भीम रावललाई प्रश्न– तेल दिँदा नलिने कोलचाहिँ चाट्ने तपाईंको बानी हो?

नेकपा एमालेको महाधिवेशनको बन्दसत्र कार्यक्रम सकिएपछि अहिले निर्वाचन प्रक्रिया धमाधम भइरहको छ । निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार मतगणना सुरु भइसकेको छ । केहीबेरपछि परिणाम आउने उनले बताएका छन् ।  

यो महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मतिको टीका लगाएर काठमाडौं फर्किने इच्छा व्यक्त गरेका निवर्तमान अध्यक्ष केपी शर्मा ओली अहिले निराश छन् । त्यसको कारण हुन्, अध्यक्षका प्रत्यासी डा. भीम रावल । रावल यतिबेला सर्वाधिक चर्चाका पात्र हुन् । 

पार्टीमा लोकतान्त्रिक अभ्यास हुनुपर्छ भन्ने मत राख्दै आएका रावल आफ्नो मत परिणाम कुर्दै अहिले महाधिवेशन प्रतिनिधिसँग भेटघाट गरिरहेका छन्, सौराहाको होटल सेभेन स्टारमा । अर्का अध्यक्षका प्रत्यासी ओली भने होटल पार्क सफारीमा डेरा जमाइरहेका छन् । नवौं महाधिवेशनबाट सबैभन्दा बढी मत ल्याएर निर्वाचित व्यक्ति रावल आजको मतदानबाट आफूलाई प्रतिनिधिले विश्वास गर्ने बताउँछन् । उनै रावलसँग सञ्चारकर्मीले मतदानस्थल बाहिर सोधेको एउटा प्रश्न हो– भीम रावलको बानी त तेल दिँदा नलिने कोल चाट्ने छ भनेर चर्चा गरिन्छ नि? 

जवाफमा रावलले भनेका छन्, ‘म मन्त्री पद पाउँदा पनि साथीहरूलाई नै दिने मान्छे हुँ ।’​ 

प्रस्तुत छ सञ्चारकर्मीसँग रावलको अन्तर्वार्ताको सम्पादित अंश :

तपाईं अध्यक्षमा जित्नुहुन्छ? 



जित्छु भनेर उम्मेदवारी दिएको हुँ । मेरो प्रतिनिधिप्रति विश्वास छ । परिणाम कस्तो आउँछ, समयको प्रतिक्षामा छु । 

यदि एमालेमा पराजित हुनुभयो भने एमालेमै बस्नुहुन्छ ? 



अर्को तरिकाले प्रश्न गर्नुस् न, विजयी हुनुभयो भने के गर्नुहुन्छ भनेर । 

विजयी हुनुभयो भने चाँहि के गर्नुहुन्छ ? 

मेरो १२ वटा लक्ष्य उद्देश्य सार्वजनिक गरेको छु । १५ वटा मान्यता अघि सारेको छु । त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्छु । दृढतापूर्वक अघि बढ्छु ।

यदि एमालेमा उपाध्यक्षमा जसरी स्पेस खोजिरहनुभएको थियो, अन्तिम समयमा नपरेपछि अध्यक्षमा उम्मेदवारी दिनुभयो भन्ने पो छ त बाहिर । यो भ्रम हो कि यथार्थ? 

यो शतप्रतिशत गलत हो । मलाई उपाध्यक्ष हुनका लागि मञ्चमै पार्टी अध्यक्षले निकै आग्रह गर्नुभएको थियो । मैले के भनेँ भने, अहिले अध्यक्ष पदमा प्रतिस्पर्धामा आएर प्रतिनिधिहरूले विश्वास गर्नुभयो भने नेकपा एमालेले आज जे जस्ता चुनौतीको सामना गरिरहेको छ, जे घटना घटिरहेका छन् । म त्यसलाई दृढतापूर्वक नेतृत्व दिएर देशलाई नयाँ दिशा दिने उद्देश्यका साथ आइसके । अहिले म उपाध्यक्ष बन्दिन, व्यक्तिको एउटा पदमा एकचोटी परीक्षण हुने हो । त्यो पटकपटक कोही व्यक्ति पाँचपटक प्रधानमन्त्री बनेजस्तो सुन पगालेर खारिन्छ भनेजस्तो होइन त्यो । त्यो कारणले मैले अध्यक्ष पदबाट नै पार्टीलाई नयाँ दिशा दिन सकिन्छ कि भन्ने हो । 

ओलीले सहमति भनेर अन्तिम समयसम्म भनेर प्रयास गर्नुभयो । तर, मुख्य बाधक त डा. भीम रावल पो भनिन्छ त ? 

यो लोकतन्त्रमा विश्वास नगर्ने मान्छेहरुले गरेको प्रचार हो । मैले काठमाडौंमा पार्टी अध्यक्ष र स्थायी कमिटीमा यो महाधिवेशनमा नेतृत्व चयन हुने भएकाले यसको प्रक्रिया के हुन्छ? हामी कसरी जान्छौं? भनेर भन्दा मेरो विषयलाई स्थायी कमिटीमा प्रवेश गराइएन । अध्यक्षले त्यसमा केही भन्नुभएन । कसैले केही भन्नुभएन । यहाँ आइपुगेपछि पनि मैले भनेको थिएँ । उहाँले दिनभरि महाधिवेशन नगर्ने अनि रात परेपछि स्थलमा आउने गर्नुभयो मैले त्यस्तो प्रक्रियामा विश्वास गर्दिन । हामीले काठमाडौंमा के निर्णय गरेका थियौं भने ११ गते बिहान विदेशी पाहुनालाई शुभकामनाका लागि समय दिने । त्यही दिन सम्पूर्ण उम्मेदवारी प्रक्रियाको काम पूरा गर्ने । र, १२ गते बिहान ८ बजेदेखि मतदान गर्ने र सोही दिन काम सक्ने भन्ने थियो । तर, यहाँ २ दिन लम्बिसक्यो । 

ओलीले सहमतिको लागि प्रस्तावसमेत नराख्नुभएको हो? 

प्रस्तावको कुरै छाडौँ, मलाई थाहै भएन् । म पार्टीको उपाध्यक्षको नाताले महाधिवेशनस्थलमै बसेँ । प्रतिनिधि साथीहरूलाई भेटेँ । अरू केही थाहा भएन । हो यही कुराले पार्टीमा समस्या हुन्छ । पार्टी भनेको सामूहिक विवेकबाट चल्ने हो । पार्टीको संस्थागत निर्णयबाट चल्यो भने आफूले चाहेको नपाउँदा पनि मान्छेले चित्त बुझाउँछ । हाम्रो विधानमा नै लेखिएको छ, सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी । अर्थात् सामूहिक बुद्धिविवेकबाट चल्ने हो । 

स्थायी कमिटीले प्रक्रिया यसरी जान्छ भनेर काठमाडौंमै भनेको थियो, म त्यही प्रक्रिया अनुसार चलेको हुँ । 

यहाँ तपाईंले अन्तिममा आएर उम्मेदवारी फिर्ता लिनुहुन्छ भन्ने थियो नि? 

मेरो पृष्ठभूमि त्यस्तो थिएन/छैन । पदाधिकारीका लागि बार्गेनिङ गरेको भन्ने गलत हो । एउटा प्रसिद्ध उखान छ, सयवटा कुराभन्दा एउटा कामले सबै देखाउँछ । जति पनि प्रचार थिए ती सबै गलत रहेछन् भन्ने देखिइसक्यो मेरो कामबाट । 

भीम रावलको स्वभाव चाहिँ ‘तेल दिँदा नखाने कोल चाट्ने छ’ भनेर प्रचार गरिन्छ के बाहिर, हो? 

यस्ता नकारात्मक कुराहरू भनेका तुच्छ कुराहरू हुन् । मजस्तो मान्छेले यस्ता कुरामा प्रवेश गर्न हुँदैन । तपाईंले नराम्रो उखान प्रयोग गरेको कारणले मैले भन्नैपर्ने भयो, बहुदलीय व्यवस्थापछि ०४७ सालको कुरा हो । र, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेलामा मलाई पार्टीले मन्त्री बनाउन खोज्दा साथीहरू धेरै इच्छुक हुनुहुन्छ भनेको थिएँ । अनि पोल त तिनीहरूले चाट्छन् जो पद नपाएपछि पाँचपटक पार्टी प्रवेश गर्छन् । म जुन दिन ०३२ सालदेखि पार्टीमा लागेँ म जहाँ छु त्यहीँ छु । पोल चाट्ने बानी परेकाहरूले अरू पनि चाट्छन् भन्ने परेको हो ।

  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १३:५३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया