फिल्म उद्योगमा कस्तो पर्ला कोरोनाको नयाँ भेरियन्टको असर ?

झण्डै साढे दुई वर्ष नेपाली फिल्म उद्योगमा सन्नाटा छायो । चलचित्रमा चलेका स्टार कलाकार म्युजिक भिडियोमा देखिए । म्युजिक भिडियोले चलेकादेखि सामान्य चलेका धेरै कलाकारको रोजीरोटी जोगायो । धेरै यो क्षेत्रबाट पलायन पनि भए । कतिपय कलाकार वैकल्पिक बाटोका रूपमा विभिन्न व्यापार व्यवसायमा हात हाले । 

बन्द भएको साढे १ वर्षसम्म सरकारले सिनेमाहल खोल्ने अनुमति नै दिएन । अन्य सबै क्षेत्र खुलिसक्दा पनि हल खोल्ने अनुमति नपाएका कलाकार धेरै पटक डेलिकेसन लिएर सञ्चार मन्त्रालय पुगे । केही सीप नलागेपछि उनीहरू एकतर्फी रूपमा अघिल्लो वर्षको पुष १० गतेबाट हल सञ्चालन गरे । कोरोनाअघि प्रदर्शन भइरहेका चलचित्र पुनः रिलिज गरेर हल सञ्चालन गरे पनि सिनेकर्मीलाई ती सिनेमाहरूले राहत दिन भने सकेनन् । पुस २६ गतेबाट ५० प्रतिशत अकुपेन्सीसहित सञ्चालनको अनुमति पाएपछि केही नयाँ तथा पुराना चलचित्र रिलिज भए । तर पनि फिल्म उद्योगले लय समात्न सकेन । 

यसबीचमा कोरोनाको दोस्रो लहर सुरु भयो । यसको असर चलचित्र क्षेत्रमा पनि देखिएको छ । त्यसपछि पुनः सुनसान भएका हल तिहार अघिसम्म उस्तै रहे । यो बीचमा देशभरका झण्डै एक दर्जन हल बन्द भए । कोरोना कालमा काठमाडौं सबैभन्दा धेरै दर्शकको उपस्थिति रहने गोपीकृष्ण मुभिजको भवन भत्काइयो । उक्त हल सधैंका लागि बन्द भयो । उक्त स्थानमा ३ वर्षभित्र २५ तले मल सञ्चालनमा आउने भएको छ । 

कोरोनाका कारण २० वर्षदेखि सञ्चालन हुँदै आएको काठमाडौंकै जय नेपाल हल सधैंका लागि बन्द भयो । । क्वेष्ट इन्टरटेन्मेन्टले जग्गा लिजमा लिएर सञ्चालन गर्दै आएको उक्त हल चलाउन सक्ने अवस्था नभएपछि बन्द गरियो । हलको खर्च धान्न नसकेपछि काठमाडौं बाहिरका पनि केही हल बन्द भए । 

कोरोनाकाल पछिको केही समयपछि ५० प्रतिशत अकुपेन्सीमा हल खोल्ने अनुमति पाए पनि सिनेमाघर खुल्न सकेनन् । खोल्न खोजेका हलले पनि पुरानै लय समात्न नपाउँदै पुनः बन्द भए । यसरी पटकपटक गरेर करिब १६ महिना हल बन्द रहे । अनुमति पाएर पनि गत तिहारसम्मै फिल्म उद्योगले लय समात्न  सकेन । यस अवधिमा चलचित्र उद्योगले कति घाटा बेहाेर्न पुग्यो सरकारसँग यकिन तथ्यांक छैन । 

उद्योगसँग सरोकार राख्ने संस्थाले यो समयमा सिने उद्योगले झण्डै १७ अर्ब, ७१ करोड रुपैयाँ घाटा बेहोर्नुपरेको बताएका छन् । बन्द भएका सिनेमाहल, ती हलमा भएको लगानी, यो क्षेत्रका श्रमिकले गुमाएको रोजगारी सबैलाई हिसाब गर्दा १७ अर्ब ७१ करोड रुपैयाँ घाटा भएको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी बताउँछन् । यो समय १ अर्बभन्दा धेरै लगानी ‘फ्रिज’ भएर बस्यो ।



तिहारमा बलिउड चलचित्र ‘सूर्यवंशी’ रिलिज भएपछि बल्ल केही ठूला ब्यानरका चलचित्रले रिलिज डेट लिएका छन् । अहिलेसम्म चलचित्र उद्योगको व्यापार घाटा भने घट्न सकेको छैन । दर्शकले कुरिरहेका ठूला ब्यानरका चलचित्र हलमा आएपछि मात्रै उद्योग चलायमान हुने सरोकारवालाहरू बताउँदै आएका छन् । ठूला ब्यानरका चलचित्रले पनि प्रदर्शन मिति लिएर प्रचार सुरु गरेका छन् । 

कोरोनाका कारण पटकपटक प्रदर्शन मिति लिएर पोस्पन्ड भएका चलचित्रले पुनः प्रदर्शन मिति त तय गरेका छन् । तर विश्वमा पुनः कोरोनाको नयाँ भेरियन्ट सुरु भएको छ । कोरोनाको नयाँ भेरियन्टलाई अहिलेसम्मकै खतरनाक भेरियन्ट भनिएको छ । धेरै परिवर्तित स्वरूपका कारण नयाँ भेरियन्टलाई केही वैज्ञानिकले ‘डरलाग्दो’ बताएका छन् । 



महामारीले थलिएको विश्व बजार बिस्तारै तङ्ग्रिँदै गर्दा देखिएकाे कोरोनाको नयाँ भेरियन्टलाई लिएर विश्वका कतिपय देशले सर्तकता अपनाउन सुरु गरेका छन् । नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा जनस्वास्थ्यविद्हरूले सर्तक रहन आग्रह गरेका छन् । 

निर्माण भएको डेढ-दुई वर्षसम्म थन्किएका चलचित्र रिलिज गर्दा पनि दर्शकले मन पराउनेमा शंका गर्दै चलायमान हुन खोजेको उद्योग पुनः बन्द हुन सक्ने संकेत देखिएको छ । कोरोना अघि नै बन्द भएका चलचित्रको अब भविष्य नभएको भन्दै ती सबै चलचित्रमा गरिएको लगानी घाटा नै रहेको उद्योगसँग सरोकार राख्नेहरूले बताउँदै आएका छन् । 

निर्माता/निर्देशकले हिम्मत गरेर चलचित्रको प्रचार थालेको समयमा पुनः देखिएको कोरोनाको नयाँ भेरियन्ट नेपालमा प्रवेश गरेमा उद्योगको घाटा अझै बढेर जाने देखिन्छ । जनस्वास्थ्यविदहरूले विश्वमा देखिएको भेरियन्ट ढिलोचाँडो नेपालमा पनि आउने बताउँदै आएका छन् । उनीहरूको कुरालाई मान्ने हो भने नेपाली चलचित्रको घाटा अझै बढेर जानेछ । अबको घाटा तालिकामा कोरोना पछि बनेका चलचित्र, पुराना चलचित्रले प्रचारमा गरेको खर्च समेत चढ्ने छ । 

  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार ११:४७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया