क्षेत्रीय अखण्डताको संरक्षण गर्न आवश्यक : सभामुख सापकाेटा

सभामुख अग्निप्रसाद सापकोटाले विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाका कारण असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि यथावत रहेको बताएका छन् ।

स्पेनमा भएको असंलग्न आन्दोलनको सञ्जाल (नाम) को बैठकलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तलाई कायम राख्ने, राष्ट्रिय स्वतन्त्रतालाई समर्थन गर्ने, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षण गर्ने सन्दर्भमा पनि यसको आवश्यकता औंल्याएका हुन् ।

‘विश्वका विकासशील देश निरन्तर रूपमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा समानताको मैदानबाट बञ्चित छन् । यी चुनौती रहँदासम्म असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूले शान्ति, न्याय र विकासका लागि आवाज उठाइरहने छन् । नतिजाका लागि हाम्रा संसदहरूले त्यसतर्फको राष्ट्रिय प्रयासहरूलाई सहयोग र प्रोत्साहन जारी राख्नेछन्,’ सभामुख सापकोटाले भने ।

उनले संसदीय ऐक्यबद्धता र अनुभवको आदान प्रदानले असंलग्न आन्दोलनका सिद्धान्त र आदर्शलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे । ‘नेपालमा असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष हो । शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पञ्चशील, बुद्धको शिक्षामा आधारित छन् । नेपालको संघीय संसद लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक हो । जनताले आफ्नो अधिकारको रक्षा र विकासको उपभोगका लागि संसदमा आशा राखेका छन् । नेपालको संसद समझदारी र सहयोग अभिवृद्धि गर्न र हाम्रो समयका ज्वलन्त मुद्दाहरूलाई सम्बोधन गर्न प्रतिबद्ध छ,' सापकोटाले भने ।  

उनले आइतबार स्पेनको म्याड्रिडमा जारी अन्तर व्यवस्थापिका संघ आइपियुको १४३औँ सभालाई सम्बोधन गर्दै शासनको सबैभन्दा मनपर्ने स्वरूपको रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौती रहित नरहेको तर्फ विश्व समुदायको ध्यानाकर्षण गराए ।

आइपियु सम्मेलनमा सहभागी हुन यहि मंसिर ८ गते स्पेन प्रस्थान गरेका सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल  मंसिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ । 





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार ८:३०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया