकता रहेको बताए ।
'न्यायिक क्षेत्रको सरोकारको विषय प्रत्यक्ष रुपमा जोडियो, राज्यको सरोकारको विषय प्रत्यक्ष रूपमा देखियो, किनकि राज्यको एउटा अंग हो त्यो,' उनले भने, 'सत्ताधारी गठबन्धनभित्र हामीले छलफल गरेर सरोकारवाला निकायलाई वार्तामा बसेर समाधान खोज्न भनेका हौँ ।'
अध्यक्ष नेपालले धेरै मानिसले न्याय पाउन नसकिरहेको भन्दै छिटोभन्दा छिटो समस्याको समाधान हुने बताए ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउन माग गर्दै नेपाल बार एशोसिएसन र कानुन व्यवसायीहरूले महिना दिनयता आन्दोलन गरिरहेका छन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै उनीहरूले यसअघि पनि प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, नेकपा एमालेका उपनेता सुवास नेम्वाङ, लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक लक्ष्मणलाल कर्ण, जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको ध्यानाकर्षण गराएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।