‘ए’ डिभिजन लिग : जाडोले राेकिएनन् दर्शक, चिसो भुइँमै बसेर समर्थन

सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणको खेल सोमबार सकिएका छन् । दोस्रो चरणको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब र विभागीय त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भएको थियो । आर्मी र मछिन्द्रबीचको खेल निकै रोमाञ्चक हुने अनुमान थियो । तर, यी दुई टोलीले गोलरहित बराबरी खेले ।

मछिन्द्र र आर्मीको खेल हेर्न दशरथ रंगशालाको सामान्य प्याराफिटको बीच भाग भरिएको थियो । दर्शकले खचाखच भरिएको प्याराफिटको माहोल नै बेग्लै थियो । दर्शकको मुखमा आफ्नो-आफ्नो क्लबको नाम थियो । 

सुरुमा आउने दर्शकले प्याराफिटमा बस्ने राम्रै ठाउँ पाए । तर पछि आउने समर्थकले भने रंगशाला प्याराफिटको चिसो छिँडीमै बसेर भए पनि खेल हेरे । चिसो भुइँ र सिरेटोका बाबजुद समर्थकले भने रंगशालाको माहोल तताएका थिए । यद्यपि दुवै टोलीले गोल गर्न नसक्दा अन्तिममा भने समर्थक निराश पनि देखिए ।  

समर्थकले प्याराफिटबाट आफू समर्थित क्लबका खेलाडीलाई गोल गर्न लगातार हौसला प्रदान गरिरहेका थिए ।  केही समर्थकले त मछिन्द्रका डिफेन्डर रञ्जित धिमाललाई ‘भाग्नु रञ्जित भाग्नु तिमीलाई तिम्रो कपालको कसम ।’ खेलमा रञ्चितको कपाल अन्य खेलाडीभन्दा फरक देखिन्छ । जसकारण पनि खेलमा उनी धेरै समर्थकको नजरमा थिए ।

समर्थकले विगतभन्दा यसपालि ‘ए’ डिभिजन लिग केही फरक रहेको पनि प्रतिक्रिया दिएका छन् ।  ‘मछिन्द्र र आर्मी यसपालि पनि प्रतियोगितामा बलियो देखिएका छन् । यी दुई टोलीको म्याच हेर्न उत्सुक थिए,’ आर्मी क्लबका समर्थक सुरेश डाँगीले भने, ‘म साथीहरूसँग खेल हेर्न आएको हुँ । अहिले नेपाली फुटबलको विकास भएको अनुभूति पनि भइरहेको छ ।’   

खेल बराबरीमा सकिएपछि भने उनी खासै खुसी थिएनन् । ‘यति लामो समय लुगलुग काम्दै खेल हेरियो, तर टिमहरूले भने एक गोल पनि गर्न सकेनन्,’ यति भन्दै उनी मैदान रङ्गशालाबाट बाहिरिए ।



आर्मीका अर्का समर्थक करण मगर ‘ए’ डिभिजन लिग पछ्याइरहेका छन् । आर्मी र मछिन्द्रको खेल पनि उनले हेरे । करणले आफूले खेल हुनु अगावै म्याच बराबरीमा सकिने अनुमान गरेको बताए । ‘दुवै टिम बलियो थियो ।  यो खेल बराबरीमा सकिन्छ भनेर मैले सुरुमै सोचेका थिए । अघिल्लो पटकको सिजनको उपाधि  मछिन्द्रले जित्यो । यसपालि भने उपाधि आर्मीले हात पार्नुपर्छ ।’

त्यस्तै, करिना पौडेलले पनि आर्मी र मछिन्द्रको म्याच हेरिन् । म्याच सकिनै लाग्दा उनले भनिन्, ‘आर्मीले जित्छ जस्तो लागेको थियो । तर बराबरीमा सकियो । यद्यपि खेल प्रतिस्पर्धात्मक रह्यो । दुवै टोली बलियो छन्,’ उनले भनिन् ।



विकास सापकोटा भने मछिन्द्रको समर्थनका लागि रंगशाला छिरेका थिए ।  काठमाडौं कलंकी बस्ने उनी आफ्नो श्रीमतीको साथ खेल हेर्न रंगशाला पुगेका थिए । सापकोटा मछिन्द्रका खेलाडीसँग बल हुँदा ‘गोलगोल’ भन्दै  साथ दिन्थे । मछिन्द्रमा उनलाई मनपर्ने खेलाडी मनिष डाँगी हुन् ।

‘दुवै टिम उत्कृष्ट छन्, तर गोल पनि कुनै पनि टिमले गर्न सकेनन् । म चाहिँ मनिषको खेल हेर्न रंगशाला प्रवेश गरेको हो,’ उनले भने ।   

समर्थकले नियालेको नेपाली फुटबल 

नेपाली फुटबल समर्थकले सोमबारको खेल राम्रो साथ दिए । तर, केही समर्थकले लिगको पर्याप्त प्रचार नहुँदा असन्तुष्टि पनि पोखे ।  

बुटबलका रामहरी बेडवाल भन्छन्, ‘नेपालका खेलाडीलाई एक्पोजर पुगेन । अहिले आएका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भने केही हदसम्म खेलाडीलाई चिनेको जस्तो लाग्छ,’ खेल हेर्न आएका बुटवलका रामहरि बेडवालले भने ।

उनी पनि सोमबार मनिष डाँगी सम्मिलित मछिन्द्रको खेल हेर्न मैदान प्रवेश गरेका थिए । नेपालमा पर्याप्त खेलकुद प्रतियोगिता हुन आवश्यकता रहेको पनि बेडवालले औंल्याए । ‘नेपालमा खेलकुद कार्यक्रम बढी हुन पर्‍यो । धेरैभन्दा धेरै खेल खेलाउनमा एन्फाले पहल गर्नुपर्‍यो,’ उनले भने । नेपाली खेलाडीले राम्रो एक्सपोजर पाएको खण्डमा धेरै चर्चामा आउनसक्ने उनको बुझाइ छ ।

‘नेपाल फुटबल फस्टाउन सक्छ, हामी फुटबललाई माया गछौं, बेल्जियम पनि सानो देश छ त्यहाँ फुटबल फस्टाउन सक्यो । अनि नेपालमा चाहिँ किन सक्दैन होला?  दीर्घकालीन योजनाका साथ अगाडि बढे हाम्रो देशका खेलाडी पनि अर्का देशको समर्थकका आइडल हुन सक्छन्,’ फुटबल समर्थक तथा नेपाल प्रहरीका एक जवानले भने । 

उनी त्यहाँ ‘ए’ डिभिजन लिग सुरु भएदेखि नै ड्युटी गर्दैछन् । खेलमा समर्थकको भिडे लागेको देख्दा खुसी छन् । उनी सबैलाई ठाउँमा बस्न र मास्क लगाउन अनुरोध गर्दै थिए ।  

विगतभन्दा नेपालको फुटबलमा केही परिवर्तन भने आइरहेको समर्थक बताउँछन् । ‘धेरै विदेशी लिग तथा खेलाडीको जस्तो ख्याति त पाइएको छैन । तर, पहिलेको भन्दा पछिल्लो समय भने नेपाली फुटबलमा केही परिवर्तन देख्न पाइएको छ,’ नेपाली फुटबल समर्थक करण मगरले भने ।

विकास सापकोटाले लामो समयदेखि नेपाली फुटबललाई हेर्दै आएका छन् । उनी भने आफ्नो पालको जस्तो दर्शक रंगशालामा देख्न नपाइने गरिएको बताउँछन् । ‘दर्शक त हाम्रो पालोको भन्दा कम हो । नेपाली खेलाडीलाई विदेशमा जस्तो राम्रो सेवासुविधा हुने हो भने राम्रो गर्छन्,’ किरणले भने । उनी आफै पनि पहिले फुटबल खेल्थे ।  

सोमबार मछिन्द्र र आर्मीबीचको खेल हेर्न दशरथ रंगशाला प्याराफिटमा ६ सय बढी दर्शक आएको टिकट संकलन गर्न बसेका एकजनाले बताए । ‘हामीसँग एकिन तथ्यांक त छैन । तर, मछिन्द्र र आर्मीबीचको खेल हेर्नका लागि प्याराफिटमा ६ सय हाराहारीमा दर्शक आएका थिए,’ ती व्यक्तिले भने ।

  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार ११:१५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया