राखेप सदस्यसचिवको शपथ तथा कार्यभार ग्रहण

मन्त्रिपरिषदको निर्णयबाट राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिवमा नियुक्त भएका टंकलाल घिसिङले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । 

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमका बीच उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथपछि बोल्दै सदस्यसचिव घिसिङले राष्ट्रिय टोलीको सुधारमा विशेष जोड दिँदै अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न योग्य बनाउने योजना रहेको बताए । 

नवनियुक्त सदस्यसचिवलाई शपथ ग्रहण गराएपछि बोल्दै युवा तथा खेलकुदमन्त्री गहतराजले राष्ट्रिय खेलकुद परिषदले नेतृत्व पाएको र चलायमान हुन नसकेका खेलकुदका गतिविधि जेट विमानजस्तै रप्mतारमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । 

शपथ लिएसँगै सदस्यसचिव घिसिङले आजै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदमा रहेको केन्द्रीय कार्यालयमा पदभार ग्रहण पनि गरे । पदभार ग्रहण गरे लगत्तै सञ्चारकर्मीसँग बोल्दै सदस्यसचिव घिसिङले थलिएको खेलकुद गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जनाए । 

उनले राष्ट्रिय टिम तयारी र आवश्यक छनोट प्रक्रियालाई आगाडि बढाउने तथा ग्रासरुटदेखि नै खेलकुद विकासमा जोड दिने बताए । राष्ट्रिय खेलकुद परिषदमा रहेको चुनौतीलाई अवसरमा बदल्दै आफूले पेस गरेका योजना कार्यान्वयन गर्न जोड दिएर खेलकुद विकासका लागि काम गर्ने प्रतिबद्धता पनि जनाए । 
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई सदस्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । नेकपा माओवादीका नेतासमेत रहेका घिसिङले नेपाल रग्बी संघका अध्यक्ष कार्यकाल पूरा गरेको अनुभव रहेको छ । नेकपा माओवादी बागमती प्रदेश कमिटीका सचिवालय सदस्यसमेत रहेका घिसिङलाई मन्त्री महेश्वरजंग गहतराजको प्रस्तावमा मन्त्रिपरिषदले घिसिङलाई सदस्यसचिवमा चार वर्षको लागि नियुक्त गरेको थियो ।

सदस्यसचिवका लागि परेका १८ जनाको नामावलीबाट सिफारिस समितिले घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रिपरिषदमा पेस गरेको थियो । यसअघि मन्त्री गतहराजले मन्त्रालयका सहसचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञावली र हरिबहादुर श्रेष्ठ सम्मिलित छनोट समिति गठन गरेका थिए । 



तत्कालीन सदस्यसचिव रमेश सिलवाललाई सरकारले बर्खास्त गरेको थियो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएयता छनोटबाट नियुक्त हुने घिसिङ दोस्रो सदस्यसचिव बनेका छन् । 



  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १७:५६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया