संसदीय राजनीति फाफेन, पार्टी राजनीतिमा हारेनन् : ८७ वर्षीय भट्टराई पाँचौंपटक बने महाधिवेशन प्रतिनिधि

नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए । इलाम–१ बाट महासमिति सदस्यमा सबैभन्दा बढी मत पाएका भट्टराईले महाधिवेशन प्रतिनिधिमा आफ्नो क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुनिए ।

८७ वर्षीय भट्टराईले महासमिति सदस्यमा ४६३ मत र महाधिवेशन प्रतिनिधिमा ३६९ मत पाएका छन् । कांग्रेस जिल्ला अधिवेशनमा पाएको मतले आफूलाई ऊर्जा पैदा भएको उनले बताए ।

‘यो उमेरमा आएर पनि जुन मत पाएको छु  त्यसले ममा ऊर्जा थपेको छ,’ उनले अघि भने, ‘यसले त मेरो आयु नै लम्ब्याए जस्तो लाग्छ ।’ भट्टराई कांग्रेसको आठौँ महाधिवेशनदेखि महाधिवेशन प्रतिनिधिको रूपमा सहभागी हुँदैछन् । भट्टराईले यसअघिका चारवटा महाधिवेशन नजिकबाट नियालेका छन् । अब हुने महाधिवेशनको पनि उनी साक्षी हुनेछन् ।

भट्टराईले पार्टीको आन्तरिक चुनावमा कहिल्यै हार बेहोर्नु परेको छैन । तर, संसदीय राजनीति भने उनलाई फाफेन । २०४९ मा भएको निर्वाचनमा उनी इलाम क्षेत्र नम्बर १ बाट चुनाव भिडे । तर, हार ब्यहोर्नुपर्‍यो । ४९ मा भएको निर्वाचनमा साविकको मेची अञ्चलभरि कांग्रेसका कुनै उम्मेदवारले चुनाव नजितेको भट्टराई सुनाउँछन् । 

झलनाथ खनालसँग हारेका भट्टराई भने कांग्रेसका उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याउने उम्मेदवार भए । १९ हजार हाराहारी मत आएको उनले बताए । 

२०५१ को मध्यावधि निर्वाचनमा भने इलामलाई तीन निर्वाचन क्षेत्रमा विभाजन गरियो । १ नम्बर निर्वाचन क्षेत्रमा फेरि भट्टराई, २ मा कुलबहादुर गुरुङ र ३ मा बेनुप प्रसाईंले टिकट पाए । दोस्रो पटक भने भट्टराई झिनो मतान्तरले मात्रै पराजित भए । मध्यावधि निर्वाचनमा भने २१० मतले मात्रै पराजित भए । मध्यावधि निर्वाचनमा भट्टराईविरुद्ध बागी परेको थियो ।  



८ वैशाख १९९८ मा जन्मिएका भट्टराई विद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय भएका हुन् । पञ्चायती व्यवस्थाले बाबु गजाधर मट्टराईलाई पक्राउ गरेपछि आफूमा राजनीतिक चेत सुरु भएको उनी बताउँछन् । सानै उमेरदेखि कांग्रेससँग जोडिएका भट्टराईले पार्टीको तर्फबाट पहिलोपटक बुथ प्रतिनिधिको जिम्मेवारी पाए ।

उनी २०१५ को आमनिर्वाचनमा कांग्रेसको तर्फबाट माबुमा बुथ प्रतिनिधि खटिए । त्यसपछि उनको राजनीतिक जीवन सुरु भयो । उनी २०१९ मा प्रधानपञ्च निर्वाचित भए ।



भट्टराई २०३० मा जिल्ला पञ्चायतको सभापति भए । पञ्चायती शासनकै बेला उनी भूमिगत रूपमा रहेको पार्टीको जिल्ला सभापति पनि बने । जनमत संग्रहको घोषणा भएपछि भट्टराई बहुदलको पक्षमा खुलेर लागे ।

बहुदलीय व्यवस्था र पार्टीको गतिविधिमा संलग्न हुन थालेपछि भट्टराई २०४२ सालमा आठ महिना जेल परे । जेलमा नै बिरामी भएपछि आठ महिनामा नै जेलमुक्त भए ।

२०४६/०४७ को आन्दोलन सफल भएपछि उनी संसदीय राजनीतिमा जान चाहन्थे । तर, उनको त्यो चाहना भने पूरा भएन । संसदको चुनाव जित्न नसकेकोमा उनी खासै दुःखी भने छैनन् ।  

  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार ९:२५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया