राजनीतिलाई ‘मेवा’ खाने क्षेत्रको रूपमा बुझ्दा लोकतन्त्र धराशायी : प्रकाशमान सिंह

कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिक दलका नेताहरूले राजनीतिलाई मेवा खाने क्षेत्रको रूपमा बुझ्दा लोकतन्त्र धराशायी बनेको बताएका छन् ।

 ‘राजनीति भनेको सेवाको क्षेत्र हो । तर, अहिले नेतृत्वले मेवा खाने क्षेत्रको रूपमा लिएको पाइन्छ । नेताहरूले नै राजनीतिक धर्म छाडेकाले समस्या आएको हो,’ पार्टीको १४ औँ महाधिवेशनलाई लक्षित गर्दै नेता सिंहले भने, ‘अहिले लोभ/लालचमा नफसीकन, प्रलोभनमा नपरीकन आउने दिनहरूलाई सुधारेर जान सक्ने, राम्रो बनाउने अवसर आएको छ ।’ 

कांग्रेस नेता लोकेश ढकालको ‘नेपाली राजनीति, राष्ट्र प्रेम, विचार र आदर्श’ पुस्तक विमोचन गर्दै सिंहले कांग्रेस कमजोर भए लोकतान्त्रिक पद्धति नै कमजोर बन्ने बताए । उनले कांग्रेस कमजोर भए लोकतान्त्रिक पद्धति नै कमजोर बन्ने बताए ।

‘यति ठूलो संघर्षबाट प्राप्त भएको यो डेमोक्रेटिक सिस्टमलाई बचाउनका लागि भएपनि हामीले अहिले कांग्रेसलाई प्रभावकारी नेतृत्व दिन सक्नुपर्छ । जसले कांग्रेसलाई सबल र सक्षम बनाउन सकोस्, पार्टीलाई संस्थागत गर्न सकोस्,’ उनले भने । 

उनले ०४६ सालपछि कांग्रेस सत्ता र शक्तिको लालचमा परेर बिग्रिएको टिप्पणी गरे । ‘कांग्रेस ०४६ सालसम्म भ्यालुलेस पोलिटिक्समा थियो । ०४६ को जनआन्दोलनपछि कांग्रेसमा सत्ता र शक्तिको राजनीति सुरू भयो । त्यसयता पार्टी र नेतृत्वमा विभिन्न कमीकमजोरीहरू देखा परेका छन्,’ सिंहले आफ्नो अनुभव सुनाउँदै भने, ‘राजनीतिक नेतृत्वले आफ्नो कमजोरीको पहिचान गरेर त्यसलाई सुधार्ने क्षमता राख्नुपर्छ ।’

नेपालमा राजनीतिक दलहरू संस्थागत हुन नसकेका कारण जनतामा निराशा छाएको उनको भनाइ छ । ‘राजनीतिक परिवर्तनका लागि ठूलो संघर्ष भयो, जनआन्दोलन भए । तर, त्यसबाट प्राप्त महत्वपूर्ण उपलब्धिहरू पनि हामीले जनताका सामु पुर्‍याउन सकेनौँ । ती उपलब्धिहरूलाई दलहरूले जनतासामु पुर्‍याउनुपर्ने हो । दलहरू संस्थागत भए भने नेपाली राजनीति र समाजका धेरै जसो समस्याहरू आफैँ सुल्झिन्छन्,’ सिंहले भने । 





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १४:२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया