गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाच्न आगामी पुस ११ र १२ (२६ र २७ तारिख)मा हुने भएको छ। संघको निर्वाचन समितिले मंगलबार एक सूचना प्रकाशित गर्दै नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन मिति हेरेफेर भएको जनाएको हो ।
यसअघि मंसिर २९का लागि निर्वाचनको मिति तोकिए पनि परराष्ट्र मन्त्रलायले असोज ११ र कात्तिक १७ गते पत्राचार गर्दै निर्वाचन प्रक्रिया अघि नबढाउन निर्देशन दिएपछि निर्वाचन रोकिएको थियो ।
परराष्ट्रको निर्देशनपछि संघका अध्यक्ष कुमार पन्तले मन्त्रालयको पत्रविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए । आइतबार उच्च अदालत पाटनले परराष्ट्र मन्त्रालयको निर्देशन तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि संघले निर्वाचन प्रक्रिया अघि बढाएको हो ।
निर्वाचन समितिले प्रकाशन गरेको नयाँ कार्यतालिकाअनुसार मंसिर २० (डिसेम्बर ६)मा मतदाता नामावाली प्रकाशन, २१ (डिसेम्बर ७)मा मतदाता नामावलीउपर दाबी विरोध, २४ (डिसेम्बर १०) मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने जनाइएको छ ।
त्यस्तै, मंसिर २५ (डिसेम्बर ११)मा उम्मेदवारको मनोनयन पत्र दर्ता, २६ (डिसेम्बर १२)मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, २७ (डिसेम्बर १३)मा उम्मेदवारविरुद्ध दाबी विरोध, २८ (डिसेम्बर १४)मा उजुरीउपर निर्णय, २९ (डिसेम्बर १५) मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन, पुस २ (डिसेम्बर १७)मा उम्मेदवारको मनोनयनपत्र फिर्ता गर्ने समय तोकिएको छ ।
त्यस्तै, पुस ३ (डिसेम्बर १८) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जनाइएको छ । संघको १०औँ महाधिवशेनका लागि अध्यक्ष पदमा बद्री केसी, रविना थापा र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।