धनुषामा ४ वर्षीय एक बालकको ज्यान मारेको आरोपमा दुईजनालाई कारागार चलान गरिएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–११ डिल टोलस्थित मजिबुल मिया कवारीकी छोरी मुस्कान खातुनको विवाह समारोहमा सहभागी हुन आएका भारतको मधुबनी जिल्ला बस्ने बालक अरमान राइनको हत्या गरेको आरोपमा पक्राउ परेका सोही नगरपालिका वडा नम्बर–११ बस्ने जाकिर मलंग र नुरेजा खातुनलाई कारागार चलान गरिएको हो ।
गत कात्तिक ९ गते भारतको बिहार राज्यस्थित मधुवनी जिल्ला देउधा ग्राम पञ्चायत वडा नम्बर–१४ बस्ने मोहम्मद अतावुल राइनकी श्रीमती जुमैदा खातुन र उनका ४ वर्षीय छोरा मोहम्मद अरमान राइन मुस्कानको वैवाहिक समारोहमा सहभागी हुन आएका थिए ।
विवाहको भिडभाड रहेको अवस्थामा अरमानले आफ्नो आमालाई पछ्याउँदै गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–११ स्थित हबिव मिया र नुरेजा खातुनको घरको बिचको सानो गल्ली केरा घारी छेउमा एक्लै रुँदै गरेको अवस्थामा जाकिर र नुरेजाले उनलाई ललाई–फकाई अपहरण गरेर आफ्नो कोठामा लगी उनको नाकमुख थुनेर घाँटी थिची उनले लगाएको सर्ट खोलेर कर्तव्य गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
सोही दिन बालक अरमानको शव जाकिर मलंगले गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–२ स्थित लालबिहारी महतोको पोखरीमा फालेको अवस्थामा स्थानीयले खोजतलासको क्रममा फेला पारेका थिए ।
प्रतिवादीहरु जाकिर मलंग र नुरेजा खातुनलाई खोज–तलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले कात्तिक १६ गते पक्राउ गरी जिल्ला अदालत धनुषाबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान थालेको थियो ।
अनुसन्धान पश्चात प्रतिवादीद्वय जाकिर र नुरेजालाई जिल्ला अदालतमा पेस गरेकोमा मंसिर १३ गते अदालतको आदेशानुसार दुवजनालाई पुर्पक्षका लागि कारागार कार्यालय सिन्धुली पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।