शहीद स्मारक ए डिभिजन लिगः साना क्लबको उत्कृष्ट प्रदर्शन, दाबेदार मानिएका क्लबबाट दर्शक निराश

शहीद स्मारक ए डिभिजन लिगको दोश्रो चरणको प्रतिस्पर्धा सकिएको छ । दोश्रो चरणको खेल सकिँदा ठूला क्लबले भन्दा साना क्लबले दशरथ रंगशालामा दर्शकको मन जिते ।  

दोस्रो चरणको खेलमा पहिलो पटक ए डिभिजन लिग खेलिरहेको नवप्रवेशी सातदोबाटोले पूर्वविजेता तथा उपाधिको दाबेदार मानिएको थ्री स्टारलाई हराएर सनसनीपूर्ण जित निकाल्यो । 

साविक विजेता र उपविजेता मछिन्द्र र आर्मी क्लबबीचको खेल गोलरहित बराबरीमा रोकियो । 

ए डिभिजन लिगको दोश्रो चरणको पहिलो खेल नव आगन्तुक क्लब सातदोबाटो र ए डिभिजन लिगमा बलियो मानिएको थ्री स्टार क्लबबीच भएको थियो । जसमा सातदोबाटो युथ क्लबले थ्री स्टारलाई ० का विरुद्ध १ गोलले पराजित गर्‍यो । 

सातदोबाटो युथ क्लबले यसै बर्ष देखि ए डिभिजन लिग खेल्न थालेको हो । पहिलो खेलमा फ्रेन्ड्स​ क्लबसँग बराबरीको खेलेको सातदोबाटोले दोश्रो चरणमा उत्कृष्ट नतिजा निकाल्न सफल भयो । दुई खेलमा नै क्लिन सिट निकाल्दै सातदोबाटोले ४ अंक जोडेको छ । त्यस्तै एक खेलमा जित र अर्को खेलमा हार बेहोर्दै थ्री स्टार क्लब भने ३ अंकमा नै चित्त बुझाउन बाध्य भएको छ ।  

दोश्रो चरणको दोस्रो खेल संकटा र फ्रेन्ड्स क्लब बिच भएको थियो । संकटा क्लब फ्रेन्ड्स क्लबभन्दा बलियो टोली मानिन्छ । नतिजा पनि सोही अनुरुप नै आयो । खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई १ का विरुद्ध २ गोलले पराजित ग¥यो । फ्रेन्ड्स क्लबलाई पछि पार्न संकटालाई हम्मेहम्मे परेको थियो । 



तेश्रो खेलमा भिडेका थिए च्यासल युथ क्लब र एपीएफ क्लब । विभागीय टोलीमा गत सिजनबाट नै कमजोर देखिएको एपीएफले यस बर्ष पनि खासै राम्रो प्रदर्शन देखाउन सकेको छैन । पहिलो खेलमा गतिलो प्रदर्शन दिन नसकेको एपीएफले दोश्रो खेलमा पनि आफ्नो स्तर सुर्धान सकेन । 

दोश्रो चरणको चौथो खेल हिमालयन शेर्पा र मनाङ मस्र्याङदी क्लब बिच भएको थियो । हिमालयन शेर्पालाई मनाङले शून्यका विरुद्ध १ गोलले पराजित ग¥यो । यो खेलमा उपाधि दाबेदार मानिएको मनाङको प्रदर्शन सामान्य रह्यो । 



पाँचौं खेलमा पुराना प्रतिस्पर्धी मानिने पुलिस र जावलाखेलको भेट भयो । यो खेल भने निकै नै प्रतिस्पर्धात्मक भएको थियो । खेलको समयमा मैदानमा खेल्ने खेलाडीको मात्र होइन टच लाइनमा बसेका प्रशिक्षकद्वयको पनि पसिना छुटेको थियो । दर्शकले खेलबाट भरपूर मनोरञ्जन प्राप्त गरे ।  

खेलमा विशेषगरी पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले सेलिब्रेसन गर्दा मैदानमा देखाएको एग्रेसनले निकै चर्चा बटुल्यो । उनी अन्य प्रशिक्षकको तुलनामा अलि बढी नै टचलाईनमा सक्रिय देखिन्थे । 

खेलमा पुलिसले जावलाखेललाई शून्यका विरुद्ध १ गोलले पराजित गर्दाको समय उनी निकै हर्षित देखिन्छन् । उनलाई पोष्टम्याच कन्फ्रेन्समा पत्रकारद्वारा सोही प्रश्न सोधियो- किन तपाई अन्य प्रशिक्षक भन्दा एग्रेसिभ हुनुहुन्छ ? उनको जवाफ थियो– ‘खेलको प्रेसर र पार्ट अफ गेम ।’

उनको त्यो खुसीबाट नै थाहा हुन्थ्यो पुलिसलाई जितले कति महत्वपूर्ण थियो । ‘यो जित हाम्रो लागि अनिवार्य थियो । जित्यौं खुसी छौं,’ उनले भनेका थिए । 

दोश्रो चरणको खेलको अन्तिम दिन भएका दुवै खेल गोल रहित बन्न पुगे । सोमबार भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम भिडेका थिए । खेलमा आक्रामक रवैया दुवै टिमले अपनाए पनि बलले जाली चुमाउनुबाट दुवै टोली चुके । 

दोश्रो चरणको सबैभन्दा महत्वपूर्ण मानिएको त्रिभुवन आर्मी र मछिन्द्र क्लबबीच भएको खेलमा दर्शकको अत्याधिक चाप रहेको थियो । रंगशालाको सामान्य प्याराफिटको बिच भाग दर्शकले भरिएका थिए । दर्शकको आशा बमोजिमको खेल भने भएन । 

खेल गोलरहित बराबरीमा सकियो । डिफेन्डिङ च्याम्पियन मछिन्द्रले आर्मीविरुद्ध काउन्टर अट्याक खासै बनाउन सकेन । आर्मीका खेलाडी मैदानमा धेरै घाइते भए । खेलमा दुई अंक गुमाउनु पर्दा मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल निराश देखिन्थे । आर्मीका प्रशिक्षक नविन न्यौपाने भने ‘ड्र गेम’ बाट पनि सन्तुष्ट थिए ।

  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १५:६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया